• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

राजविराज, २६ मंसिर । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आगामी माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुने बताएका छन् ।
राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एक जना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको सञ्चारमन्त्री बाँस्कोटाले विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिन लागेको छ । नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल समाप्त हुन लागेको जनाईएको छ ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको समेत २ वर्षको कार्यकाल सकिन लागेको छ । यसैगरी सरकारबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको समेत कार्यकाल पूरा हुन लागेको मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।