• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अन्तरराष्ट्रिय वौद्ध सम्मेलनमा २३ वटा देशको सहभागीता रहने

अन्तरराष्ट्रिय वौद्ध सम्मेलनमा २३ वटा देशको सहभागीता रहने

लुम्विनी, २४ चैत्र । आगामी वैशाख १५ र १६ गते लुम्विनीमा आयोजना हुन लागेको अन्तरराष्ट्रिय वौद्ध सम्मेलनमा विश्वका २३ वटा देशले सहभागीता जनाउने भएका छन् ।
विश्वका १३ देका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । अन्य देशका तर्फबाट बौद्ध संस्थाका प्रतिनिधिहरुले सहभागीता जनाउने निश्चित भएको छ । हालसम्म भारत, जापान, फ्रान्स, यूके, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंका लगायतका राष्ट्रले सहभागिता जनाउने सुनिश्चित भएको छ ।
बैशाख १५ र १६ गते आयोजना हुने वौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्विनी विकास कोषले दुवै कार्यक्रमको प्रारम्भिक तयारी पुरा भएको जनाएकोे छ । कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार सम्मेलनमा १५ वटा मुलुकका बौद्ध प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यक्रम लुम्विनी स्थित चाइना विहारमा गरिने भएको छ । सम्मेलनमा ६ सय बौद्ध प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनको उद्घाटनका लागि बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओली लुम्विनी आउने भएका छन् । ओली १७ गतेको बुद्ध जयन्ती मूल समारोह सकेर मात्र काठमाण्डौं फर्किने छन् ।
१७ गते हुने मूल समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम छ । भण्डारी १६ गते नै लुम्विनी आउने कार्यक्रम तय भएको लुम्विनी विकास कोषले जनाएको छ ।
दुई वर्ष वर्षअघि हावाहुरी र भारी वर्षाका कारण बुद्ध जयन्ती मूल समारोह विथोलिएपछि कार्यक्रमका प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रै लुम्बिनीमा सभाहल निर्माणको निर्देशन दिएका थिए । कोषले तत्काल सभाहल निर्माणको प्रकृया शुरु गरे पनि परामर्शदाता छनोट, उसको सुझाव र टेण्डर प्रकृया थाल्दा प्रकृयामै २ वर्ष लागेको छ । सम्भवतः बुद्ध जयन्ती मूल समारोहमा सहभागीता जनाउनुपूर्व प्रधानमन्त्री ओलीले ढिलै भए पनि आफ्नो निर्देशनमा बन्न लागेको सभाहलको सिलान्यास गर्नेछन् ।
आफुले निर्देशन गरेको सभाहल निर्माणमा ढिलाई भएपछि प्रधानमन्त्री केपी ओलीले एक महिना अघि तत्काल अस्थायी सभाहल बनाउन निर्देशन दिएका दिए । स्थायी सभाहल बन्दा सम्मका लागि अस्थायी सभाहल उपयोगमा आउने गरि ४ करोड रुपैयाँको लगानीमा नेपाली सेनाले एक महिनाभित्रै सक्नेगरी सभाहल धमाधम निर्माण गरिरहेको छ । सभाहलको ७० प्रतिसत काम पुरा भइसकेको कोषले जनाएको छ । सोही सभाहलमा आगामी बुद्ध जयन्ती मूल समारोह आयोजना हुनेछ ।
अन्तरराष्ट्रिय शान्ति पुरस्कारलाई यो वर्ष पनि अघि बढाउने निर्णय गरेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराइले बताए । पर्यटनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले दुवै कार्यक्रमलाई ऐतिहासिक बनाउने गरी तयारी गर्न उपसमितिहरुलाई निर्देशन दिएको छ ।