• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

समाजिक रुपान्तरणमा पत्रकार रिंकुको सशक्त पाइला

समाजिक रुपान्तरणमा पत्रकार रिंकुको सशक्त पाइला

राजविराज, ३० भदौ । हिन्दू धार्मिक संस्कारमा सोह्र श्राद्ध अर्थात पितृपक्षको आफ्नै महत्व रहेको छ । दिवङ्गत पिताको मौक्षप्राप्ति एवम् पितृप्रतिको दायित्वबोध गर्दै छोराहरुले विधीपूर्वक सोह्र श्राद्ध कर्ममा सहभागी हुन्छन् । हिन्दू संस्कार अनुसार छोराहरुले मात्र आफ्ना दिवङ्गत पितृले दैनिक तर्पण दिने गरेका छन् । तर पुरुषवादी संस्कारलाई तोड्दै जनकपुरकी पत्रकार रिंकु गायत्री मिश्राले भने आफ्ना दिवङ्गत पितृलाई तर्पण दिने कार्यलाई निरन्तरता दिएका छन् ।
उनी गतवर्ष तर्पण दिने कार्यमा सहभागी भएकी हुन् । पत्रकारिता पेशामा रहेका जिवनसाथी घनश्याम मिश्रासँगको सल्लाह पश्चात रिंकु उक्त कार्यमा होमिएकी थिईन्् । सयौं पुरुषहरुका बीच जलासयमा एकमात्र महिलाले तर्पण गरिरहेको देख्दा त्यतिबेला सबै आश्चर्यचकित भए । कतिपयले त महिलाले तर्पण दिने कुरा धार्मिक मान्यता विपरित भएको भन्दै एकआपसमा कानेखुशी र आलोचना समेत गरे । तर त्यस्ता आलोचना एवम् टिप्पणीलाई चुनौति दिँदै उनले गतवर्ष सफलतापूर्वक आफ्नो कर्तव्य सफलतापूर्वक निर्वहन गरिन् । छोरीले पनि छोरा सरह सम्पूर्ण जिम्मेवारी पुरा गर्न सक्छन् भने कुरालाई उनले सिद्ध गरेर देखाएकी छिन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर–४ निवासी ३० वर्षिया रिंकुको माइती महोत्तरी जिल्लाको पिप्रामा पर्दछ । उनका पिता राजेश्वर प्रसाद मिश्रको मृत्यु चार वर्ष अघि मृत्यु भएको हो । छोराहरुले मात्रै सोह्रश्राद्ध गर्ने मान्यताले उनलाई पिताको मृत्यु पश्चात घोच्दैआएको थियो । पति घनश्यामसँग मनको कुरा बिसाएपछि सकारात्मक सोच भएको भन्दै आफुले समेत सघाउने प्रतिवद्धता जनाए पश्चात अगाडि बढ्न रिंकुलाई सहज भयो ।
परिवर्तनका पाइलाहरु आफैंबाट उठाउनुपर्छ भने मान्यताकासाथ शुरु गर्नुपर्छ मान्यताका साथ उनी अगाडि बढिन् । पितृपक्ष शुरु गर्नु अघि समाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी थिईन् ‘पापाके बितलाक बाद हमरा परिवारसँ सायद हम्मर पितृके कियो पानि नहि द’ रहल छैक…सोंचैत छी अहि बेर सँ हमही पितृके पानि देबयके सुरु करी…।’ उनले मनको भावना अभिव्यक्त भएपछि धेरैले प्रोत्साहनयुक्त प्रतिक्रिया पाएपछि थप प्रोत्साहित भएकी थिईन् ।
विधिवत रुपमा परिबन्धलाई तोड्दै पितृ तर्पणीमा सहभागी भएको तस्विरका साथ यस्तो भावना उनले अभिव्यक्त गरेकी थिईन् ‘छोराले मात्र हैन छोरीले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्दछ, मेरो सोच….बराबरीको अधिकार चाहनेले कर्तव्य पनि बराबर गर्नुपर्दछ ।’ उनको उक्त पोष्ट सामाजिक सञ्जालमा यतिबेला भाइरल नै बन्न पुगेको थियो । उनको यो कदमले केही कट्टरता पक्षधरलाई चिन्तित तुल्याए पनि नारी सशक्तिकरणको यात्रामा सराहनीय कदम भएको भन्दै बौद्धिक जमातको टिप्पणी थियो । कर्तव्य पथमा पाइला अगाडि बढाउन प्रोत्साहित गरेको भन्दै उनले यसरी धन्यवाद शब्द लेखेकी थिइन् ‘हम्मर माँ, हम्मर पति घनश्याम मिश्र आ अपने सभगोटे छी, सभगोटेके बहुत बहुत धन्यवाद ।’
