• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रामराजा प्रतिष्ठानका निमित अध्यक्ष पोखरेलद्वारा पदभार ग्रहण

ओपिडी भवन निर्माण र डिपिआर प्रक्रिया चाँडै अगाडि बढाईने
रामराजा प्रतिष्ठानका निमित अध्यक्ष पोखरेलद्वारा पदभार ग्रहण

राजविराज, १ मंसिर । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–१० बिरौलमा प्रस्तावित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निमित अध्यक्ष प्रा. डा. रोहित कुमार पोखरेलले आइतवारदेखि पदभार ग्रहण गरेका छन् ।
टिचिङ्ग हस्पिटल काठमाडौंमा कार्यरत अर्थोपेडिक प्रा. डा. पोखरेलले गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा स्थापित समितिको कार्यालयमा औपचारिक रुपमा हाजिर भई पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पश्चात पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अर्थ मन्त्रालयले कुल ४० करोडमध्ये ३० करोड रुपैयाँ पठाईसकेकोले ओपिडी भवन निर्माणकालागि टेण्डर आह्वान गरिने तथा आवश्यक प्रक्रिया पुरा गरी प्रतिष्ठानको निर्माण स्थलको डिपिआर कार्य समेत अगाडि बढाईने बताए । प्रतिष्ठानको संरचना निर्माणको गुरु योजना, माटो परीक्षण, बातावरणीय प्रभाव मुल्याङ्कन समेतको डिपिआर कार्य अगाडि बढाईने जानकारी दिँदै निमित्त अध्यक्ष डा. पोखरेलले भने ‘प्रतिष्ठानको डिपिआर पुरा भईसकेपछि भौतिक संरचना निर्माणको प्रक्रिया अगाडि बढाईने छ ।
सप्तरी आफ्नो जन्मभूमी भएकोले नेपाल सरकारले दिएको जिम्मेवारी ईमानदारीका साथ वहन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । प्रतिष्ठान जिल्लावासीकालागि ड्रिम प्रोजेक्ट भएकोले सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै डा. पोखरेलले भने ‘प्रतिष्ठान सञ्चालनमा आउनु अघि धेरै चरणहरु पार गर्नुपर्ने भएकोले यसमा सबै पक्षको सकारात्मक सहयोग आवश्यक छ ।’
उक्त अवसरमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् सदस्य सचिव सञ्जय ठाकुर, गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, समाजवादी पार्टीका प्रदेश नम्वर २ का सचिव दिनेश कुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार मनोज कुमार माझी लगायतले निमित्त अध्यक्ष डा. पोखरेललाई स्वागत गर्दै कार्यकाल सफलताकालागि शुभकामना दिएका छन् ।
प्रतिष्ठान पूर्वाधार विकास समितिको सदस्यहरुमा प्रा.डा. भगवान कोइराला र डा. मिथिलेश सिंह रहेका छन् । पदेन सदस्यहरुमा अर्थ मन्त्रलायका सह–सचिव थानेश्वर गौत्तम, शिक्षा मन्त्रालयका सह–सचिव हरि लम्साल, स्वास्थ्य मन्त्रालयका सह–सचिव डा.विकास देवकोटा, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव रहेका छन् । प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् सदस्य सचिवमा डा. ठाकुरलाई यस अघि नै जिम्मेवारी तोकिएको थियो ।
राजविराज नगरपालिकाले वडा नम्वर १० स्थित बिरौल चौक नजिक प्रतिष्ठानलाई ६२ विघा जग्गा उपलब्ध गराएको छ । मन्त्री परिषदको २०७५ पुस २३ गतेको बैठकले सप्तरीको राजविराजमा राजराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब ९ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ ।