• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

घरमा दुलही भित्र्याएर प्रेमिकासँग दुलहा फरार

वडा अध्यक्षकै नेतृत्वमै कुटिए छपकीको सिङ्गो खङ्ग बस्ती
घरमा दुलही भित्र्याएर प्रेमिकासँग दुलहा फरार

सप्तरी, २५ वैशाख । विहे गरी घरमा दुलही भित्र्याएको दुई दिन पनि बित्न नपाउँदै कथित उच्च जातको छोरीलाई भगाएको निहुँमा सप्तरीको कृष्णसवरण गाउँपालिका–५ का खङ्ग बस्तीका वासिन्दाहरु सामुहिक रुपमा कुटिएका छन् ।
स्थानीय वडा अध्यक्ष श्रीप्रसाद यादवको नेतृत्वमा छपकी टोलका खङ्ग जातिका व्यक्तिहरु कुटिएका हुन् । राजु खंग (खत्वे)ले सोही ठाउँकी साक्षी सिंहलाई भगाएको निहुँमा वडा अध्यक्ष यादवसहितका व्यक्तिहरुले उनीहरुकुटपीट गरेका हुन् । पीडितहरु न्यायकालागि गुहार माग्दै बुधवार सदरमुकाम राजविराज आएपछि उक्त घटना उजागर भएको हो । दलितले उच्च जातिकी छोरी भगाएको भन्दै आक्रोशित बनेका वडाध्यक्षसहित व्यक्तिहरुले घरघर पसेर महिला र बालबालिकालाई समेत कुटपीट गरेको पीडित धनुवा देवी खंगले जानकारी दिईन् ।
उनका अनुसार केटी भगाएर कहाँ लगेको विषयमा गाउँलेलाई कुनै जानकारी नरहेको भन्दाभन्दै पनि सोध्न आएका वडाध्यक्षसहितका व्यक्तिहरुले कुटपीट गर्न थालेका थिए । वडाध्यक्ष यादवले गाउँभरिका व्यक्तिलाई कुटपीट गर्दै ४ देखि १० हजारसम्म जरिवाना तोक्नुका साथै सादा कागजमा सहीछाप समेत गराएको उनीहरुको भनाई छ ।
राजविराज स्थित शिव मन्दिर प्राङ्गणमा सञ्चारकर्मीहरुसमक्ष दुःखेसो सुनाउँदै उनीहरुले वस्तीका पुरुषहरुलाई बाँधेर कुटपीट गर्नुका साथै बस्तीकी एक छोरीलाई समेत गाली गर्दै कुटपीट गरेको जानकारी दिएका छन् । गाउँका भद्रभलादमीबाट न्याय पाउनुको साटो जनप्रतिनीधिबाट कुटपीट र दुव्र्यवहारको शिकार भएको बस्तीका पीडित मोहन खङ्गले जानकारी दिएका छन् । उनीहरुले दोषीलाई कार्वाही गरी न्याय दिलाउन माग गरेका छन् ।
स्थानीय बिलक्षण खंगका छोरा राजुले स्थानीय मनोजकुमार सिंहकी छोरी साक्षीकुमारीलाई भगाएको आरोपमा आफूहरूलाई कुटपीट गरेको उनीहरुको आरोप छ । दलित केटाले गैरदलित केटी भगाएको विषयमा छलफल गर्न मंगलवार मोहन खंगको घरमा छलफल बोलाइएको थियो । सोही छलफलमा आफूभन्दा ठूलो जातकी केटी भगाएको भन्दै जनप्रतिनीधिका साथै केटीपक्षले कुटपीट गरेको उनीहरूको आरोप छ ।
कुटाइ खाएका राजेश खंग, डम्बर खंग, जुक्तिया खंग, मोहन खंग, उनकी पत्नी धनमादेवी, छोरा रामचन्द्र र बुहारी सरोदेवी लगायतले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । कानूनव्यवसायीसँग छलफल गर्न बुधबार राजविराज आएका पीडितहरूले वडा अध्यक्ष श्रीप्रसाद यादव, मनोजकुमार सिंह, गर्भी यादव लगायतको समूहले आफूहरूलाई कुटपीट गरेको बताए ।
विलक्षण खंगका छोरा राजुले बैसाख १३ गते विवाह गरे । उनको विवाह सप्तरीको सप्तकोशी नगरपालिका स्थित कमलपुरकी प्रमिला खंगसँग भयो । तर, १५ गते नै उनले प्रेमिका साक्षीलाई लिएर भागेपछि समस्या सुरु भएको थियो । राजु र साक्षीले विवाह गरेको पुष्टि नभए पनि उनीहरू सँगै भागेको आशंका गरिएको छ ।
घरमा श्रीमती छाडेर राजु प्रमिकासँग भागेपछि केटी पक्षले राजुलाई हाजिर गराउन परिवारमा दबाब दिईयो । यही बीचमा राजुकी आमा दुर्घटनामा परेर अस्पताल भर्ना भएकी छन् । राजुको घरमा कोही नभेटेपछि केटी पक्षले गाउँलेहरूलाई निसाना बनाएको पीडितहरूको गुनासो छ ।
‘छलफल गर्नुछ भन्दै खत्वे टोलका सबैलाई भेला हुन भनिएको थियो । पीडित मोहनका अनुसार उपस्थित भएका तथा नभएकाहरुलाई समेत घरमै पसी कुटपीट गर्दै सादा कागजमा औंठाछाप समेत लगाएको उनीहरूको आरोप छ ।