• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन

सोमबारदेखि नयाँ टर्मिनलबाट सेवाहरु सञ्चालन गरिदै
राजविराज विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन

राजविराज, ०४ पुस । राजविराज विमानस्थलमा नवनिर्मित नयाँ टर्मिनल भवनबाट आगामी सोमवारदेखि सेवा सुरु हुने भएको छ ।
स्थापनाकालदेखिकै पुरानो टर्मिनल भवनबाट हालसम्म जेनतेन सेवा सञ्चालन हुँदै आएकोमा नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएपछि सेवा सञ्चालनमा आएको हो । तत्कालिन नागरिक उड्डयन तथा पर्यटन मन्त्री जितेन्द्रनारायण देवको कार्यकालमा विमानस्थलको पक्की रन–वे र टर्मिनल भवन निर्माण कार्य थालिएको थियो ।
आवश्यक उपकरण लगायतका सवै तयारी पुरा भइसकेकोले आगामी पुस ७ गते सोमवारदेखि सोही भवनबाट उडान सेवा सुरु हुने भएको हो । राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख (उपप्रबन्धक) भिमदत्त पन्तका अनुसार सुविधा सम्पन्न उक्त भवनबाट सेवा सुरु भएपछि यात्रुहरुले हाल भोग्नुपरेको समस्या हट्ने छन् ।
करिब ३ करोडको लागतमा सम्पन्न भएको नयाँ टर्मिनल भवनमा १८ वटा सिसि क्यामेरा जडान गरिएका छन् । यसैगरी टर्मिनल ड्युटी अफिसर रुम, भिआईपी रुम, एलाउन्स कक्ष, स्मोक सेन्सर यन्त्र, यात्रु प्रतिक्षालय, शौचालय, सेक्युरिटी चेकजाँचको व्यवस्था रहेको कार्यालय प्रमुख पन्तले जानकारी दिएका छन ।
अन्तर्राष्ट्रियस्तर कायम गरी निर्माण गरिएको नयाँ भवनबाट दैनिक ३ वटा एयरलायन्सको सेवा सञ्चालन गर्न सकिने क्षमता रहेको उनले बताए । राजविराज विमानस्थलमा निर्माण भएको टर्मिनल भवन अति सुविधासम्पन्न रहेको जानकारी दिँदै उनले भने ‘स्थापनाकालकै पुरानो भवनमा अहिलेसम्म न्यून श्रोत साधनमा सेवा दिँदैआएका थियो, अब नयाँ भवनमा गएपछि यात्रुहरुले थप सुविधा तथा फरक अनुभूति गर्न पाउनेछन् ।’
सुरक्षाको दृष्टिकोणले समेत नयाँ टर्मिनल भवन अति सुविधा सम्पन्न र सुरक्षित समेत रहेको राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख पन्तले बताए । उनका अनुसार राजविराज विमानस्थललाई थप विस्तारिकरण एवम् सुविधासम्पन्न बनाउने प्रयास भईरहेको छ ।
२०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थलमा त्यतिवेलाकै टर्मिनल भवनबाट हालसम्म विमान सेवा सञ्चालन हुँदै आएको छ ।