• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सडक कालोपत्रे भएपछि सर्वसाधारण हर्षित

राजविराज, १६ असोज । वर्षौदेखि हिलाम्य र धुलाम्य रहने गरेको सडकका कारण सास्तीपूर्ण यात्रा गर्न बाध्यता खेप्दै आएका सप्तरीको पश्चिमी क्षेत्रका सर्वसाधारणहरु विसनपुर–स्वर्णपट्टी सडकखण्ड कालोपत्रे भएपछि हर्षित भएका छन् ।
पूर्व पश्चिम राजमार्गदेखि बोदे बरसाइन हुँदै भारतीय सिमासम्म हुलाकी राजमार्गको योजना अन्तर्गत सहायक मार्गको रुपमा सो सडकखण्डलाई कालोपत्रे गरेपछि सर्वसाधारणहरु हर्षित भएका हुन् । ‘केहिअघिसम्म वर्षामा हिलाम्य र सुख्खायामा धुलाम्य रहने गरेको विसनपुर–बोदे बरसाइन–स्वर्णपट्टी सडकखण्डमा यात्रा गर्न एकदमै सास्ती थियो’ बोदे वरसाइन वडा नम्वर–३ गौराका पप्पु यादवले भने–‘यतिवेला सडकमा कालोपत्रे भएपछि यात्रा गर्न सहज भएको छ।’
बोदे वरसाइन नगरपालिका वडा नम्वर २ का सुरेन्द्र यादवले जिर्ण र जर्जर सडकका कारण पश्चिमी क्षेत्रका दुई दर्जनबढी गाउँका सर्वसाधारणहरुलाई सदरमुकाम राजविराज पुग्न हुने गरेको समस्या अहिले समाधान भएको बताए । ‘सडक कालोपत्रे भएपछि अहिले पूर्व पश्चिम राजमार्गसम्मको यात्रा तय गर्न कुनै अपठ्यारो छैन्’ उनले भने–‘सदरमुकाम राजविराज, विराटनगर, धरान तथा पश्चिमतर्फको यात्रा गर्न पनि सहज भयो ।’
उनले सडक कालोपत्रे भएसँगै स्थानीयलाई सहजतासँगै स्थानीय बजार समेत विकसित हुँदै जाने विश्वास व्यक्त गरे । ‘विकासीय रुपमा समेत पछाडी रहेको पश्चिमी क्षेत्रलाई जोड्ने सडक कालोपत्रे भएपछि व्यापार व्यवसाय विस्तार गर्न समेत टेवा पुगेको छ’ उनले थपे–‘साथै विकासीय कार्यले समेत तिव्रता पाउने अपेक्षा छ ।’
हुलाकी राजमार्गको सहायक मार्ग अन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि बोदे बरसाइन बजार हुँदै भारतीय सिमासम्म १७ दशमलव २८ किलोमिटरको सडकमा कालोपत्रे गरिएको छ । ०७४ मङ्सिरदेखि कालोपत्रे गर्ने कार्य सुरु गरिएको सो सडकखण्ड अन्तर्गत बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्र बाहिर ७ मिटरको चौडाइमा कालोपत्रे गरिएको छ ।
करबाहेक कुल ५८ करोड तीन लाख ९७ हजारको लागतमा कालोपत्रे गरिएको सडकखण्डमा ३३ वटा कल्र्भड निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ ।