• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

राजनीतिक संरक्षण नहुँदा मैथिलीमाथि चरम विभेद कायमै

राजनीतिक संरक्षण नहुँदा मैथिलीमाथि चरम विभेद कायमै

राजविराज, ९ असार । राजनीतिक संरक्षण नभएकै कारण मैथिली भाषाको स्थान सुनिश्चित हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
राजविराज नगरपालिका कार्यालयको सहयोगमा मैथिली साहित्य परिषद्ले नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो कुरा बताएका हुन् । नेपालमा मल्लकालीन समयमा राजकाजको भाषा मैथिली रहे पनि शाहवंशीय शासनकालमा मैथिलीमाथि दमन भएको उनीहरुले चर्चा गरे ।
मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विष्णुकुमार मण्डलले मैथिली भाषामाथि केही मैथिलीभाषीकै खतरा रहेको बताउँदै भने ‘यो भाषालाई राज्यले चरम विभेद गर्दैआएको छ, वर्तमान संघीय संरचनामा समेत मैथिलीको स्थान सुनिश्चित हुने वा नहुने हो, अहिले केही भन्न नसकिने अवस्था छ ।’ नेपालमा सर्वाधिक बोलिने दोस्रो ठूलो तथा प्रदेश २ को प्रमुख भाषा मैथिली रहे पनि राजनीतिक संरक्षण नभएका कारण सम्पर्क भाषा बन्नेमा शंका रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी उप–मेयर साधना झाले आफु मैथिली साहित्यमै लागेर राजनीति क्षेत्रमा प्रवेश गर्दै अगाडि बढेको बताए । भाषा, साहित्य, कला, संस्कृति संरक्षण सम्वद्र्धनकालागि स्पष्ट खाका सहितको योजना प्रस्ताव गरिए आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरिन् ।
महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख प्राध्यापक अमरकान्त झाले मैथिलीलाई गैर अन्य मातृभाषीबाट नभई मैथिली मातृभाषीबाटै खतरा रहेको बताए । मैथिलीको मानकताको विवादमा नअल्झेर भाषाको स्थान सुनिश्चित गराउन एकमत हुनुपर्नेमा जोड दिँदै भने ‘मैथिली कुनै सिमित जात वर्गको भाषा होइन, यो जनजनको भाषा भएकोले मैथिलीकर्मीहरुले समेत सिमित एवम् संकुचित घेराबाट माथि उठ्नु जरुरी छ ।’
वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले मैथिली प्राचीन भाषा भएकोले यसको संरक्षण सम्वद्र्धनका लागि संघ, प्रदेश र स्थानीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । मैथिलीकर्मीहरु काम कम र कुरा बढी गर्ने गरेको बताउँदै आफुभित्रको कमीकमजोरीलाई सुधार गर्दै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
दहेजमुक्त मिथिला अभियानकी अभियानकर्मी साहित्यकार करुणा झाले मैथिली भाषाको विकास नहुनुमा घरभित्रकै व्यक्तिहरु जिम्मेवार रहेको टिप्पणी गरिन् । मैथिली क्षेत्रमा कुनै व्यक्ति अगाडि बढ्न खोजे खुट्टा तान्ने र अनावश्यक टिप्पणी गरेर कमजोर पार्ने प्रवृति हावी रहेको उनले बताईन् ।
परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रा. भोला झा, पं. महेश्वर झा, परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झा, पूनम ठाकुर, पूर्व प्राचार्य नथुनी दास, शिक्षक मञ्जु श्रेष्ठ, कमला भन्साली, ई. दिब्यानन्द मिश्र, आभासेतु सिंह, विद्या झा ‘डैजी’, पिंकी झा, सत्येन्द्रनाथ चौधरी, मालती चौधरी, ललिता झा लगायतले मन्तव्य सहित साहित्यिक रचना वाचन गरे । कार्यक्रममा स्वागत मन्तव्य परिषद्का सचिव श्यामसुन्दर यादव तथा सञ्चालन सह–सचिव रामअधिन साहले गरे ।