• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या उच्च

सप्तरीबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या उच्च

राजविराज, २२ जेठ । सप्तरीमा चरम गरिबी र बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जानेहरुको संख्या तीब्र रुपमा बढ्दै गएको छ ।
रोजगारीका लागि मलेसिया, कतार, साउदी अरब, यूएई, कुबेत लगायतका खाडी मुलुकसहित अन्य मुलुक जाने क्रम बढेको हो । सप्तरी सामुदायिक विकास केन्द्रद्वारा स्थापना गरिएको वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या बढेसँगै सप्तरी वैदेशिक रोजगारीमा जानेमध्येको देशकै पाँचौं स्थानमा पुगेको छ । केन्द्रका प्रमुख रामप्रमेश मण्डलका अनुसार चालु आर्थिक वर्षमा झण्डै १३ हजार व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।
यसैगरी, आर्थिक वर्ष २०६८÷०६९ देखि आर्थिक वर्ष ०७३÷०७४ सम्म जिल्लाबाट ७७ हजार ५ सय चार जना वैदेशिक रोजगारीमा गएका छन् । केन्द्रका संयोजक मण्डलका अनुसार सवैभन्दा बढि मलेसिया ३३ हजार २५२ जना गएका छन् भने कतार १७ हजार ३९, साउदी अरब १६ हजार ६८१, युएई २ हजार ७९७, कुवेत १ हजार ९४२, बहराईन १६४, जोड्न १९६ र अन्यमा २ हजार ४५९ जना वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै एजेण्टबाट ठगी हुनेहरुको संख्या पनि अत्यधिक रहेको केन्द्रले जनाएको छ । केन्द्रमा आर्थिक वर्ष २०७१÷७२ देखि हालसम्मको अवधिमा १ हजार ३ सय ८९ जनाले आफू ठगिएको निवेदन दिएका छन् ।
जसमध्ये राहदानी र पैसालिएर एजेन्ट सम्पर्कविहीन भएको घटनामा ९० जना, फरक काम देखाएर ठगिनेमा ८० जना, यता स्वास्थ्य परीक्षणमा पास र उता गएपछि फेल हुनेमा २० जना, पासपोर्ट लिएर लामो समयसम्म नउडाएर ठगिनेमा १६ जना कामदार रहेको केन्द्रको रेकर्डमा उल्लेख छ ।
उनका अनुसार स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीय स्तरमा छलफलका माध्यमबाट ती मध्ये ८ सय १८ वटा समस्या समाधान गरिएको र अन्य घटना समाधानको प्रक्रियामा रहेको छ ।