• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

महासंघको प्रदेश निर्वाचन बैशाख २२ गते हुने

सदस्यता शुद्धिकरण अभियान प्राथमिकतामा राखिने निर्णय
महासंघको प्रदेश निर्वाचन बैशाख २२ गते हुने

राजविराज, २३ फागुन । नेपाल पत्रकार महासंघको प्रादेशिक समितिको निर्वाचन आगामी बैशाख २२ गते हुने तय भएको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा मंगलबार राती सम्पन्न महासंघको केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकले प्रादेशिक समितिको निर्वाचनको तिथि घोषणा गरेको हो । महासंघले १८ बुँदे जनकपुर घोषणा पत्र समेत जारी गरेको छ । बैठकको निर्णयबारे जानकारी दिन बुधबार बिहान जानकी मन्दिर अगाडि आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव रमेश विष्टले सदस्यता शुद्धिकरणको अभियानलाई प्रभावकारी रुपले अगाडि बढाउन निर्णय भएको जानकारी दिए ।
बैठकले पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनमा सरकारी उदासिनताप्रति गम्भिर आपत्ति प्रकट गर्दै ऐन तत्काल कार्यान्वयनकालागि सशक्त आन्दोलन कार्यक्रमसहित ४ महिने कार्य योजना तय गरेको महासचिव विष्टले जानकारी दिए ।
साथै महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सिफारिस बमोजिम पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ । पत्रकार महासंघको पहलमा पत्रकारको दुर्घटना बिना सञ्चालन भइरहेको तथा स्वास्थ्य विमाको थप योजना अघि बढाउने प्रतिबद्धता समेत बैठकले गरेको छ ।
लोकतन्त्र, न्याय र स्वतन्त्रताकालागि आजीवन संघर्ष गरिरहेका जेष्ठ पत्रकारहरुको सम्मान आरम्भ भइसकेको अवस्थामा प्रेस स्वतन्त्रता सेनानी तथा जेष्ठ पत्रकारहरुको सम्मानकालागि सरकार समक्ष कार्ययोजना प्रस्तुत गर्ने निर्णय समेत बैठकले गरेको छ । आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको प्रक्रिया रोकिएको प्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै बैठकले केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढाउन सरकारसमक्ष माग गरेको छ ।
तराई–मधेशमा आएको बाढीले प्रभावित पत्रकारकालागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दै बैठकले यस विषयमा सरकारलाई दवावकालागि आवश्यक पहलकदमी लिने निर्णय समेत गरेको छ । पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मधेश उपसमितिका संयोजक अवधेश कुमार झाका अनुसार बैठकले प्रेस काउन्सिलबाट हुने पत्रपत्रिकाको वर्गिकरणमा कसैमाथि विभेद तथा पूर्वाग्राही नहुने गरि प्रक्रिया सम्मत्त ढंगले गर्न गराउन जोडदार माग गर्ने निर्णय समेत गरेको छ ।
आफै श्रमजिवी, आफै सञ्चालक रहेका साना लगानीका सञ्चार माध्यमलाई बचाउन, समानुपातिक विज्ञापन वितरण लगायत सञ्चार सामग्रीमा कर छुटसँगै वृत्ति विकास तथा तालिम सञ्चालनकालागि साना लगानी मिडिया कोष स्थापना गर्न महासंघको बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको झाले बताए ।
प्रेस स्वतन्त्रता विरोधी अनलाईन निर्देशिका फिर्ता लिन आग्रह गर्दै बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न राज्यका सबै निकायमा आग्रह गर्ने निर्णय गरेको छ । प्रादेशिक संरचनाको प्रत्याभूति हुने किसिमले राज्यका हरेक निकायमा सम्मान, पुरस्कार र अवसरलाई समावेशी र समानुपातिक किसिमले प्रदान गर्न बैठकले माग गरेको केन्द्रीय सदस्य झाले बताए ।
बैठकले ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरको रुपमा रहेको राजर्षि जनकको पवित्र भूमि जनकपुरधाममा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउनुका साथै जनकपुर र धनुषाका विभिन्न ऐतिहासिक सम्पदाको विकास तथा प्रबद्र्धनकालागि समाचार सामग्री प्रकाशन प्रशारण प्राथमिकतामा राखी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
यसैगरी जनकपुर क्षेत्रको पर्यटन प्रबद्र्धन र विकासलागि जनकपुर अयोध्या सर्किट निर्माणका साथै आवश्यक भौतिक संरचनाको निर्माणको लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । महासंघले केन्द्रमा तत्कालै र जिल्ला शाखा तथा प्रदेशहरुमा क्रमशः इ–लाइब्रेरी स्थापना गर्ने निर्णय गरेको छ । आम सञ्चार सम्बन्धि छाता ऐन निर्माण गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघले मस्यौदा तय गरि सरोकारवालासँग छलफल मार्फत सरकारलाई पेश गर्ने निर्णय समेत गरेको छ ।
विभिन्न सञ्चार माध्यममा लामो समयदेखि कार्यरत स्टीङ्गरहरुलाई प्रक्रिया पु¥याएर चाँडो स्थायी गर्न महासंघ सम्बन्धित सञ्चार माध्यमहरुको ध्यानाकर्षण गराउने निर्णय समेत महासंघको बैठकले गरेको छ ।