• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज विमानस्थलमा अब हप्तामा सातै दिन विमानसेवा

राजविराज विमानस्थलमा अब हप्तामा सातै दिन विमानसेवा

राजविराज, २४ वैशाख । विना सूचना गत चैत्र १८ गतेदेखि हवाई सेवा ठप्प भएको राजविराज विमानस्थलमा आइतवारदेखि दैनिक रुपमा श्री एयरलायन्सले सेवा सञ्चालन गर्ने भएको छ ।
हवाई सेवा शुभारम्भ भएयता अनियमित उडान हुँदैआएको राजविराज विमानस्थलबाट पहिलोपटक हप्ताको सातै दिन विमानसेवा सञ्चालन गर्ने भएको हो । श्री एयरलायन्सको राजविराज स्टेशन इन्चार्ज किरण कुमार यादवका अनुसार वैशाख २९ गतेदेखि नियमित रुपमा हवाई उडान हुनेछन् । २०७५ असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा सुरुमा साताको ५ दिन उडान भर्दैआएको थियो । प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन मात्र उडान भर्दै आएको थियो ।
गत चैत्र १८ गते काठमाण्डौबाट राजविराज आउने भनिएको विमानको उडान अचानक रद्द गरिएको थियो भने काठमाण्डौ जानकालागि तयार भएर बसेका यात्रुहरुलाई विमान आउँदैन भनी फर्काईएको थियो । अब दैनिक रुपमा काठमाण्डौ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न १.३५ बजे यात्रु बोकेर राजविराजकालागि प्रस्थान गर्ने तथा राजविराजबाट समेत दैनिक २.३० बजे यात्रु बोकेर काठमाण्डौकोलागि उड्ने समयतालिका सार्वजनिक गरिएको छ । श्री एयरलायन्सले वैशाख २९ गतेकालागि टिकट बुकिङ्ग कार्य समेत शुरु गरिसकेको स्टार ट्राभल्स एजेन्सीका प्रोप्राइटर गौतम चौधरीले जानकारी दिएका छन् ।
यस्तो छ विमानसेवाको इतिहास
वि.सं. २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्यास गरि सञ्चालनमा ल्याईएको थियो ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो । पछिल्लोपटक विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाई एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाईको ट्याक्सी वे पक्की निर्माण भएपछि गत जेठ ९ गते श्री एयरलाइनले सफल परीक्षण ग¥यो ।
झण्डै ६ दशकपछि गत असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो । श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु ग¥यो । पाँच महिनासम्म शनिवार र मङ्गलवार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन पनि गरे । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको थियो ।