• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पराजयको बदला कांग्रेसले अब आउने चुनावबाटै लिन्छः नेता निधी

पराजयको बदला कांग्रेसले अब आउने चुनावबाटै लिन्छः नेता निधी

राजविराज, १० जेठ । नेपाली कांग्रेसका उप–सभापति एवम् प्रमुख अतिथि विमलेन्द्र निधीले चुनावमा पराजयको बदला कांग्रेस अब आउने चुनावबाट लिनुपर्ने भन्दै थप जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाली कांग्रेसको जागरण अभियान क्षेत्र नम्वर ४ क्षेत्रीय कार्यसमितिद्वारा सप्तरीको रुपनी गाउँपालिकास्थित कटैयामा शुक्रवार आयोजित सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । केपी ओली प्रधानमन्त्री भएदेखि संविधान विरोधी काम गरिरहेको भन्दै कार्यशैलीले जनता अब कम्युनिष्ट सरकारको वास्तविकता बुझिसकेको उनले बताए । मधेस–तराई, पहाड र हिमालका जनताहरुको सुखदुःख बुझ्नै पार्टी नेपाली काँग्रेस नै भएको नेता निधीले दावी गरे ।
काँग्रेस नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. लिला संग्रौलाले ओली सरकार काण्डै काण्डमा फँसेको आरोप लगाउँदै निर्मला काण्ड त सुनकाण्ड, सबै काण्डहरुको समाधान ओली सरकारले गर्न नसकेको भनी टिप्पणी गरिन् । उनले भनिन् ‘मधेसवादी भनेका दलहरु अब मधेसवादी रहेन, काँग्रेसले नै मधेसका माग अनुसार संविधान संशोधन गराउँछन् ।’
पार्टीका केन्द्रीय सदस्य एवं अभियानकालागि सप्तरीका केन्द्रीय प्रतिनिधि महेन्द्र यादवले मधेसवादी दलहरु जनताको लाशमाथि राजनीति गरेर सत्तामा पुगेको आरोप लगाए । लोकतन्त्र खतरामा रहेकाले आफूहरु लोकतन्त्र जोगाउन फाँसी चढ्नबाट पनि पछाडि नहट्ने प्रतिवद्धता व्यक्त गरे । केन्द्र र प्रदेश २ सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै प्रदेश २ को अझ नाम र राजधानी समेत तोक्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
पार्टीका क्षेत्रीय सभापति रामप्रसाद मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेदवार रामदेव साह, काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव, जिल्लास्तरीय तथा क्षेत्रिय स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सभा सदस्य मोहम्मद समिम तथा सञ्चालन काँग्रेसका यूवा नेता भुपेन्द्र यादवले गरे ।