• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वडादशैं सुरु

मन्दिरहरुमा चहल पहल बढ्न थाल्यो
वडादशैं सुरु

राजविराज, १२ असोज । नेपालीहरुको महान चाड वडादशैं सुरु भएसँगै सप्तरी स्थित मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठ, कंकालिनी भगवती मन्दिर लगायतका मन्दिरहरुमा भक्तजनहरुको चहल पहल बढेको छ ।
आइतवार घटस्थापनासँगै दशैं सुरु भएपछि भक्तजनहरुको आउने क्रममा पनि बढ्दै गएको हो । छिन्नमस्ता र कंकालनी मन्दिर मात्र होइन जिल्लाका अन्य भगवती मन्दिरहरुमा समेत आइतवारदेखि पुजा तथा दर्शनकालागि भक्तजनहरु उल्लेख्य संख्यामा आउन थालेको हाम्रा स्थानीय समाचारदाताहरुले जानकारी दिएका छन् ।
छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ स्थित छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठमा फूलहाइस गराए सन्तान प्राप्तिका साथै मनोवाञ्छित फल प्राप्ति हुने जनविश्वास रहिआएको छ । संकटपूर्ण अवस्थामा माता सखडेश्वरीको स्मरणले मात्र पनि सहायता प्राप्त हुने आस्थाका कारण यस शक्तिपीठमा वडादशैंका बेला भक्तजनहरु बढी आउने गरेको मन्दिरका पीठाधिस महाकान्त ठाकुर बताउँछन् ।
नेपाल तथा भारतको वंगाल, विहार तथा नयाँ दिल्लीसम्मका भक्तजनहरु दर्शन गर्न आउने गरेको ठाकुरको भनाई छ । यस्तै भाकल पुरा भएपछि विशेष पुजापाठको लागि पनि वडादशैंमै आएर खशी–बोका बलि चढाउने गरिएको छ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ भारहदस्थित कंकालनी भगवती मन्दिरमा खास गरी निःसन्तान महिलाले भाकल गरेपछि सन्तान प्राप्ति, नोकरीको अवसर, दैवीप्रकाप तथा अनिष्टहरु साम्य गर्न भाकल गर्ने परम्परा रहिआएको छ । भाकल पुरा भएपछि वडादशैंको नवमी तिथिमा राँगा बलि प्रदान गर्ने तथा अन्य समयमा समेत बोका, परेवा, मिठाई र गरगहना चढाउने परम्परा रहिआएको छ ।
यस बाहेक राजविराज स्थित भगवती मन्दिर, डाक्नेश्वरी स्थित डाक्नेश्वरी भगवती, हनुमाननगर कंकालिनी नगरपालिका स्थित योगिनीमाई लगायतका मन्दिरमा समेत भक्तजनको चहल पहल बढेको समाचारदाताहरुले जानकारी दिएका छन् ।