• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका युवा इन्जिनियर आदित्यलाई स्टार्टअप आइसिटी अवार्ड

सप्तरीका युवा इन्जिनियर आदित्यलाई स्टार्टअप आइसिटी अवार्ड

राजविराज, १ भदौ । चौथो संस्करणको स्टार्टअप आइसिटी अवार्ड २०१९ ई–डिजिटल नेपाल प्रा.लि.ले हात पार्न सफल भएको छ ।
सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आइसिटीद्वारा आयोजित भव्य समारोहका बीच उक्त अवार्ड सप्तरी निवासी ई. आदित्यराज यादवले प्राप्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत लगायतका अतिथिहरुले विभिन्न १० विषयमा विजेताहरुलाई अवार्ड हस्तान्तरण गरिएको छ ।
डिजिटल सूचना प्रविधीको क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्दैआएका सप्तरीका युवा इन्जिनियर आदित्यराज आइसिटी अवार्ड २०१९ विजेता बन्न सफल भएका छन् । लिभिङ विथ आइसिटीद्वारा आयोजित चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ मा २४ प्रतिष्पपर्धी प्रतिष्पर्धीहरुलाई उछिन्दै तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–८ निवासी कर्मचारी शहीद प्रभुनारायण यादवका कान्छो छोरा आदित्यराज डिजिटल सूचना व्यवस्थापन प्रणालीको क्षेत्रमा नयाँ एप्प एवम् सफ्टवेयर बनाएर उनी देशमै चर्चित युवा इन्जिनियरको रुपमा चिनिन्छन् ।
उनले सञ्चालन गरेको ई–डिजिटल नेपाल प्रा. लि. नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणालीलाई कम गरी डिजिटल सूचना व्यवस्थापन प्रणाली सुरु गर्ने अभियानमा सक्रिय रहेको छ । २०७५ को वैशाखमा स्थापना भएको कम्पनीले छोटो समयमै चार सय भन्दा बढी स्कुललाई स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरबाट सफलताका साथ डिजिटलाइज गरिसकेको छ ।
स्टार्टअपको हेड अफिस काठमाडौंमा रहेको छ भने प्रदेश नम्वर १ को इटहरीमा शाखा खोलिएको छ । प्रदेश १, २, ३, ६ र ७ गरी नेपालका ३० जिल्लामा यसले आफ्नो ग्राहक विस्तार गरिरहेको छ । यो कम्पनी नेपालको शिक्षा पद्धतिलाई परिवर्तन गर्दै शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय र सरकार सबैकालागि साझा प्लाटफर्म बन्ने प्रयासमा जुटइन्नोभेटिभ सोलुसन्सका लागि आइटी क्षेत्रमा ५ वर्षयता काम गरिरहेको टिमले यो स्टार्टअप हाँकिरहेको छ ।
ई.आदित्यले प्रदेश २ सरकारको महिला सुरक्षा एप्प, बेटी बचाउ बेटी पढाउ सहितका एप्पहरु तयार पारेका छन् । गतवर्ष आयोजित प्रतियोगितामा स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८ को उप–विजेता भएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट २ लाख नगद एवम् अवार्डबाट सम्मानित गरिएको थियो ।
प्रडक्ट आइसिटी अवार्ड मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, राइजिङ स्टुडेन्ट प्रोजेक्ट अवार्ड पुल्चोक क्याम्पसका विद्यार्थीहरुले विकास गरेको प्लाटफर्म ‘रक्तदान’ले जित्न सफल भएको छ । यसैगरी आइसिटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विकास अभियान्ता महावीर पुन, र आइसिटी आन्टरप्रेनियर अवार्डबाट जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाल सम्मानित भएका छन् ।
नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेशन आइसिटी अवार्ड, कान्तिपुर दैनिकका पत्रकार विजय तिमिल्सनालाई मिडिया पर्सन आइसिटी अवार्ड प्रदान गरिएको छ । १९ वटा प्रडक्ट तथा स्टार्टअपमध्ये किताबयात्रा प्रा.लि.ले पब्लिक च्वाइस अवार्ड २०१९ तथा स्व. कर्मठ डंगोललाई आइसिटी मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।
यस वर्षको स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विनाधितो ऋण दिने घोषणा गरेको छ । आइसिटी अवार्डको इन्स्योरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्स्योरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्स्योरेन्स गरिदिने जनाईएको छ ।