• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दुर्घटनामा मृत्यु भएका पत्रकारको शव रुपन्देही पठाईयो

दुर्घटनामा मृत्यु भएका पत्रकारको शव रुपन्देही पठाईयो

राजविराज, १ भदौ । । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–११ मा शनिवार विहान बोलेरो दुर्घटनामा एक पत्रकारको मृत्यु भएको भने चार जना घाइते भएका छन् ।
रुपन्देहीबाट पुर्वतर्फ जादै गरेको बा.१६ च २२३५ नम्वरको पिकअप बोलेरो ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर १ निवासी ४० वर्षिय अधिकारीको तत्कालै घटनास्थलमै मृत्यु भएको छ ।
पार्किंङ्ग गरी राखिएको स.११ प ४६२९ नम्वरको स्कुटरमा ठक्कर लागेर पल्टिन गई बोलेरो दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक रुपन्देहीकै सियारिस गाउँपालिका वडा नम्वर ५ का ३६ वर्षिय अशोक भण्डारी, तिलोत्तमा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष तामानाथ पाण्डे, सोही ठाउँका झविन्द्र प्रसाद कँडेल, वडा नम्वर १४ का वडा अध्यक्ष सोहन थारु घाइते भएका छन् । स्थानिय धर्मेश्वर अस्पताल ठेलियामा सामान्य उपचार पश्चात थप उपचारकोलागि चारै जनालाई नोबेल अस्पताल बिराटनगर पठाईएको छ ।
शव रुपन्देही पठाईयो
मृतक पत्रकार अधिकारीको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पोष्टमार्टम शनिवारै साँझ पश्चात जन्मस्थान रुपन्देहीको तिलोत्तमा नगरपालिका पठाईएको छ । राजविराजबाट उनको शव प्रस्थान गर्नु अघि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा, महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, प्रदेश सचिव रामनारायण विश्वास, पत्रकार विद्यानन्द राम, धर्मपाल राउत, रामनाथ यादव लगायतले श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम विदाइ गरेका छन् ।