• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
होलीको सन्देश

रंगअबिरको पर्व होली आउन अब चार दिन मात्र बाँकी छ । वसन्त पञ्चमी देखि नै रंग खेल्ने सुरुवात गरिने परम्पराले करिब एक महिना अघिदेखि नै होली आगमनको सन्देश प्रवाह हुने गरेको हो । यस वीचमा गाउँ गाउँमा होली आगमनको सूचकका रुपमा होली गीत गाउने विगतदेखिको परम्परा छ,जसलाई अहिले पनि कतै कतै नयाँ पुस्ताले पनि जीवन्तता दिने गरेका छन् । होली आगमनको पूर्व सन्ध्यामा विगतमा निकै गुञ्जिने गरेका होली गीत आजकाल क्रमशः कम सुनिन थालेको चाहिँ हो । बढ्दो आधुनिकता प्रतिको आकर्षण अनि मौलिकता प्रतिको उदासीनताका कारणले गर्दा नै यस्तो अवस्था आएको मान्नु पर्दछ । होली अनि होली गीतमा विभिन्न सन्देशको प्रवाह हुने गरेका छन् ,जुन मानवकानिमित्त चरित्र निर्माणकालागि गतिला आधार बन्न नसक्ने होईनन् । असत्यमाथि सत्यको विजयका रुपमा होलीको सन्देशलाई लिने हो भने आफूले पनि यसलाई व्यवहारका उतारेर देखाउन सक्नु पर्ने आवश्यकता छ । नशा खाई मात्तिएर अरुलाई अभद्र व्यवहार गर्नु होलीको सन्देश कदापि मान्न सकिन्न । यसले त होलीको पवित्र सन्देशलाई नै विकृत तुल्याउने सम्भावना बढ्ने हुन्छ । प्रेम अनि सद्भावसित जोडिएको होलीमा आध्यात्मिकताको अनौठो रुप भेटिन्छ, जसलाई सुरक्षित राख्न सक्नु वर्तमान पुस्ताको जिम्मेबारी पनि हुन जान्छ । सत्यका प्रतीक प्रह्लाद अनि असत्य तथा अहंकारी भाव बोकेकी होलीकाको चरित्र समेटिएको होलीले प्रह्लादलाई जलाउने तानाबानाका साथ उनलाई काखमा लिएर आगोमा बस्दा आफैं जलेको कथालाई पनि जोडेको छ । यसैलाई असत्यमाथि सत्यको विजय अर्थात साधुजनको रक्षा र दुर्जनको संहारका द्योतकका रुपमा लिन सकिन्छ ।जातपात,धनी गरीब जस्ता भावनालाई मेटाई आपसी सद्भाव अनि भ्रातृत्वको सन्देश प्रवाह गर्ने यस पर्वको महत्ता जोगाई राख्न सके भावि पुस्ताकालागि पनि यो अनुकरणीय बन्न सक्ने छ । हामीले आधुनिकताका नाममा आफ्नै मोलिकतालाई बिर्सन थाल्यौं भने यसले हाम्रो पहिचान समेत मेटिएर जान सक्दछ । त्यसैले कुरै नबुझि अरुको अन्धानुकरण भन्दा पनि राम्रा कुरा ग्रहण गर्ने तथा आफ्ना मौलिकता जोगाउनेतिर लाग्न सके यसले हाम्रो पहिचान तथा गौरवलाई समेत जीवन्तता प्रदान गर्नेछ ।