राजविराज, १६ माघ । महालेखा परीक्षक टंकमणी शर्माले स्थानीय तहमा देखिएको बेरुजु समस्यालाई न्यूनिकरण गर्न नियम सङ्गत कार्य मात्र गर्न निर्देशन दिएका छन् ।
महालेखापरीक्षकको कार्यालय काठमाण्डौद्वारा सप्तरीको राजविराजमा बुधवार आयोजित कार्यक्रमका सहभागीहरुको जिज्ञासालाई सम्वोधनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । बेरुजु बढ्दै जानुको मूल कारण लेखा प्रणाली व्यवस्थित हुन नसक्नु नै रहेको भन्दै स्थानीय तह अन्तर्गत नगरपालिका, गाउँपालिका तथा सरकारी कार्यालयहरुलाई सचेत रहन उनले निर्देशन दिए ।
लेखा प्रणाली मितव्ययी बन्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै महालेखापरीक्षक शर्माले भने ‘लेखा प्रणाली मितव्ययी बन्न नसक्दा आर्थिक अनियमितता घट्नुका साटो उच्च हुँदै गएको छ ।’ बेरुजु घटाउन, बाँकी बक्यौता र कर फछर्यौैंट गर्न मातहतका सम्पूर्ण निकायहरुलाई कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । महालेखा परीक्षक शर्माले लेखा प्रणालीलाई तर्कसङ्गत र पारदर्शी बनाउन समेत मातहतका निकायहरुलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, सुरक्षा प्रमुखहरु, नगरपालिका र गाउँपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख तथा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संघ, प्रदेश सरकार तथा स्थानीय तहबाट सम्पादित कार्य मध्ये श्रोत संकलन, विकास निर्माण, सेवा प्रवाह तथा समग्र खर्च व्यवस्थापनको विषयमा छलफल तथा अन्तरक्रिया गरियो । कार्यक्रमका सहभागीहरुले काम गर्दाको अवस्थामा आईपरेका समस्याहरुबारे महालेखा परीक्षकको कार्यालयको टोली समक्ष जिज्ञासा राखेका थिए ।