• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

जनताका हिरो शैलेन्द्र साहः मुख्यमन्त्रीको प्रबल दावेदार

जनताका हिरो शैलेन्द्र साहः मुख्यमन्त्रीको प्रबल दावेदार

राजविराज, १३ माघ । यतिबेला प्रदेश नम्वर–२ को मुख्यमन्त्रीको जिम्मेवारी कसले पाउने हो? यतिबेला बहस र मन्थनको विषय बन्न पुगेको छ । संघीय संरचनामा मुख्यमन्त्रीको रुपमा संघीय समाजवादी फोरम नेपालबाट मुख्यतयाः विजयकुमार यादव, शैलेन्द्र प्रसाद साह र लालबाबु राउतको नाम चर्चामा छ ।
पार्टीले मुख्यमन्त्रीको विषयमा औपचारिक निर्णय नगरे पनि मुख्य रुपमा यिनै तीन जनाको नाम अग्रपंक्तिमा छ । पार्टीभित्र तीनै नेता कुशल र होनहार नेताका रुपमा परिचित छन् । त्यसमध्येमा पनि कुशल सङ्गठक, ईमानदार, क्षमतावान एवम् वौद्धिक व्यक्तित्वको रुपमा चिनिन्छन् सप्तरीका शैलेन्द्र प्रसाद साह । २०५० सालदेखि औपचारिक रुपमा राजनीतिमा होमिएका उनी तत्कालिन मधेशी जन अधिकार फोरम नेपालको स्थापनाकालदेखि नै सक्रिय रहँदैआएका छन् ।
पार्टीप्रति समर्पित राजनीतिकर्मीको रुपमा पहिचान बनाउन सफल उनी आमजनताका बिच राजनीतिक हिरोको रुपमा चिनिन्छन् । आन्दोलन चलिरहँदा विषम परिस्थितिमा निक्कै सुझबुझका साथ नेतृत्व गरिसकेका नेता साह अधिकारप्राप्तिका क्रममा तीन महिनासम्म जेल जीवन तथा दर्जनौं पटक गिरफ्तार तथा प्रहरीको चरम यातना खेपिसकेका छन् ।
को हुन् त शैलेन्द्र प्रसाद साह ?
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर–५ निवासी तुलसी प्रसाद साह तथा समुन्द्री देवी साहका जेठो सुपुत्र हुन् उनी । सामान्य खेती किसानी गर्ने परिवारमा वि.सं. २०३३ साल कार्तिक ११ गते जन्मिएका साहका एक भाइ र एक बहिनी छन् ।
नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय हुँदै जनकपुरको रा.रा.ब. क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका छन् । अध्ययनका क्रममा २०५० सालमा सप्तरीबाट जनकपुर पुगेका उनले त्यहाँ अध्ययनरत सप्तरीया विद्यार्थीहरुलाई सङ्गठित गर्दै सप्तरी विद्यार्थी परिवार गठन गरे । सोही सङ्गठन मार्फत उनीहरुको हक हितकालागि काम गर्दै गएपछि छोटो समयमै कलेजमा उनी लोकप्रिय भए । अति मिलनसार स्वाभावका उनले विद्यार्थीहरु बिच हुने समान्य विवादहरुलाई कुशलताका समाधान गरिदिन्थे । २०५३ सालमा क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट उनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवमा अत्यधिक मतले निर्वाचित भए ।
स्नातकको पढाई पुरा गरेपछि जन्मथलो सप्तरी आएर विद्यार्थी राजनीतिलाई निरन्तरता दिए । उनी ने.वि. संघको क्षेत्रीय अध्यक्ष हुँदै नेपाली कांग्रेस महासमिति सदस्य समेत भए । सोही क्रममा मधेशी जनताको हक अधिकारकालागि उपेन्द्र यादवको नेतृत्वमा मधेशी जन अधिकार फोरम नेपालको गठन भयो । यादवद्वारा लेखिएका मधेश सम्वन्धी पुस्तकहरु पढ्दै गए । फोरमले वौद्धिक गतिविधिहरु गर्न थालेपछि उनी मधेशी जनताको मुक्तिकालागि फोरम निकट हुँदै गए । ‘तराई जल रही है’ पुस्तकका लेखक आर.डि. आजाद मार्फत फोरममा उनी आवद्ध भए ।
२०५६ पुस १० गते राजविराज नगरपालिकाको सभाहलमा नेता साहकै अध्यक्षतामा फोरमको पहिलो भव्य कार्यक्रम आयोजना गरियो । फोरमको संस्थापक जिल्ला अध्यक्ष हुँदै २०६३ सालको ऐतिहासिक आन्दोलनको कुशलताका साथ नेतृत्व गरे । सप्तरीमा त्यतिबेला साम्प्रदायिक सद्भाव भड्किने स्थिति आइसकेको थियो । कतिपय व्यक्तिको घरमा ढुङ्गामुढा भईसकेको अवस्थामा कार्यकर्ताहरुलाई साम्य पार्नुका साथै सर्वपक्षीय बैठक बोलाएर समाजिक सद्भावलाई कायम राख्नमा उनको ठूलो भूमिका रहेको कुरा सप्तरीवासीको मानसपटलमा अझैं ताजै छ ।
