• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छिन्नमस्ता शक्तिपीठका पीठाधीशको कक्षमा तोडफोड

आफुमाथि आक्रमणको प्रयास भएको आरोप
छिन्नमस्ता शक्तिपीठका पीठाधीशको कक्षमा तोडफोड

राजविराज, ८ चैत्र । सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित छिन्नमस्ता भगवती शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले आफुमाथि सांघातिक आक्रमणको प्रयास भएको बताएका छन् ।
शुक्रवार विहान ‘न्यूज टुडे’लाई टेलिफोन सम्पर्क गरी उक्त विषयमा जानकारी दिएका हुन् । उनका अनुसार राती करिब ९ बजेको समयमा आफु शक्तिपीठ परिसरको आफ्नो कक्षमा बसिरहेको अवस्थामा भित्र प्रवेश गरी तोडफोड गर्दै आतङ्क मच्चाउँदा आक्रमणको प्रयास भएको छ ।
कार्यकक्षमा बसिरहेकै अवस्थामा पेस्तोल बोकेर आएका राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका ‘रणविर सिंह’ भनिने रामबाबुले आक्रमणको प्रयास गरेको पीठाधीश ठाकुरले जानकारी दिए । पीठाधीश कक्षमा तोडफोड गर्दै गालीगलौज समेत गर्न थालेको तथा आफुले रामनारायणको हातमा पेस्तोल हेरेपछि पछाडितर्फको ढोकाबाट भागेर ज्यान जोगाउन सफल भएको उनले बताए ।
पीठाधीश ठाकुरका अनुसार दुई–तीन जनाको संख्यामा रहेका उनीहरु कक्षमा रहेको कुर्सी, टेबुल र दराज समेत तोडफोड गरिएको छ । उक्त विषयमा आफुले तत्काल सुरक्षा निकायलाई जानकारी गराएको उनले बताए ।
छिन्नमस्ता भगवती शक्तिपीठ संरक्षण सम्वद्र्धन समितिका पूर्व कार्यवाहक अध्यक्ष समेत रहेका उनले आफुमाथि लगाईएको आरोप निराधार रहेको दावी गरेका छन् । आफ्नै कक्षमा सहयोगीका साथ रक्सी सेवन गर्दै पीठाधीश ठाकुरले अनावश्य अपशब्द प्रयोग गरिरहेको अवस्थामा त्यसलाई रोक्ने प्रयास मात्र गरेको बताए । पीठाधीशको कार्यकक्षमा तोडफोड पनि भएको छ नि ? भनी जिज्ञासामा उनले भने ‘हामीले चेतावनी मात्र दिएका हौं, उनले आफै कुर्सीहरु फालेर हामीमाथि आरोप लगाएर फँसाउने षडयन्त्र गरेको छ ।’