• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

युवा पलायन रोक्न स्थानीयस्तरमा रोजगारी आवश्यक

युवा पलायन रोक्न स्थानीयस्तरमा रोजगारी आवश्यक

राजविराज, १० फागुन । आफ्नै गाउँठाउँमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको भन्दै यसतर्फ सरकार गम्भीर बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
सप्तरीको राजविराजमा विहीवार आयोजित ‘युवा नीति, युथ भिजन र युवाका मुद्दा कार्यक्रम सम्वन्धि पत्रकारसँगको अन्तरक्रियात्मक छलफल’ कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । देशभरिमै सप्तरी जिल्ला अत्यधिक वैदेशिक रोजगारीमा जाने जिल्लाको रुपमा परिचय पाएको भन्दै यसलाई रोक्नकालागि स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्न सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने वक्ताहरुले आवश्यकता औंल्याएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले एकातर्फ राज्यले युवा लक्षित दिर्घकालिन योजनासहितको कार्यक्रम ल्याउन नसकेकोले युवा जनशक्ति विदेशिनुले समाज र राष्ट्रको अपेक्षाकृत उन्नती हुन नसकेको बताए । केही कार्यक्रम आए पनि आमयुवा यस्ता कार्यक्रमबाट लाभान्वित हुन नसकिरहेकोले पारदर्शी एवम् प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
सप्तरीमा कुल जनसंख्याको करिब १५ प्रतिशत युवाहरु मलेसिया, कतार, साउदी अरब, दुबई सहितका देशहरुमा कष्टप्रद काम गर्न बाध्य रहेको उनले बताए । उच्च शिक्षा आर्जन गरे पनि रोजगारीको अभावमा शिक्षाको प्रयोग हुन नसकिरहेकोले व्यवासाय सञ्चालन गर्न निःशुल्क शैक्षिक ऋण प्रवाह गरी युवा जनशक्ति पलायनलाई अविलम्ब रोक्नुपर्नेमा महासंघका उपाध्यक्ष यादवले बताए ।
सरकारले युवालाई विदेशमा बेचेर प्राप्त विप्रेषणबाट देश चलाउनमा गौरव गरिरहेको आरोप लगाउँदै उनले युवाहरुको विदेश पलायन रोक्न तत्काल राज्य र राजनीतिक दलहरुबाट ठोस प्रयत्न नहुने हो भने देश ५ वर्षभित्र श्रमशील युवाविहीन बन्ने अवस्था आउनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेयले युवा सम्वन्धि कार्यक्रमलाई प्रभाकारी बनाउनुपर्नेमा जोड दिए । प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला युवा समिति कार्यालयका प्रमुख रामदेव चौधरीले गरे । कार्यक्रममा कार्यालयका लेखाजोखा संयोजक विरेन्द्र चौधरीसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।