रिंकुको कार्यप्रति मिश्रित प्रतिक्रियाः
पत्रकार रिंकुले गतवर्षदेखि दिवङ्गत पितृलाई तर्पण दिने कार्यमा सहभागी भएकी हुन् । यो वर्ष समेत उक्त कार्यलाई निरन्तरता दिएपछि यस वर्ष समेत उनको विषयमा सकारात्मक र नकारात्मक दुई खालको प्रतिक्रिया आएको छ । एकपक्षले भने रिंकुको कार्य सामाजिक रुपान्तरणको सकारात्मक पाइला भएको भन्दै प्रशंसा गरेका छन् । छोरा र छोरी बीचको विभेद मेटाउन तथा छोरीप्रतिको पुरातनवादी सोचमा परिवर्तन ल्याउन उदाहरणीय कार्य भएको वुद्धिजिविहरुको टिप्पणी छ । तर्पण हिन्दू संस्कार अनुसार छोरीहरुले तर्पण दिन नमिल्ने फरक मत राख्नेहरुको जमात समेत थुप्रै छन् । उनीहरुले धार्मिक मान्यतालाई टेक्दै महिनावारी भएको अवस्थामा तर्पण दिन नमिल्ने तर्क राख्दै रिंकुको कदमलाई सकारात्मक रुपमा लिएको छैन ।
यद्यपी रिंकुले भने टिप्पणीहरुलाई समान्य रुपमा लिएकी छिन् । महिनावारीको बेला तर्पण दिन नमिल्ने कुरा ठाडै उनी अस्वीकार गर्दै भनिन् ‘महिनावारी भईरहँदा महिला अशुद्ध हुन्छ भने कुरा गलत हो, यसले आस्थालाई रोक्दैन ।’ तर्पणको विषयमा थरीथरीका टिप्पणीहरु आउनु स्वाभाविक भएको भन्दै परिवर्तनका हरेक पाइला चुनौतिपूर्ण हुने गरेको तथ्यलाई स्वीकार्दै आफु अगाडि बढेको रिंकुले बताईन् ।
प्रतिपदा तिथीदेखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवङ्गत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ ।
को हुन् रिंकु गायत्री ?
धनुषा जिल्लाको जनकपुरधामबाट नियमित रुपमा उनी विगत १३ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदैआएकी छिन् । माओवादी जनयुद्ध, सशस्त्र आन्दोलन, मधेश आन्दोलन सहित अधिकारप्राप्तिकालागि भएका आन्दोलनहरुमा अनेकौं चुनौतीहरुसँग लड्दै उनले आफुलाई कुशल पत्रकारको पंक्तिमा उभ्याउन सफल भएकी छिन् ।
रेडियो, अनलाइन र छापामाध्यममा चर्चित रहेकी उनी आफ्नै मेहनत र क्षमताले मिथिला–मधेशमा लोकप्रिय बन्न सफल भएकी छिन् । उनी हाल मिथिलाञ्चल एफ.एम., अनलाइन र युट्युबमा सक्रिय छिन् । पत्रकारितामा महिला सहभागिता न्यून रहेको अवस्थामा हिम्मतका अगाडि बढ्दैआएकी उनी हाल नेपाल पत्रकार महासंघ प्रदेश नम्वर २ को उपाध्यक्षको जिम्मेवारीमा छिन् ।
जनकपुरका चर्चित पत्रकार, रङ्गकर्मी एवम् मोडेल घनश्याम मिश्रसँग उनी ९ वर्ष अघि एकअर्कालाई मन पराएर बैवाहिक बन्धनमा बाँधिएकी थिईन् । मञ्चीय उद्घोषणमा यी दम्पत्ती देश–विदेशमा लोकप्रिय छन् । सुन्दरता एवम अद्भूत कलाकी धनी रिंकु रेडियो टुडेमा काम गरिहेको अवस्थामा पहिलो पटक नाटकमा अभिनय गरेपछि निक्कै चर्चामा आएकी छिन् । आफ्नै विशिष्ट क्षमताका कारण पत्रकारिता, मानवअधिकार, समाजसेवा एवम् सामाजिक रुपान्तरणका क्षेत्रमा उनको अग्रणी स्थान रहेको छ ।