Top_Header_Right_Add

इटा भट्टाको चिम्नीले राजविराजमा जोखिमपूर्ण विमान सेवा

इटा भट्टाको चिम्नीले राजविराजमा जोखिमपूर्ण विमान सेवा

राजविराज, २५ फागुन । एकपछि अर्को विमान दुर्घटनाले नेपाली आकाश असुरक्षित बन्दै गएको चौतर्फी चर्चा भईरहेको बेला राजविराज विमानस्थलमा जोखिमपूर्ण विमान सञ्चालन सेवा भईरहेको खुलेको छ । विस २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्यास गरि सञ्चालनमा ल्याएको विमानस्थल हो, ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो । पछि विभिन्न प्रयासले विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाई एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाईको ट्याक्सी वे पक्की निर्माण भएपछि गत जेठ ९ गते श्री एयरलाइनले सफल परीक्षण ग¥यो ।
झण्डै ६ दशकपछि गत असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो । श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु गरे । पाँच महिनासम्म शनिवार र मङ्गलवार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन पनि गरे । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको छ । तर, राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको पूर्वतर्फ ७ सय मिटरकै दुरीमा ९० फिटको अग्लो ४ वटा चिम्नी (ईट्टा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भिर समस्या भईरहेको खुलासा गरेको छ ।
राजविराज नागरिक उड्डयन कार्यालय राजविराजका प्रमुख भिमदत्त पन्तले हिमाल, किसान, माँ दुर्गा र माँ काली ईट्टा भट्टाका कारण उडान–अवतरण जोखिमपूर्ण रुपमा गराउँदै आएको बताए । ‘रन–वे’को मुखैमा ९० फिट अग्लो चिम्नी छ’ उनले भने–‘३० फिटसम्म भएको भए समस्या हुदैन्थ्यो, तर चिम्नी अत्यधिक अग्लो रहेका कारण अवतरण गर्ने क्रममा एकदमै जटिलता आउँछन् ।’
प्रमुख पन्तले चिम्नी हटाउनुपर्ने विषयमा जिल्ला प्रशासन कार्यालय, स्थानीय र संघीय सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणमा समेत दुई पटकसम्म मौखिक तथा लिखित ध्यानाकर्षण गराईसकेको बताए । ‘चिम्नी व्यवस्थापन गर्नेतर्फ हालसम्म कसैको ध्यान गएको छैन्’ उनले भने–‘जसका कारण यतिवेला जोखिमपूर्ण उडान भर्ने बाध्यता खेप्नु परेको छ ।’
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नागरिक उड्डयन कार्यालय राजविराजका अनुसार समस्या जटिल नै रहेको बताए । ‘आफुलाई समस्या बारे जानकारी गराए लगत्तै इट्टा भट्टा सञ्चालनहरुसँग छलफल गरे’ उनले भने–‘उहाँहरु भट्टा हटाउन तयार छन् ।’ तर, नागरिक उड्डयन कार्यालय राजविराजलाई प्राधिकरणको सुरक्षा महाशाखासँग समन्वयन गरि के कति इट्टा, कति दुरी र कति अग्लोलाई हटाउनुपर्ने हालसम्म यकिन गरेर नदिएकोले ढिलाई भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । विमानस्थलमा सुरुदेखि हालसम्म ५ हजार ६ सय ३१ काठमाडौ–राजविराज र ५ हजार २ सय २६ यात्रु राजविराज–काठमाडौं यात्रा गरिसकेका छन् भने २ सय ८६ वटा विमान सेवा सञ्चालन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत वुधवार (फागुन १५) ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । यसअघि २०७४ फागुन २८ गते पनि युएस–बङ्गलाको विमान काठमाडौं स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer