• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आन्दोलनको तयारीमा जुट्दै समाजवादी पार्टी

नाम मात्रको संघीयताले परतन्त्रताको अन्त्य हुँदैनः अध्यक्ष यादव
आन्दोलनको तयारीमा जुट्दै समाजवादी पार्टी

जनकपुरधाम, माघ ३ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त्य नहुने बताएका छन् ।
पार्टीले शुक्रवारदेखि तीन महिने सङ्गठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै उनले मधेश जनविद्रोहले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गरेको बताए । शासकवर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव नरहेको बताउँदै उनले भने ‘मधेश आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मांगेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।’
संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्रताको अनुभूति गर्न नसक्ने उल्लेख गर्दै उनले त्यसकालागि पुनः संघर्ष गर्नुपर्ने बताए । अबको तीन महिना पार्टीलाई समय दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले अभियानमा नजुट्ने नेता कार्यकर्ताहरुको पार्टीले त्यही अनुरुप मुल्याङ्कन गर्ने भन्दै सचेत समेत गराए ।
पार्टी उपाध्यक्ष रेणु यादवले देश पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निवार्चित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म समाजवादको परिकल्पना गर्न नसक्ने बताईन् । पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण सङ्गठनलाई टोलटोलसम्म विस्तार गरे मात्र समुन्नत संघीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने बताए ।
मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका महासचिव राम सहाय यादवले अभियानको उद्देश्य र प्रक्रियाबारे जानकारी गराए ।