• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेश प्रहरीमा तीन हजार युवाले रोजगारी पाउनेः मन्त्री साह

मधेश प्रहरीमा तीन हजार युवाले रोजगारी पाउनेः मन्त्री साह

राजविराज, ७ कार्तिक । प्रदेश नम्बर २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले केही दिनमै गठन हुन लागेको मधेश प्रहरीमा करिब तीन हजार मधेशी यूवाले रोजगारी पाउने बताएका छन् ।
संघीय समाजवादी फोरम, नेपालका लौनियाँ कमिटिद्वारा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा मङ्गलवार आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कर्मचारी अभावका कारण प्रदेश २ मा विकास निर्माणका काम अघि बढ्न नसकेको मन्त्री साहले बताए ।
प्रदेशलाई व्यवस्थित गर्न ५ हजार कर्मचारीको आवश्यकता भएको तर संघीय सरकारले कर्मचारी नपाएकोमा गुनासो गर्दै उनले भने ‘प्रदेशलाई असफल पार्न संघीय सरकारले कर्मचारी पठाउन ढिलाई गरिरहेको छ, तर प्रदेश सरकार कर्मचारी भर्ना गरेर भए पनि अगाडि बढ्छ ।’ प्रदेश सरकारले करार ऐन ल्याउन लागेको बताउँदै आवश्यकता अनुसार सचिवदेखि पालेसम्म प्रदेश सरकारले नै नियुक्ति गर्ने मन्त्री साहले बताए ।
अधिकार प्राप्तिका लागी बलिदानी दिएका शहिदहरुको सहादताई स्मरण गर्दै अधिकार र विकास निर्माणका कामलाई सँगसँगै लिएर अगाडि बढनु पर्नेमा उनले जोड दिए । नेपाल कृषि प्रधान देश भए पनि सरकारले कृषिलाई अहिलेसम्म पनि प्राथमिकता नदिएको भन्दै प्रदेश नम्बर २ का सरकारले नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा कृषिलाई राखेको जानकारी दिए ।
सिंचाई योजना अन्तर्गत लौनियाँमा ८० लाखको लगानीमा हुने ‘डिप बोर्रिङ्ग’ दिने प्रतिवद्धता समेत मन्त्री साहले व्यक्त गरे । आफ्नै कार्यकालमा हरेकको खेतमा पानी, हरेक बिजुली उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए । सिंचाई अभावका कारण मानवले खाने आहारा पशुलाई खुवाउनुपर्ने बाध्यता भएकोले सिंचाईको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथी तिलाठी कोइलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले दुई महिनाभित्रै लौनियाँ, सकरपुरा र तोपामा बर्थिङ्ग सेन्टर सञ्चालन हुने समेत जानकारी दिए । स्थानिय समाजसेवी बच्चाराम मण्डलको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट वडा नम्बर २ का अध्यक्ष खगेन्द्र मण्डल, अतिथी शिवचरण मण्डल, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सल्लाहकार शिवचन्द्र मिश्रा, जिल्ला सदस्य नवनित झा, दुलारी देवी खङ्ग, राजपा नेपालका केन्द्रिय सदस्य महेन्द्र खङ्ग, कुस्ती प्रशिक्षक श्याम कुमार मण्डल, रामनारायण मण्डल, रामेशवर मण्डल, श्रीराम मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रदिप मण्डलद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य लौनियाँ कमिटिका सदस्य गोपाल मण्डलले गरे ।