• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

कामकाज र लोकसेवाको माध्यम मैथिली हुनुपर्छः अभियानीहरु

कामकाज र लोकसेवाको माध्यम मैथिली हुनुपर्छः अभियानीहरु

राजविराज, ९ फागुन । प्रदेश नम्वर २ मा मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाई लोकसेवाको माध्यम समेत मैथिली हुनुपर्ने एक कार्यक्रममा मैथिली अभियानीहरुले माग गरेका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मैथिली साहित्य परिषदले विहिवार राजविराजमा आयोजनाको गरेको ‘मैथिली साहित्यिक गोष्ठी एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो माग गरेका हुन् । मैथिल महासंघका अध्यक्ष विष्णु मण्डलले मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रदेशका बासिन्दाको बोलीचालीको मुख्य भाषा मैथिली भएकाले त्यसको विकल्प खोज्न नहुने बताउँदै आफ्नै लिपी, संस्कृति र पहिचान बोकेको मिथिला र प्रदेशको कामकाजको भाषा मैथिली नै बनाउनुपर्ने बताए । मैथिली भाषालाई भर्याङ बनाएर राज्यका महत्पुर्ण पदमा पुगेका राजनेताहरुले नै मैथिली भाषालाई उपेक्षा र अपमान गरेको भन्दै उनले आक्रोस पोखे । ‘पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मीय पहिचानलाई बिर्सिने दल र नेताका कारण मैथिली भाषाको अपमान भयो’ मण्डलले भने–‘त्यस्तालाई अव वहिस्कार वा मार्गदर्शन के गर्नु पर्ने हो, सोच्ने वेला आएको छ।’
कार्यक्रममा राजनितिक विश्लेषक अमरकान्त झाले प्रारम्भिक तहमा अनिवार्य र माध्यमिक तहमा ऐच्छिक विषयको अध्ययन अध्यापन तथा मैथिली भाषीका लागि लोकसेवामा मैथिली भाषामै प्रश्न सोध्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिए । ‘आफनो भाषाको मायाँ कसलाई नहोला, तर जिवन यापनमा त्यसको प्रयोग कतै जोडिएन’ उनले भनिन्–‘त्यसैले मैथिली अध्ययन गर्नेहरुको पनि भविष्य सुनिश्चित हुने ग्यारेण्टी हुनुपर्यो ।’
कार्यक्रममा पुर्व शिक्षिका मञ्जु श्रेष्ठले मैथिली भाषाको विकास, संरक्षण र समृद्धिका लागि विद्यालयमै अनिवार्य पठन पाठनको ब्यवस्था हुनुपर्नेमा जोड दिईन् । यसैगरी अवकाशप्राप्त इन्जिनियर प्रयाग यादवले पनि प्रदेश २ मा मैथिली भाषालाई कामकाजी भाषाको मान्यता दिलाउन राजनितिक दल र त्यसका नेतृत्वलाई दवाव दिनुपर्ने बताए ।
अधिवक्ता राजेन्द्र देव, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, साहित्यकारहरु सत्येन्द्रनाथ चौधरी, श्रीराम मण्डल, ललिता झा, रमिला साह, कञ्चन झालगायतले मैथिली भाषाको महत्वबारे मन्तव्य सहित साहित्यिक रचना वाचन गरेको परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् । कार्यक्रममा स्वागत मन्तव्य निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष एवम् अधिवक्ता अजयकुमार झा तथा सञ्चालन सह–सचिव रामअधिन साहले गरे ।
सोही कार्यक्रममा मैथिली अभियानी प्रा. सुरेन्द्र देवलाई मरणोपरान्त सम्मान गरिएको छ । उक्त सम्मान उनकी धर्मपत्नी नीला देवलाई हस्तान्तरण गरिएको छ ।
प्रदेश २ मा मैथिली भाषा सर्वाधिक वोलीचालीको भाषा हो । यो प्रदेशमा २४ लाख ४७ हजार ९ सय ७८ मैथिली, १० लाख ३ हजार ८ सय ७३ भोजपुरी, ७ लाख ९१ हजार ६ सय ४२ बज्जीका, ३ लाख ६० हजार २ सय ७६ नेपाली, ३ लाख १० हजार ६ सय ७२ उर्दू, ३१ हजार ४८ मगही र ८ हजार ६ सय २५ हिन्दीभाषीको वसोवास रहेको छ ।