• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चौतर्फी व्यापकता पाउँदै लोक पर्व सामाचकेवा

राजविराज, ६ मंसिर । तराई–मधेश एवम् मिथिलाको प्रसिद्ध लोक पर्व सामाचकेवा पर्वले चौतर्फी रुपमा व्यापकता पाउँदै गएको छ ।
खासगरी थारु र मैथिल महिला तथा किशोरीहरु सामाचकेवा लोक पर्व हर्षाैल्लासका साथ मनाउँदै आएका हुन् । सप्तरीको खडक नगरपालिका ६ स्थित चकवा जानकी नगरमा थारु महिला समाजले ‘थारु के पहिचान दियाऊ, थारुके संस्कृति जोगाऊ’ नारासहित सामाचकेवा महोत्सव २०७५ को आयोजना गरेको छ ।
औपचारिक रुपमा बुधबार साँझदेखि सुरु भएको महोत्सव कात्तिक शुल्क पूर्णिमाका दिनसम्म जारी रहने जनाईएको छ । आ–आफ्ना दाजुभाईको सु–स्वास्थय, दिर्घायु एवम् प्रगतिको कामना गर्दै मनाईने महोत्सव आयोजक समिति थारु महिला समाजकी संयोजक हरिहरवती चौधरीले जानकारी दिएकी छिन् ।
भाइ वहीनीबीचको अमर प्रेमको प्रतिक मानिने सामा चकेवा पर्वको जर्गेना र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनको भनाई छ । महोत्सवको प्रमुख अतिथी प्रदेश नम्बर २ का सभासद्द्वय गोविन्द न्यौपाने र रुवी कुमारी कर्णले संयुक्त रुपमा उद्घाटन गरे । भाइ बहिनी बीचको अमर प्रेम प्रतिकको रुपमा स्थापित मान्यता अनुरुप सामा चकेवाको कलात्मक मूर्तिमा दही च्यूरा अर्पण गरेर प्रमुख अतिथीद्वयले महोत्सवको शुभारम्भ गरे ।
सांसदद्वयले लोक पर्व हामी सबैको पहिचान भएकाले यसलाई जिवन्त राख्नुपर्नेमा जोड दिँदै यसको जर्गेनाका लागि आफूहरु समेत भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । सांसदद्वयले सामा चकेवा पर्वको अवसरमा सार्वजनिक विदाका लागि आफूहरुले प्रदेश सभामा प्रस्ताव राख्ने बताए । महोत्सवमा सहभागी हुन आएका प्रत्येकले आ–आफ्ना रंगीन डालामा माटोले निर्मित आकर्षक एवम् कलात्मक सामा चकेवाको मूर्ती राखि विभिन्न विभिन्न लोक गीत गाएर टोल–टोलबाट महिला र किशोरीहरु महोत्सव स्थल पुगेका थिए ।
सामा चकेवा भन्ने पात्रलाई समर्थन गर्दै चुगला भन्ने कुपात्रलाई व्यंगात्मक ढङ्गले गीतसंगीतका माध्यमले गाली गर्दै आलोचना गरिएको थियो भन्ने दाजुभाइको प्रशंसा गर्दै आशिष दिने खालका गीतहरु महिला र किशोरीहरुले प्रस्तुत गरिन् । माटोको सामा चकेवा बनाएर टोल भर भ्रमण गरी मनाउँदा दाजुभाइलाई दिर्घायु हुने विश्वासका साथ वर्षौदेखि सामा चकेवा पर्वलाई विशेष कार्यक्रमको आयोजना गरी महोत्सवको रुपमा मनाउन थालिएको आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए ।
पर्वको अन्तिम दिन पूर्णिमा तिथीमा चेलीबेटी विदाई गरे जस्तै माटोको भाडा कुंडा बनाई दाल, चामल, तरकारी मिठाई इत्यादि राखि गोरुले जोतेको खेत वा नजिकको जलाशयमा विदाई गर्ने परम्परा रहेको छ । कार्यक्रममा प्रमुख अतिथीद्वय न्यौपाने र कर्णलाई आयोजक समितिद्वारा दोसल्ला ओढाएर सम्मान समेत गरियो । सोही अवसरमा स्थानीय अगुवा इन्द्र चौधरीले सामा चकेवाको परम्परा तथा विशेषताबारे प्रकाश पारे ।