• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

साहित्य परिषदको अध्यक्ष सतिश, उपाध्यक्ष श्यामसुन्दर र सचिवमा अजय

साहित्य परिषदको अध्यक्ष सतिश, उपाध्यक्ष श्यामसुन्दर र सचिवमा अजय

राजविराज, १२ असोज । देशकै चर्चित साहित्यिक संस्थाहरुमध्ये राजविराज स्थित मैथिली साहित्य परिषद्मा चुनावी प्रक्रियाबाट कार्यसमिति चयन गरिएको छ ।
राजविराजको बाल मन्दिर परिसरमा शनिवार सम्पन्न मतदान प्रक्रियाबाट सतिश कुमार दत्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । परिषद्को अध्यक्षमा सतिशकुमार दत्तसहित ९ जना तथा प्रा.डा. रामखेलावन यादव नेतृत्वको प्यानलबाट सचिव र कोषाध्यक्ष विजयी भएका छन् ।
अध्यक्ष पदमा दत्तले २ सय ९७ मत पाएर जीत सुनिश्चित गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रा.डा. रामखेलावन यादवले १ सय ६४ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा श्यामसुन्दर यादवले ३ सय ४३ मत प्राप्त गरी विजयी भएका छन् । सोही पदमा निकटतम भीमशंकर देवले १ सय २२ मत प्राप्त गरेका छन् । प्रा.डा. यादवको प्यानलबाट सचिव पदमा अजय कुमार झा २ सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अजितकुमार ठाकुरले २ सय १५ मत ल्याएका छन् ।
समितिको उप–सचिवमा पंकज कुमार झा ३ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दिनेशकुमार साहले १ सय ४८ मत प्राप्त गरेका छन् । समितिको कोषाध्यक्ष पदमा डा. यादवको प्यानलबाट अमरकान्त झाले २ सय ३७ मत ल्याएर विजयी भएका छन् । दत्त नेतृत्वको प्यानलबाट कोषाध्यक्ष पदमा रामअधिन साहले २ सय १६ मत प्राप्त गरेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा जिबछ दास २ सय ६९, मिथिलेश कुमार यादव र चन्दन यादवले बराबर अर्थात २ सय ६६, भूपेश कुमार भूप २ सय ४२, विद्यानन्द राम २ सय १७ र ध्रुबकुमार मण्डल २ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक नथुनी दासले जानकारी दिएका छन् ।
परिषद्मा कुल ७ सय ६७ मतदाता रहेकोमा ४ सय ८५ जनाले मतदान गरेका छन् । मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनकालागि नेपालमै अग्रणी संस्थाको रुपमा परिषद् २०२६ सालमा स्थापना भएको हो ।