• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सप्तरीमा १५ प्रतिशतले धान उत्पादनमा कमी

‘हाम्रो खेती अकासे पानीकै भरमा हुने गर्छन, कहिले बर्षा नहुँदा पिडा त, कहिले बर्षाकै कारणले खोलामा बाढी आउँदा डुबानको पिडा ।’
सप्तरीमा १५ प्रतिशतले धान उत्पादनमा कमी

राजविराज, ०३ मंसिर । ७० हजार हेक्टर धान खेती योग्य जग्गा रहेको सप्तरीमा बहुसंख्यक सर्वसाधारणको जीवन कृषिमै निर्भर रहेको छ । र, कृषकहरुको मुख्य बाली पनि धान खेती नै हो । तर, सिंचाई नहुँदा वर्षेनी धान उत्पादनमा कमी हुँदै गएको छ ।
कृषि ज्ञान केन्द्र राजविराजका अनुसार यस वर्ष पनि सप्तरीमा १५ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने बताइएको छ । गत वर्ष सप्तरीमा ७० हजार हेक्टरमध्ये ६३ हजार हेक्टर जग्गामा धान बाली लगाइएको थियो । अघिल्लोभन्दा १० प्रतिशतले उत्पादनमा कमी आएर एक लाख ८२ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।
तथापी, गत वर्षभन्दा यस वर्ष ३ हजार हेक्टरबढी जग्गामा धान बाली लगाएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । कुल ६६ हजार हेक्टर जग्गामा धान बाली लगाएपनि एक लाख ६० हजार मेट्रिक टन मात्रै धान उत्पादन हुने केन्द्रका प्रमुख भागिरथ यादवले बताए । ‘गत वर्षभन्दा १५ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान छ’ उनले भने–‘जसको प्रमुख कारणमध्ये एक हो, सिंचाईको अभाव ।’
सिंचाई नहुँदा यस वर्ष पनि ४ हजार हेक्टर जग्गामा रोपाई नै हुन सकेनन् । अर्कोतर्फ रोपाई गरिएका हजारौं हेक्टरको धानी बाली बाढीले बगाई दिए । सप्तरीका कृषकहरुको बर्षैनीको पिडा यस्तै हो । ‘एकातिर सिंचाई अभावको सुख्खाको मार खेप्नु पर्छ, अर्कोतर्फ जसोतसो लगाईएको बाली पनि बाढीले बगाउने गर्छन’, राजविराज नगरपालिका–१५ का कृषक रामप्रसाद यादवले भने–‘हाम्रो खेती अकासे पानीकै भरमा हुने गर्छन, कहिले बर्षा नहुँदा पिडा त कहिले बर्षाकै कारणले खोलामा बाढी आउँदा डुबानको पिडा ।’ तर दिर्घकालिन रुपमा समस्या समाधान गर्न भने कसैले पनि पहल नगरेको उनले गुनासो गरे । सप्तरीका सर्वसाधारणको जनजीवन सहज पार्न स्थानीय र प्रदेश सरकारलाई गम्भिर हुनु आवश्यक छ, उनले भने ।