राजविराज, मंसिर ९ गते । समाजसेवी डिभिजनल इन्जियर दम्पतिको १० औ स्मृतिसभाको सोमबार आयोजना गरेको छ ।
सप्तरीको कट्टी निवासी समाजसेवी डिभिजनल इन्जिनियर मिश्रीलाल साह र उनकी धर्मपत्नी लाखोदेवी साहको १० औ पुण्यतिथिको अवसरमा स्मृति सभा आयोजना गरिएको हो । उक्त सभालाई सम्बोधन गर्दै प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले समाजमा योगदान दिएका व्यक्तित्वको समाज रहुनजेलसम्म समाजले कदर, सम्मान गर्दै आएको बताए । पारिवारिक, सामाजिक, पेशागत, विभिन्न जातजाती, धार्मिक लगायत सबै क्षेत्रमा स्वर्गीय दम्पतिको योगदान रहेको उल्लेख गर्दै मन्त्री साहले यसै कारण उनीहरुको योगदानको कदर सम्मानकालागि प्रत्येक वर्ष सम्झिदै आएको जानकारी दिए ।
साह सेवा सदनमा आयोजित सभामा मन्त्री साहले दम्पतिको नाममा ट्रष्ट स्थापना गरी संस्थागत रुप दिनुपर्नेमा जोड दिए । साह दम्पतिका जेष्ठ सुपुत्र रामसुन्दर साहको अध्यक्षतामा आयोजित सभामा माइलो छोरा बीरेन्द्र साहले आमाबाबुको नाममा बारा पर्साका हावाहुरी पीडित, बाढीपीडितलाई सहयोग गरेको बताए ।
कार्यक्रममा तेली कल्याण समाजका पूर्वाञ्चल उपाध्यक्ष दुर्गाप्रसाद साहले समाजसेवी दम्पतिको काठमाण्डौ स्थित धर्मशाला निर्माण, राजविराज स्थित साह सेवा सदन निर्माण, अन्य मठ मन्दिर, गरिव परिवारको विवाह, सामाजिक लगायतका कार्यहरुमा योगदान रहेको चर्चा गरे । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साहले समाजसेवी दम्पतिको योगदानलाई जिवन्तता दिन संस्थागत रुपमा विकास गरी स्थायित्वकालागि निश्चित कोष खडा गर्नुपर्नेमा जोड दिदै आगामी वर्षमा संस्थागत रुपमा गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए
कार्यक्रममा तेली कल्याण समाज सप्तरीका अध्यक्ष रामचन्द् साह, केन्द्रिय सदस्य उम्मदेश्वर साह, सुनिताकुमारी साह, साह सेवा सदनका अध्यक्ष पूर्व डिई रामचन्द्र साह, समाजसेवी सबुरलाल साह, सुकुमार साह लगायतले समाजसेवी दम्पतिको योगदान बारे चर्चा गरे । दम्पतिको स्मृति दिवसको अवसरमा प्रत्येक वर्ष उनका छोराहरुले एक जना अशक्त(पूर्ण अपाङ्गता) व्यक्तिलाई पाँच हजार एकसय नगद, सम्मानपत्रले सम्मान गर्दै आएको छ । यस वर्ष उक्त सम्मान सिम्राहा सिगियौनका अमिताभलाई प्रदान गरिएको छ ।
वि.स. २०६६ मंसिर ९ गते बाराको गढीमाई मेला भर्न जाने क्रममा सवारी दुर्घटनामा परी साह दम्पतिको मृत्यु भएको थियो ।