• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वैवाहिक बन्धनमा बाँधिईन् नायिका डोली सरकार

राजविराज, ८ माघ । नेपाली, मैथिली, भोजपुरी लगायत विभिन्न भाषाका सिनेमाहरुमा अभिनय गरिसकेकी नायिका डोली सरकार वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
सप्तरीको राजविराज नगरपालिका–५ निवासी उनी गत माघ ३ गते वैवाहिक बन्धनमा बाँधिएकी हुन् । भारतको कलकत्ता निवासी ईन्जिनियर अभिषेक घोषसँग उनी वैवाहिक बन्धनमा बाँधिएकी हुन् । अमेरिका स्थित एक कम्पनीमा सफ्टवेयर इन्जिनियरको रुपमा उनी कार्यरत छन् ।
घरपरिवारको सहमतिमै उनीहरु कलकत्ता स्थित एक पार्टी प्यालेसमा भव्य समारोहका बिच दाम्पत्य जीवनमा बाँधिएका छन् । उक्त अवसरमा वरवधु दुवै पक्षका आफन्तजनका साथै नेपाली कांग्रेसका यूवा नेता एवम् पूर्व सांसद रंजित कर्ण लगायतका व्यक्तिहरु सहभागी थिए ।
नेपाली, मैथिली र भोजपुरी फिल्ममा मुख्य नायिकाको रुपमा अभिनय गरिसकेकी उनको वैवाहिक समारोहमा नेपाली काँग्रेस उदयपुरका जिल्ला सचिव मदनराज कटुवाल, राजविराज वडा नम्वर ५ का वडा अध्यक्ष समिर झा, वडा सदस्य गङ्गा सागर गुप्ता, तरुण दलका शंकर यादव, नेपाल विद्यार्थी संघ एकाइ सभापति महेश यादव, युवा नेता लक्ष्मण यादव, नेपाल दलित संघ नगर सभापति रामकृष्ण रजक, शिक्षक गंगा प्रसाद यादव, मैथिली फिल्म निर्देशक पप्पु कुमार मण्डल लगायतका व्यक्तिहरुको सहभागिता थियो ।
केही महिना अघि मात्र मैथिली फिल्म, गीत, सङ्गीत एवम् नृत्य क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै २८ वर्षिया डोलीलाई उक्त उपाधीबाट सम्मान गरिएको थियो । भारतको दरभङ्गा स्थित विद्यापति सेवा संस्थान नामक संस्थाले नायिका सरकारलाई गत साता मैथिली भाषाका महाकवि विद्यापति स्मृति पर्व एवम् मिथिला विभूती समारोहमा नेपालबाट उक्त उपाधीबाट अलङ्कृत गरिएको थियो ।
चार वर्षकै बाल्यावस्थादेखि उनी कलाक्षेत्रमा प्रवेश गरेकी थिईन् । उनले दर्जनौ म्युजिक भिडियोहरुमा प्रतिभा प्रष्फुटन गर्दै दर्जनौ मैथिली, भोजपुरी, नेपाली सहितका भाषाहरुमा निर्माण भएका ठूलो पर्दाका सिनेमामा मुख्य नायिकाको रुपमा भूमिका गरेकी छिन् । उनले देश–विदेशका ठूला स्टेजहरुमा मिथिला, मधेश तथा नेपालको तर्फबाट प्रतिनीधित्व गर्दै प्रतिभा प्रष्फुटित गरिसकेकी छिन् ।
नायिका सरकारको मुख्य अभिनय रहेको ‘भोर’ नामक नेपाली चलचित्र गतवर्ष रिलिज भएको थियो । नायिका डोलीले हालसम्म सयभन्दा भन्दा म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् । हालसम्मकै मैथिली भाषामा निर्मित ठूलो हास्यव्यंग्य टेलिसिरियल ‘सिङ्गीमुङ्गरी’मा मुख्य पात्रको भूमिका निभाएकी छिन् । समाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत चिन्तनशील रहँदै आएकी नायिका सरकारको योगदान मिथिला–मधेशमा अतुलनीय रहेको छ ।