• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजको सहीद गेट निर्माण अलपत्र, सर्वसाधारणलाई सास्ती

राजविराजको सहीद गेट निर्माण अलपत्र, सर्वसाधारणलाई सास्ती

राजविराज, ११ साउन । निर्माण कम्पनीको लापर्वाहीका कारण राजविराज नगरपालिका वडा नम्वर–९ स्थित सहीद गेट निर्माण कार्य अलपत्र परेको छ ।
असार मसान्तमै सम्पन्न हुनुपर्ने उक्त योजना समयमै सम्पन्न हुन नसक्दा सहीद गेट निर्माण कार्य अलपत्र हुन पुगेको हो । राजविराज नगरपालिकाबाट कुल ८१ लाखको लागतमा ठेक्का पाएको माँ गहिल निर्माण सेवाले हालसम्म करिब ७५ प्रतिशत मात्र काम सम्पन्न गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकृत मनोज कुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार २०७५ जेठमा निर्माण कम्पनीले सम्झौता गरी २०७६ असार–मसान्तभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको थियो ।
‘सहीद गेट तथा सहीद स्मारक स्तरोन्नती’ शिर्षक अन्तर्गत सहीद गेट निर्माण, आर्क ढलान, टाइलिङ्ग, मलेठ घटनाका सहीद ईनरदेव यादव, सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द कुमार साह र विरेन्द्र महतोको प्रतिमा निर्माण, टायल्स, विजुलीवत्ती जडान लगायतका कामहरु रहेको छ । उक्त कार्यहरुमध्ये अधिकांश कार्य हुन बाँकी नै रहेको छ ।
निर्माण कार्य अलपत्र हुँदा आवागमनमा सास्ती
राजविराजदेखि रुपनीसम्मको रामलक्ष्मण मार्ग अन्तर्गत पर्ने राजविराज–९ मा निर्माणाधिन सहीद गेट निर्माण कार्यका कारण सर्वसाधारणलाई आवागमनमा सास्ती झेल्नुपरेको छ । सहीद गेटको छेउबाट सहज आवागमनकालागि डाइभर्सन समेत नबनाउँदा यातायातका साधनलाई आवत–जावत गर्न समस्या भएको छ । वर्षाका कारण उक्त बाटो अत्यधिक हिलाम्मय रहने गरेकाले सवारी साधन चलाउन जोखिम उठाउनुपरेको चालकहरुको भनाई छ ।
वर्षा अगावै उक्त काम सम्पन्न हुनुपर्नेमा निर्माणमा ढिलाई भएकोले आफुहरुलाई जोखिमपूर्ण अवस्थामा सवारी चलाउनुरेको चालक शिवम यादवले बताए । मधेश आन्दोलनका सहीदको नाममा निर्माण भईरहेको उक्त कार्य समयमै सम्पन्न हुनुपर्नेमा ढिलाई दुःखद् भएको बताउँदै उनले भने ‘सहीदको नाममा निर्माणाधिन उक्त कार्य समयमै सम्पन्न भए सहीदहरुप्रतिको सम्मान हुनेछ, यसतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनु आवश्यक छ ।’
यस विषयमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले ‘सहीद गेट तथा सहीद स्मारक स्तरोन्नती’ शिर्षक अन्तर्गत सहीद गेट निर्माण, आर्क ढलान, टाइलिङ्ग लगायतका कामहरु तोकिएको समयसिमाभित्र सम्पन्न नभएको स्वीकार गरे । उक्त कार्यलाई आफुहरुले प्राथमिकतामा राखेको भन्दै अधुरा कार्यहरु सम्पन्न नेपाल सरकारले नै एकवर्षको म्याद दिएकोले अबको केही महिनाभित्रै सम्पूर्ण कार्य पुरा गराउने उनले प्रतिवद्धता व्यक्त गरे ।