• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

लोक, पारम्परिक, संस्कृति, मौलिक संस्कार नृत्य प्रतियोगिता सम्पन्न

लोक, पारम्परिक, संस्कृति, मौलिक संस्कार नृत्य प्रतियोगिता सम्पन्न

राजविराज, २ असोज । राष्ट्रिय नृत्य निर्देशक महासंघ नेपाल प्रदेश नम्वर २ द्वारा सप्तरी जिल्लामै पहिलो पटक एकसाथ लोक, पारम्परिक, संस्कृति, मौलिक संस्कार गीतमा नृत्य प्रतियोगिता आयोजना गरियो ।
राष्ट्रिय नृत्य निर्देशक महासंघ काठमाण्डौ, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर काठमाण्डौ)समेतको आयोजनामा मङ्गलवार राजविराज स्थित जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा लाली गुराँस माध्यमिक विद्यालयबाट सामाचकेवा, पीस जोनबाट सखी सीता, इष्टर्न ज्योती सेकेण्ड्रीबाट झिझिया, ड्रिमल्याण्ड विद्यालयबाट तामाङ्ग शैलो, शिव इन्टरनेशनल बोर्डिङ्ग स्कूलबाट छठ, आनन्द ईङ्गलिस बोर्डिङ्ग स्कूलबाट मारुनी, राइजिङ्ग स्टार बोर्डिङ्ग स्कूलबाट मुण्डन नृत्य प्रस्तुत गरिएको छ ।
यसैगरी शंकर ईङ्गलिस बोर्डिङ्ग स्कूलबाट जटजाटिन, शुभम् बोर्डिङ्ग स्कूलबाट बेटी बचाउ, शान्ति विद्या विद्यालयबाट स्वागत, त्रिमूर्ती बोर्डिङ्ग स्कूलबाट सीता विवाह, गाइडलाइन बोर्डिङ्ग स्कूलबाट जनकपूर वर्णन लगायतका नृत्यहरु प्रस्तुत गरिएको राष्ट्रिय नृत्य निर्देशक महासंघ प्रदेश २ का निर्देशक संदिप मण्डलले जानकारी दिएका छन् । उनका अनुसार उक्त प्रतियोगितामा त्रिमूर्ती बोर्डिङ्ग स्कूलका छात्रछात्राहरुद्वारा प्रस्तुत सीता विवाह नृत्य वेस्ट अवार्डबाट सम्मानित भएका छन् ।
ईस्टर्न ज्योती सेकेण्ड्री स्कूलबाट प्रस्तुत झिझिया प्रथम, पीस जोन स्कूलबाट प्रस्तुत सखी सीता नृत्य द्वितीय र लाली गुराँस सेकेण्ड्री स्कूलद्वारा प्रस्तुत सामाचकेवा नृत्य तृतीय स्थान प्राप्त गरेको छ । उक्त प्रतियोगितामा सप्तरी जिल्लाभरिका १६ ओटा विद्यालयका १ सय ६६ जना छात्रछात्रा सहभागी भएका थिए । निर्णायकहरुमा प्रेम सोनम, ओम बस्नेत, युवराज गुरुङ्ग र मनोज राजवंशी रहेका थिए ।
निर्देशक संदिप मण्डलको अध्यक्षता तथा नेपाली कांग्रेसका यूवा नेता रंजित कर्णको प्रमुख आतिथ्यमा तथा महासंघका राष्ट्रिय अध्यक्ष गोरे गुरुङ्गको विशिष्ठ आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अतिथिहरुमा समाजवादी पार्टीका प्रदेश नम्वर २ का सचिव दिनेश कुमार यादव, लेखक एवम् साहित्यकार देवेन्द्र मिश्र, साहित्यकार करुणा झा, यूवा नेता पार्थो सरकार, गायक भागवत मण्डल, सन्तोष मण्डल, सरोज सन्त लगायतका व्यक्तिहरुको विशेष उपस्थिति थियो ।