• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छिन्नमस्ता शक्तिपीठको आर्थिक कारोबार भद्रगोल

छिन्नमस्ता शक्तिपीठको आर्थिक कारोबार भद्रगोल

राजविराज, १ भदौ । सप्तरीको छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समिति सखडाले शनिवार सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा व्यापक प्रक्रियागत त्रुटी औंल्याएको छ ।
शक्तिपीठ परिसरमा आयोजित पत्रकार सम्मेलन एवम् आय–व्यय सार्वजनिक कार्यक्रममा पेश गरिएको प्रतिवेदनमा त्रुटीहरु औंल्याउँदै सुझाव समेत दिईएको हो । आर्थिक वर्ष २०७३÷०७४ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित बेरुजु एक लाख १० हजार हालसम्म फर्छ्यौट नभएको तथा फर्छ्यौट गराउनेतर्फ ध्यान नदिएको भन्दै अविलम्ब बेरुजु फर्छ्यौट गराउनुपर्नेमा एस.एल. कम्पनीले सुझाव दिएको छ । तत्कालिन समितिका पदाधिकारी तथा कर्मचारीको नाउँमा ७ लाख ६० हजार ९४ रुपैयाँ नगद मौज्दात आ.व. २०७३÷०७४ देखि नै रहँदैआएकोमा हालसम्म बैंकमा दाखिला नभएको भन्दै लेखापरीक्षकले उक्त नगद मौज्दात असुल गरी बैंक दाखिला गर्नुपर्ने निर्देशित गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ को लेखापरीक्षण प्रतिवेदनमा दिईएका सुझावहरु कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सुझावहरु कार्यान्वयन गरी लेखा चुस्तदुरुस्त राख्न पुनः सुझाव दिईएको छ ।
पर्यटन बोर्डबाट मन्दिर परिसरमा हाइब्रिज निर्माणकालागि ३० लाख रुपैयाँ बजेट व्यवस्था भएकोमा सम्पूर्ण रकम छिन्नमस्ता गाउँपालिकामा निकासा भईसके पनि गाउँपालिकाबाट १३ लाख रुपैयाँ मात्र मन्दिर समितिलाई उपलब्ध गराईएको उल्लेख छ । प्राविधिक मूल्याङ्कन समेत भईसक्दा पनि गाउँपालिकाबाट बाँकी रकम उपलब्ध नभएको भन्दै रकम उपलब्ध गराउन आवश्यक प्रक्रिया अपनाउन समेत सुझाव दिईएको छ ।
कार्यक्रममा समितिका सचिव भोगेन्द्र नारायण झाले आर्थिक वर्ष ०७४÷०७५ मा ८० लाख ९५ हजार ४ सय ५२ रुपैयाँ २७ पैसा तथा ०७५÷०७६ को १ करोड ३६ लाख ४३ हजार ८ सय ९० रुपैयाँको आय–व्यय प्रस्तुत गरेका छन् । शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’, समितिका पूर्व कार्यवाहक अध्यक्ष रामनारायण यादव, समाजवादी पार्टी सप्तरीका ईञ्चार्ज सत्यनारायण यादव, मूल पूजारी उमेश ठाकुर, राजकुमार ठाकुर, प्रभुनारायण यादव, जयप्रकाश यादव, तेजनारायण यादव, विद्यानन्द चौधरी, नेपाली चौधरी, बाबुनारायण मण्डल लगायतले सुझावसहितको मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन पत्रकार शुभनारायण यादवले गरे ।