• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे जनकपुरबाट बृहत बहस शुरु

स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे जनकपुरबाट बृहत बहस शुरु

राजविराज, २९ मंसिर । स्वास्थ्यमा सर्वव्यापी पहुँच अर्थात युनिभर्सल हेल्थ कभरेजबारे प्रदेश स्तरमा बहस प्रारम्भ भएको छ ।
बहसको शुरुवात युनिभर्सल कभरेज दिवसको अवसर पारेर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक उच्चस्तरीय बहुक्षेत्रीय प्यानल डिस्कसन आयोजन गरी बृहत नीतिगत बहसको शुरुवात गरिएको हो । शनिवार नेपालबार एशोसिएशन धनुषाको सभाहलमा स्वास्थ्यमा सबैको सर्वव्यापी पहुँच बढाउनको लागि भोर नामक संस्थाले प्रदेशलाई सशक्त बनाउन प्रदेश २ का बहुक्षेत्रीय सरोकारवाला निकायको सहभागितामा बहस गराएको हो ।
स्वास्थ्यमा सर्वव्यापीपहुँचको मुद्धालाई संघीय सरकारले राष्ट्रिय स्तरमा राजनीतिक प्रतिवद्धता तथा नीतिगत सम्बोधन गरि सकेको छ । तर उक्त मुद्दाले प्रदेश तथा स्थानीय स्तरमा प्रवेश पाएको छैन । उक्त विषयमा प्रदेश स्तरमा राजनीतिक प्रतिवद्धता, नीतिगत तथा योजना स्तरमा सम्बोधन नगरिकन प्रदेश स्तरमा स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न नसकिने भएकोल उच्च स्तरीय प्यानल डिस्कसन मार्फत बृहत बहस थालिएको जानकारी भोरका अध्यक्ष राजकुमार महतोले बताए । प्रादेशिक स्तरमा भोरले शुरु गरेको पहिलो कार्यक्रम प्रदेश २ मा गरिएको र त्यसलाई क्रमशः बाँकी अन्य छ प्रदेशमा समेत सञ्चालन गरिने योजना रहेको भोरका कोषाध्यक्ष पचुलाल माझीले बताए ।
उक्तप्यानल डिस्कसनमा सामाजिक अभियन्ता प्रकाश थारु, विश्व स्वास्थ्य संगठन प्रदेश २ का प्रादेशिक स्वास्थ्य अधिकृत रमेश यादव, सामाजिक विकास मन्त्रालयका डा. नवलकिशोर झा, यूएनएफपिए प्रदेश २ प्रमुख डा. नरेन्द्र मिश्र, जानकी मेडिकल कलेजका प्राध्यापक डा. नन्दकिशोर साह, युनिसेफ प्रदेश २ का स्वास्थ्य अधिकृत बेकी प्रसाई, नेपालपत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रिकुं गायत्रीमिश्र गरी सात जना विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तिहरु प्यानलिस्टको रुपमा सहभागी थिए ।
भोरका अध्यक्ष तथा जनस्वास्थ्यविद् राजकुमार महतोले सहजिकरण गरेको उक्त प्यानल डिस्कसनमा १७३ जना बहुक्षेत्रीय व्यक्तिहरुको सहभागीता रहको थियो । कार्यक्रमको व्यवस्थापन भोरका पचुलाल माझी, उमेश कुमार साह, नागेन्द्र साह, सुन्दर सदा, विजयमाझी, धर्मेन्द्र साह र अशोक महतोले गरे ।
स्वास्थ्यमा सबैको सहज पहुँच नभएको, सर्वसाधारण, गरिब जनतालाई उपचार अभावमा ज्यान गुमाउनु परेको भन्दै यसलाई न्युनिकरण गर्ने र समस्यामाथि सरोकारवाला निकायको ध्यानाकष्र्ण गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको भोरका सदस्य मिथिलेश साहले सहभागीहरुलाई स्वागत गर्दै बताए । कार्यक्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे जनस्वास्थ्यकर्मी र हेल्थ इकोनमिक्समा स्नातकोत्तर गरेका उमेश भुसालले प्रस्तुत गरे ।
कार्यक्रममा जानकी मेडिकल कलेजका प्राध्यापक डा. नन्दकिशोर साहले प्रदेशमा उत्पादन भइरहेको चिकित्सकहरु प्रयाप्त भए पनि विभिन्न कारणले मेडिकल पेशामा टिक्न नसकेको र गुणस्तरीय सेवा दिन नसकेको आंैल्याए । सरकारले रोजगारीको उचितव्यवस्था नगर्दा स्वास्थ्य क्षेत्रका अधिकांश जनशक्ति विदेशतिर र अन्य क्षेत्रमा पलायन भइरहेको उनले बताए ।
स्वास्थ्यमा पत्रकारको भुमिकाको विषयमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गायत्रीमिश्रले चर्चा गरिन् । सरोकारवाला निकायले पत्रकारलाई सूचना उपलब्ध नगराउँदा चाहेजति स्वास्थ्य विषयको समाचार सम्प्रेशन नभएको उनले औल्याइन् । अबको दिनमा स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाई, निर्माण कार्य, आर्थिक उन्नती लगायत विभिन्न क्षेत्रहरु एकीकृत रुपमा सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा युएनएफपीएका डा. नरेन्द्र मिश्रले बताए ।
कार्यक्रममा सामाजिक अभियन्ता सरोज रायले गरिब, आन्दोलनका घाइते र पिछडिएका वर्गको जिम्मा कसले लिने ?भन्दै जिज्ञासा राखेका थिए । अभियन्ता रायको जिज्ञासालाई जवाफ दिँदै प्रदेश २ सरकार, सामाजिक मन्त्रालय, नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख डा. झाले प्रदेश सरकारले आफ्नो काम गम्भिरतापुर्वक गरिरहेको बताए । श्रोतसाधनको अभाव र नीति निर्माणको क्रममा रहेकाले प्रदेश सरकारले चाहे अनुरुपको काम गर्न नसकेको उनले दावी गरे ।