• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जग्गा प्रकरणमा आफ्ना नेतालाई षड्यन्त्रपूर्वक मुद्दा चलाइयो : नेपाली काँग्रेस सप्तरी

जग्गा प्रकरणमा आफ्ना नेतालाई षड्यन्त्रपूर्वक मुद्दा चलाइयो : नेपाली काँग्रेस सप्तरी

राजविराज, २७ माघ । नेपाली काँग्रेस आवद्ध नेता कार्यकताहरुले सोमवार सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरेका छन । ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छेदारमाथि षड्यन्त्रपूर्वक मुद्दा चलाइएको तथा डाक्नेश्वरी नगरपालिकामा भएको घटनामा आफ्ना कार्यकर्तालाई अनाहकमा पक्राउ गरिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय रंगशालाबाट निकालिएको विरोध र्यालीले नगर परिक्रममा गरेको छ भने र्यालीका सहभागी नेता कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन । ‘केपी ओलीको पाराले दुःख पायो साराले’ लेखिएको प्ले कार्ड बोकेर उनीहरुले नाराबाजी गरेका हुन् ।
परिक्रमा पश्चात स्थानीय सहिद दशन चौकमा विरोधसभाको समेत आयोजना गरिएको छ । सभाका वक्ताहरुले ललित निवास जग्गा प्रकरणमा सरकारले षड्यन्त्रपूर्वक आफ्ना नेता गच्छेदारलाई फसाएको आरोप समेत लगाए । उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि सरकारकै इसारामा अघि बढेको बताउँदै सोही अनुसार आफ्ना नेताहरुलाई फसाउन खोजेको बताएका हुन् ।


सरकारले यस्ता पूर्वाग्रही कार्यहरुमा सुधार नगरे बाध्य भएर सशक्त आन्दोलनमा जाने उनीहरुले चेतावनी समेत दिए । सोही कार्यक्रमका वक्ताहरुले सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भएको घटनामा पनि आफ्ना निर्दोष कार्यकर्ताहरुलाई पक्राउ गरि मुद्दा चलाइएकोप्रति आक्रोश व्यक्त गरे । गत माघ २१ गते नगरपालिकाको बेथितीविरुद्ध नगर प्रमुख शिवनारायण साहलाई ज्ञापन पत्र बुझाउन गएका आफ्ना ३ जना कार्यकर्तालाई प्रहरीले अनाहकमा पक्राउ गरेर मुद्दा चलाएको नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले बताए ।
‘पक्राउ गरिएका तीनै जना निर्दोष छन, उनीहरु नगरपालिकाको बेथितीविरुद्ध नगर प्रमुखलाई ध्यानाकर्षण गराउन मात्र गएका हुन्’ उनले भने–‘तर प्रहरीले अनाहकमा पक्राउ गरी अमानवीय व्यहार अन्तर्गत मुद्दा लगाएको हो ।’ उनीहरुलाई तत्कालै रिहा गरिए थप आन्दोलन गर्ने बाध्य हुने उनले अडान दोहोरियाए । सभामा पुर्व मन्त्री हेमराज ताँतैड, महा समिति सदस्य छेदीलाल चौधरी, जिल्ला कार्य समितिका सचिव रामकुमार यादव लगायतले बोलेका थिए ।