• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

काठमाण्डौमा सप्तरीकी रञ्जुको एकल चित्रकला प्रदर्शनी

काठमाण्डौमा सप्तरीकी रञ्जुको एकल चित्रकला प्रदर्शनी

राजविराज, २३ फागुन । आफ्नो मेहनत र कलाकौशलताले अत्यधिक चर्चामा आएकी सप्तरी निवासी रञ्जु यादव यतिबेला मिथिला चित्रकला प्रदर्शनीको तयारीमा जुटेकी छिन् ।
आगामी चैत्र १६ गतेदेखि काठमाण्डौको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा उनले मिथिला चित्रकलाको एकल प्रदर्शनी आयोजना गर्न लागेकी हुन् । पाँच दिने उक्त प्रदर्शनीकालागि रञ्जुलाई चित्र कोर्न भ्याई–नभ्याई भएको छ ।
समाजमा व्याप्त सामाजिक विकृति, महिला हिंसा, दहेज, भ्रुण हत्या, छोराछोरीमा विभेद, जातीय छुवाछुत सहितका विकृती–विसङ्गती विरुद्ध उनको चित्रकला केन्द्रित रहनेछन् । हालसम्म भएका चित्रकला प्रदर्शनीहरु भन्दा पृथक रहने जानकारी दिँदै उनले भनिन् ‘आफ्नै समाजिक परिवेशमा देखिएका विकृतिहरु विरुद्ध मैले कुचीको माध्यमले उजागर गर्ने प्रयास गर्दैछु ।’
बङ्गलादेशको ढाका सहित विभिन्न देशहरुमा नेपालको मिथिला लोककलाको उनले प्रतिनीधित्व गरिसकेकी छिन् । राजविराज नगरपालिका वडा नम्वर–१० दिघवा घर भई हाल उनी काठमाण्डौ बस्दैआएकी छिन् । विगत १२ वर्षदेखि मिथिला चित्रकला क्षेत्रमा समर्पित रहँदैआएकी उनी मैथिली विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् ।
सानैदेखि चित्रकलामा विशेष रुची राख्दैआएकी थिईन । यद्यपी गोरखापत्र संस्थानको द राइजिङ्ग नेपाल नामक अंग्रेजी दैनिकमा कार्यरत दिघवा निवासी अमरेन्द्र यादवसँगै वैवाहिक बन्धनमा बाँधिएपछि उनी थप प्रोत्साहित भएकी हुन् । लोककला क्षेत्रमा समर्पित रञ्जुले बनाएका चित्रकलाको नेपाल तथा भारतका सिद्धस्थ चित्रकारहरुले औधी मन पराएका छन् ।
स्नातकोत्तरसम्मको अध्ययन गरेकी उनी चित्रकलालाई नै जिविकोपार्जनको माध्यम बनाउने सोचकासाथ अगाडि बढेकी छिन् । विश्वमै मिथिला चित्रकलाको विशिष्ठ पहिचान रहेको बताउँदै उनले भनिन् ‘मिथिला चित्रकलामा समेत व्यापक सम्भावना छ तर सरकारले यसको विकासकालागि अपेक्षाकृत संरक्षण नगरेका कारण कलाकारहरुको जिविकोपार्जनको माध्यम बन्न सकेको छैन ।’ यद्यपी विगत केही समययता यसतर्फ शिक्षित व्यक्तिहरुको प्रवेशले गर्दा मिथिला चित्रकलाको क्षेत्रमा आशलाग्दो माहौल बन्दै गएको रञ्जुले बताईन् ।
उनका अनुसार काठमाण्डौमा आयोजना हुन लागेको चित्रकला प्रदर्शनीमा समाजिक विकृति–विसङ्गति विरुद्धसहित अन्य समेत गरी २७–२८ ओटा एकल चित्र प्रदर्शनीमा राखिनेछ । उक्त प्रदर्शनीमा सहभागिताकालागि सबैपक्षसँग उनले आग्रह गरेकी छिन् ।