• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बोदेवरसाइन नगरपालिकामा मेयर–उपमेयर बीच द्वन्द्व

एकवर्षदेखि बोलचाल बन्द, सूचना माग्दै आफ्नै कार्यालयमा निवेदन
बोदेवरसाइन नगरपालिकामा मेयर–उपमेयर बीच द्वन्द्व

विद्यानन्द राम
बोदेवरसाइन, २८ जेठ । १९ वर्षको लामो अन्तरालपछि जनताले गाउँमै सिंहदरबारको अधिकारसहितको स्थानीय सरकार पाए । २०७४ सालमा भएको निर्वाचनबाट स्थानीय तहले सरकार पाएपछि जनताको ठुलो भरोसा र अपेक्षा जोडियो ।
मधेश र मधेशी जनतामाझ रहेको समस्या, अभाव र हकअधिकारलाई नजिकबाट नियाल्ने दललाई भोट हालेर जनप्रतिनिधि चयन गरेपछि भरोसा र अपेक्षा जोडिनु स्वभाविक पनि हो । तर, स्थानीय तहका प्रमुख र उपप्रमुखबीच देखिएको आन्तरिक द्वन्द्वले आत्मनिर्भरता, युवा स्वरोजगार, गुणस्तरीय शिक्षा, विकास निर्माण आदि कार्य सम्पादनमा ठुलो असर पर्ने सर्वसाधारणमा दुविधा बढेको छ ।
प्रसङ्ग बोदेबरसाइन नगरपालिकाको हो । कताकता के के नमिलेको जस्तो, सुन्दा अचम्म लाग्न सक्छ, एउटै पार्टीबाट निर्वाचित नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादव र उपप्रमुख रञ्जुकुमारी साहबीच एक वर्षदेखि बोलचाल बन्द छ ।

सिंगो पालिकाको न्यायका लागि प्रतिनिधि बनेकी उपमेयर रञ्जुकुमारी साहले आफू नै अन्यायमा परेको दुखेसो गर्छिन् ।

‘स्थानीय सरकार आएको दुई वर्ष वित्नै लागेको छ’ वडा नं.३ का पप्पुकुमार यादवले भने–‘जनप्रतिनिधिमै यसरी विवाद हुन थालेपछि जनताले उनीहरुबाट के अपेक्षा गर्ने ।’ वडाध्यक्षका प्रत्यासी समेत रहेका यादवले कतै न कतै मेयर र उपमेयरबीच सेवा सुविधा वा अन्य कुरामा बाँडफाँटको कुरा नमिकोले यस्तो अवस्था आएको बताए ।
‘फरक पार्टीका मेयर उपमेयर भएको भए जनतालाई वुझ्न शायद सजिलो हुन्थ्यो, तर एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि वुझ्नै कठिन भईरहेको छ’ वडा नं. ५ का संजय यादवले भने–‘मेयरले पनि समस्या समाधान गर्नुपर्ने हो, खै अब त उहाँहरुको विवादले जनतालाई पनि पत्यक्ष मार हुन थालेको छ ।’
वडा नम्वर ५ कै राजू विश्वकर्माले उहाँहरुबीच देखिएको विवाद समाधान गरेर जनतालाई चुनावको वेला देखाएको सपना साकार पार्नेतर्फ लाग्नुपर्नेमा विवाद पालेर बस्नु ज्यादै दुखद रहेको बताए । ‘मेयर नगरको अभिभावक हो’ उनले भने–‘तर मेयरको भुमिका अभिभावक जस्तो देखिएन् ।’
दुवैबीच तालमेल नमिलेकै कारणले उपमेयरले सूचना माग गर्नु, नगरपालिकाको विज्ञापनमा अवरुद्ध कडा गर्नु र स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमेयरलाई अधिकारबाट वञ्चित गराएको भन्दै मुद्दा हाल्नु जस्ता कुराले नगरको विकासमा प्रत्यक्ष बाधा पुगेको उनले गुनासो समेत गरे । दुवैको विवादले अन्य जनप्रतिनिधिलाई समेत काम गर्न असहज भएको भन्दै उनले सुन्दर र विकसित नगर निर्माणकालागि मेयर उपमेयर दुवैले विवाद समाधान गर्न पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट मेयर यादव र उपमेयर साह निर्वाचित भएका छन् ।
उपमेयर के भन्छिन् ?
सिंगो पालिकाको न्यायकालागि प्रतिनिधि बनेकी उपमेयर रञ्जुकुमारी साहले आफू नै अन्यायमा परेको दुखेसो गर्छिन् । ‘मेरो गुनासोको सम्बोधन कसैले गरेको छैन’ उनले भनिन्–‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार तहत आफुले कुनै पालिकाको उपप्रमुखको हैसियतबाट केही काम पनि गर्न पाएको छैन् ।’
सेवासुविधाका कुरा त परै जाओस् यसबारे मेयरसँग केही कुरा गर्न नपाएको उनको गुनासो छ । ‘बजेट तर्जुमादेखि विभिन्न विकासका कार्यक्रममा पनि मेयरले आफ्नै निर्णय मात्र लागू गरिरहेका छन्’ उनले भनिन्–‘पालिकाले कहाँ के खर्च गर्दै छ भन्ने कुरा पनि थाहा छैन ।’
बजेट खर्चिएको विषयमा आम नागरिकलाई पनि बुझ्न नेपालको संविधानले अधिकार दिएको भन्दै उपमेयर साहले भनिन् ‘फेरि आफु त उपमेयर हो, विकास निर्माणको कार्य बारे वुझ्न आफुले सूचनाको हक तहत निवेदन दिए पनि अझैं विवरण नै उपलब्ध गराईएको छैन ।’
के भन्छन् मेयर ?
मेयर आतेशकुमार सिंह यादवले जनप्रतिनिधि वा आमजनता माझ मेयरको दायित्व पूरा गर्न आफुबाट काही चुक नभएको बताए । ‘नगरमा भईरहेको विकासीय कार्यबारे जनतालाई सोध्नुस् ?’ उनले भने–‘जहाँसम्म जनप्रतिनिधिहरुको कुरा गर्नुहुन्छ भने विभिन्न वैठक, गोष्ठी वा कार्यपालिकाको बैठकमा पनि बोलचाल भएकै हो ।’
मेयर यादवले उपमेयरलाई चित्त नवुझेका कुराहरुमा माग गरेकी सूचनाहरु नगरपालिका कार्यालयबाट उपलब्ध गराईरहेको दावी समेत गरे । तत्कालिन गाविसहरु वोदे वरसाईन, सारस्वर, फुल्काही, मानराजा, खडकपुर, काचन, देउरी तथा धनगढीका (१–८) वडा र नेगडा गरी ५८ दशमलव ९३ वर्गकिलोमिटर क्षेत्रमा नगरपालिका अवस्थित छ । १० वटा रहेको नगरमा ४३ हजार २२९ जनसंख्या रहेको छ ।