• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

समाजवादी यूवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

समाजवादी यूवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

राजविराज, १ असोज । समाजवादी पार्टीको जनवर्गीय सङ्गठन समाजवादी यूवा संघले राष्ट्रको अहित हुने कार्य नियन्त्रणका लागि बुधवार देशैभरिका जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ ।
विभिन्न महत्वपूर्ण विषयहरुमा ध्यानाकर्षण गराउँदै देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाईएको हो । समाजवादी यूवा संघले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत ज्ञापनपत्र पठाईएको छ ।
देशमा बढ्दो भ्रष्टाचार, महँगी, बेथिति र विभिन्न स्वदेशी विदेशी कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने कर लगायतका राजश्व नतिरी उम्कन खोज्नुले नेपाल आर्थिक रुपमा विफल हुने ध्यानाकर्षणपत्रमा उल्लेख छ । एनसेल प्रकरण समेत एक प्रकारले नेपाललाई आर्थिक रुपमा कर नतिरी कमजोर पार्ने प्रत्यक्ष उदाहरण रहेको भन्दै बढ्दै गएको भ्रष्टाचार, महँगी, बेथिति र सुशासनका सवालमा वर्तमान सरकारलाई गम्भीर हुन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था श्रृजना हुनु, देशको ऋण १० खर्ब नाघ्नु, व्यापारघाटा आकासिनु आफुहरुकालागि चिन्ताको विषय भएको जिल्ला अध्यक्ष विशाल यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टाचार गर्ने लगायतका कुतत्वलाई समयमा नै निष्तेज पार्ने गरी कार्ययोजना ल्याउन समाजवादी यूवा संघ आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाजवादी यूवा संघका नेताहरुका आतेस कुमार सिंह, आर्किटेक अन्जु यादव, केदार यादव लगायतको उपस्थिति थियो ।