• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

नक्साबारे विभिन्न पक्षसँग छलफल गर्दै हटिया व्यवसायी

नक्साबारे विभिन्न पक्षसँग छलफल गर्दै हटिया व्यवसायी

राजविराज, ४ चैत । राजविराज हटियाका व्यापारी व्यवसायीहरुले विभिन्न पक्षहरुसँग भेटेर आफुहरुले पेश गरेको नक्साबारे जानकारी गराएका छन् ।
दुई साता अघि प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको विशेष उपस्थितिमा सर्वपक्षीय प्रतिनिधिमूलक वार्ता समिति गठन गरिएको थियो । वार्ता समितिको बैठकमा हटियाका व्यापारी व्यवसायीहरुले प्रतिवद्धता गरे अनुसार गत फागुन २८ गते हाट बजार स्वरुप बचाउ समितिद्वारा नगपालिकाका मेयर शम्भु प्रसाद यादवलाई हटियावासीद्वारा तयार पारिएको परिमार्जन सहितको नक्सा बुझाईएको थियो ।
नगरपालिकाले यस अघिको नक्सा अनुसार निर्माण कार्य अगाडि बढाउने तयारी गरिरहँदा हटियाका व्यापारी व्यवसायीहरुले पेश गरेको परिमार्जन सहितको नक्साबारे शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालययका प्रमुख रमेश कुमार थिङ्गसहित विज्ञसँग छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । समितिद्वारा पेश गरिएको नक्सा अनुसार काम गर्दा बाटोहरु समेत फराकिलो हुनुका साथै हटियाको मौलिकता समेत रहने समितिको दावी छ ।
हालको नक्सामा गल्लीहरु अत्यन्तै साँघुरो हुने, आपतविपत तथा मेलाको समयमा अत्यधिक भीँडभाड हुँदा खतरा निम्तिनसक्ने भएकोले त्यसतर्फ समेत विशेष ध्यान दिईएको छ । दैनिक रुपमा गाउँहरुबाट दैनिक उपभोग्य सामग्रीहरु बिक्री गर्न आउनेहरुलाई समुचित ठाउँ समेत छुट्याइएकोले नक्सालाई पारित गरी काम अगाडि बढाउन आग्रह गरिएको थियो यद्यपी यसतर्फ मेयर यादवले ध्यान नदिएपछि समितिको प्रतिनिधिमूलक टोलीले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालययका प्रमुख थिङ्गसँग भेटर नक्साबारे छलफल गरेको वार्ता समितिका सदस्य समेत रहेका शिवनारायण साहले जानकारी दिए । प्रमुख थिङ्गले नक्सामा आपसी सहमती अनुसार परिमार्जन गर्न सकिने तथा दुई चरणमा काम गर्ने विषय निर्माण कम्पनी र नगरपालिकाको आपसी समझदारीको विषय भएको प्रतिक्रिया दिएका छन् ।
यस्तै सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले समेत नक्साको विषयमा आफुले छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले हटिया खाली गराउन चैत ५ गतेसम्मको समय दिएका थिए । यद्यपी मेयरले नक्साबारे छलफल नबढाएको व्यवसायीहरुको गुनासो छ ।