सप्तरीलाई विशेष कार्यक्रमका साथ चार दिन अघि खुला दिसामुक्त घोषणा गरिएको छ । यो घोषणासँगै सप्तरी प्रदेश नम्वर २ मा खुला दिसामुक्त घोषणा हुने दोस्रो जिल्ला भएको छ ।
खुला दिसामुक्त घोषणा गरिए पनि सप्तरीमा हाल सम्म ८० प्रतिशत घरधुरीमा मात्र शौचालय बनाईएको कार्यक्रमका आयोजकले समेत स्वीकार गरिसकेका छन् । खुला दिसामुक्त घोषणा सभालाई सम्बोधन गर्दै प्रदेश नम्वर २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले ८० प्रतिशत शौचालय निर्माण हुनुलाई सफलता भन्दै सराहना समेत गरे । खुला दिसामुक्त घोषणाकालागि सबैको घरमा चर्पी निर्माण भएको हुनु पर्ने पहिलो आवश्यकता हो । तै पनि ८० प्रतिशत मात्र शौचालय बन्नुलाई जसरी सकारात्मक रुपमा लिईएको छ, अब बाँकी २० प्रतिसत घरधुरीले चाहिँ कहिलेसम्म शौचालय बनाउने हुन् भन्ने कुरा चाहिँ प्रतिक्षाकै विषय बनेको छ ।
खासगरी ग्रामीण भेगका विपन्न समुदायले खर्च तथा जग्गा अभावका कारण सप्तरीमा अझंै शौचालय बनाउन सकिरहेका छैनन् । दिनभरि बनिबुतोमै खट्दै जीवनजीविका चलाएका उनीहरुकालागि शौचालयभन्दा पनि पेटको भोकले वढी सताउने गरेको वास्तविकता कायम छ । बस्नकालागि समेत जग्गा नभएकाले चर्पी कसरी बनाउलान् ? अहम् सवाल यो भएको छ ।
सबैले शौचालय जसरी पनि बनाउनै पर्छ भन्ने चर्को दवाव मात्रले विपन्नहरुले यो काम पूरा गरि नै हाल्छन् भन्न सकिँदैन । कमजोर वर्गका उनीहरुकालागि त विशेष व्यवस्था नै गर्नु पर्दछ । फेरि, सप्तरीमा चर्पी नबनाउनेमा सबै विपन्न समुदायका मात्रै छैनन् । कतिपय वडाध्यक्ष समेतले शौचालय अझैं नबनाएको समाचार यस अगाडि नै छापामा आईसकेका छन् ।
वडा अध्यक्ष पनि खुला दिसामुक्त घोषणा अभियानका एक अंग हुन्, जसले आफ्नो वडामा शौचालय बनाउनकालागि सबैलाई आग्रह गर्दछन् । तर, वडा अध्यक्ष आफैंले शौचालय नबनाउने अनि अरुलाई यस्तो अर्ति उपदेश दिन थाल्ने हो भने यो अर्ति उपदेशको के औचित्य होला र ? सबैभन्दा पहिले अभियानका सहयोगी जो हुन् तिनले पहिला आफ्नो शौचालय बनाएर अनि यो अभियानमा सघाउन अरुलाई पनि घचघच्याउनु सान्दर्भिक हुनेछ ।
यस्तै अति विपन्न वर्ग जो आफैं शौचालयबनाउन सक्ने अवस्थामा छैनन्, तिनकालागि के गर्ने भन्ने कुराको पनि टुङ्गो लगाउनुपर्ने वास्तविकतालाई मनन गरिनु जरुरी छ । सरकारले विपन्न वर्गकालागि विशेष कार्यक्रम ल्याउनु पर्छ भन्ने कुरा बारम्बार नउठ्ने गरेको होईन । त्यसैलै यो समस्याप्रति पनि सरकार, स्थानीय तह लगायत सबैले ध्यान दिनु जरुरी छ । खुला शौच गर्नु रोगको कारक हो भन्ने कुरा धेरैलाई थाहा त छ । तर,यो समस्याको स्थायी समाधानकालागि पनि जोड गरिएमा मात्र शत प्रतिशत शौचालय निर्माणको लक्ष्य हासिल हुन सक्दछ । अहिले जे जतिले शौचालय बनाएका छन् । आजभन्दा केही वर्ष अघिको अवस्थासित तुलना गर्ने हो भने यसलाई सकारात्मकै मान्नु पर्दछ । तर,शौचालयबनाउन जेजति घरधुरी अझंै पनि बाँकी नै छन् । तिनलाई पनि यो अभियानमा साथै लिएर हिँड्न सकिएन भने फेरि लक्ष्य प्राप्तिमा त्यसको असर नपर्ला भनि कसरी भन्न सकिएला ?