• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको मुहार फेर्ने योजनामा उप–प्रधानमन्त्री यादव

आज एनआइसियु र रिङ्ग रोडको शिलान्यास, मेडिकल कलेजको जग्गा निरीक्षण
सप्तरीको मुहार फेर्ने योजनामा उप–प्रधानमन्त्री यादव

राजविराज, २५ पुस । सप्तरी जिल्लाको विभिन्न स्थानमा नयाँ योजनाहरुको शिलान्यास गर्न उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितको टोली राजविराज आउन लागेका छन् ।
उप–प्रधानमन्त्री यादवसँगै शहरी विकास मन्त्री मो. इस्तियाक राइन सहितको टोली राजविराज आउन लागेका हुन् । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एनआइसियु सेवाको शुभारम्भ उप–प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवले गर्न लागेका छन् । वर्षौदेखि जर्जर रहेको अस्पतालमा देखिएको क्रमिक सुधारसँगै पछिल्लोपटक उक्त सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
अस्पताल परिसरमै कुल ७६ करोडको लागतमा निर्माण हुने तीन सय शैय्याको भवनको शिलान्यास समेत उप–प्रधानमन्त्री यादवले गर्ने कार्यक्रम रहेको छ । उक्त भवन स्वास्थ्य मन्त्रालयको लगानीमा निर्माण हुन लागेको छ ।
यस्तै भवन निर्माण तथा सहरी विकास मन्त्रालयको सहयोगमा ६२ करोडको लगानीमा राजविराज नगरक्षेत्रलाई छुने गरी निर्माण हुन लागेको सहरी सडकको शिलान्यास समेत गरिने छ । राजविराज नगरपालिका अन्तर्गत झल्ही नहर नजिक उक्त सडकको शिलान्यास उप–प्रधान तथा स्वास्थ्यमन्त्री यादव र शहरी विकास मन्त्री मो. इस्तियाक राइनद्वारा हुने कार्यक्रम तय भएको संघीय समाजवादी फोरम नेपालका प्रदेश मुख्य सचिव शम्भु झाले जानकारी दिएका छन् ।
यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित योगिनयाँमा विहीबारै कोल्ड स्टारको शिलान्यास गरिने कार्यक्रम रहेको छ । यसैवर्ष झल्ही नहरदेखि राजदेवी मन्दिरसम्म सडक तथा नाला लगायतका कामहरु कुल ८ करोडको लागतमा निर्माण हुने छन् ।
यस्तै सप्तरी जिल्लाको कायापलट हुने हुने महत्वाकांक्षी योजनाको रुपमा रहेको रामराजा प्रसाद सिंह शिक्षण अस्पतालकालागि जग्गा अवलोकन गर्न उप–प्रधान तथा स्वास्थ्यमन्त्री यादवसमेतको टोली विहीबार विहान राजविराज नगरपालिका वडा नम्वर–१० को बिरौल पुग्ने कार्यक्रम रहेको छ । टोलीले त्यहाँ पुगेर सम्भाव्यताबारे अध्ययन गर्ने जनाईएको छ ।
यता रामराजा प्रसाद सिंह शिक्षण अस्पतालकालागि पहिलो चरणको नाप जाँच लगायतका कामहरु पुरा भईसकेको राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रिय स्तरको उक्त कलेजकालागि कम्तिमा ५० बिघा आवश्यक रहेकोले बिरोलको हुलाकी सडकदेखि उत्तर ४६ बिघा र दक्षिणतर्फको १६ बिघा समेत गरी कुल ६२ बिघा जग्गा पुगेको छ ।
राजविराज नगरपालिकाले उक्त ऐलानी जग्गाको सम्पूर्ण कागजी प्रक्रिया पुर्याएर रामराजा प्रसाद सिंह शिक्षण अस्पतालकालागि विहीबारै उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । मन्त्री परिषद्बाट उक्त विषयमा निर्णय पारित भई प्रतिष्ठानको कार्य अगाडि बढ्ने जनाईएको छ ।