२०६३ साल माघ २ गते मशाल जुलुस आयोजना गरिएको थियो । मधेश बन्द रहेको अवस्थामा माओवादी नेता राम कार्की चढेको गाडीलाई भारदहमा रोक्ने प्रयास भयो । हतियार सहित जनमुक्ति सेनाको टोली रुपनी आईपुगेपछि त्यहाँ साहको नेतृत्वमा फोरमले रोक्ने प्रयास ग¥यो । त्यहाँ एकछिन घम्साघम्सी समेत भएपछि छलेर माओवादी नेता सहितको टोली निस्केका थिए । नेता साहका अनुसार आफुहरुले संयमता नअपनाएको भए लहानमा नभई रुपनीमै घटना हुनसक्ने स्थिति थियो ।
निरन्तर सात वर्षसम्म फोरमको जिल्ला अध्यक्ष भएर सङ्गठन हाँकिसकेका उनले पहिलो मधेश आन्दोलनको नेतृत्व कुशलताका साथ गरे । शाही शासन विरुद्ध तथा २०६२/०६३ सालको जनआन्दोलनका क्रममा पटक–पटक उनी गिरफ्तार भए भने तीन महिनासम्म जेल जीवन समेत बिताए । मधेश आन्दोलनका क्रममा प्रहरीको लाठी, बुट र बन्दुकको कुन्दाको कुटाईबाट दर्जनौं पटक मरणासन्न हुने गरी कुटिए ।
तेस्रो आन्दोलनका क्रममा भारदहमा पूर्व–पश्चिम राजमार्गमा चक्का जामका क्रममा प्रहरीले आन्दोलनकारीहरुमाथि लाठी बर्साउन थाले । सहकर्मी भाग्न सफल भए पनि उनी भाग्न सकेन । प्रहरीले निर्ममता पिट्न थालेको दृष्य हेर्न नसकेपछि भारदहवासीसहित ठूलो जमात प्रतिकारमा उर्लिदा प्रहरीले गोली चलाउँदा राजिव राउतको सहादत भएको उनी सम्झिन्छन् ।
उनी स्थानीय शान्ति समितिको पहिलो संयोजक, राजविराज नगरपालिकाको नगर विकास समितिको अध्यक्ष लगायतका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । समाजिक गतिविधिमा सक्रिय रहँदैआएका साह २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्वर ३ बाट उम्मेदवार भएका झिनो मत अन्तरले पराजित भए । यद्यपी उनले आम जनताको माझमा रहेर मधेश आन्दोलनमा सक्रिय रहँदै गए ।
संघीय संरचनामा प्रदेश नम्वर–२ को प्रदेश सभा सदस्यमा उनी अत्यधिक मतले विजयी भएका छन् । पार्टीको केन्द्रीय सदस्य हुँदै हाल फोरमको राजनीतिक समितिको सदस्यको जिम्मेवारीमा छन् । प्रदेश सभा सदस्यको सपथ–ग्रहण समारोहमा उनले मधेशको परम्परागत पहिरण धोती कुर्ता र गम्छा लगाई मैथिली भाषामा सपथ लिएर आफ्नो स्वाभिमानलाई कायम राखेर उदाहरणीय बनेका छन् ।
प्रदेश सभामा निर्वाचित भएपछि अब बन्ने प्रदेश सरकारको मुख्यमन्त्रीका रुपमा प्रबल दाबेदारका रुपमा उभिएका छन् । फोरम अध्यक्ष यादवलाई सप्तरीवासीले भारी मत अन्तर जिताएकोले सप्तरीवासीको भावनालाई कदर गर्दै मुख्यमन्त्रीको जिम्मेवारी पाउनुपर्ने आम बौद्धिक जमातको तर्क छ ।
पत्रकारितामा शैलेन्द्र
स्नातक अध्ययन गर्न धनुषाको जनकपुर स्थित रा. रा.ब. क्याम्पसमा अध्ययनरत रहँदा पत्रका अनिल कर्णसँग ‘समयचक्र’ मा आवद्ध भई व्यवस्थापकको रुपमा काम गर्न थाले । सोही क्रममा समाचारका साथै सामसामयिक लेखहरु लेख्न थाले ।
सप्तरी आएपछि अर्जुन साहसँग मिलेर पुनः पत्रकारितामा सक्रिय भए । आजको जनपुकार साप्ताहिकको सम्पादक भएर समेत काम गरे । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सदस्य हुँदै केन्द्रीय पार्षद समेत भईसकेका छन् ।
सप्तरी सदरमुकाम राजविराज २०६६ सालमा खुलेको मधेशकै चर्चित रेडियो ‘छिन्नमस्ता एफएम’को सञ्चालक समितिको सदस्य रहँदै लामो समयसम्म अध्यक्षको जिम्मेवारीमा रहिसकेका छन् । उक्त रेडियोले मधेश आन्दोलनका क्रममा जनजागरण ल्याउने खालका कार्यक्रम सञ्चालन गरेका कारण नेता साहले नेतृत्व गरेको रेडियो खुबै चर्चा बटुल्न सफल भएको थियो ।
यस्तो छ प्रतिवद्धता
यता नेता साहले आफु पार्टीप्रति प्रतिवद्ध रहेको बताउँदै ‘न्यूज टुडे’ सँग भने ‘शुरुदेखि नै पार्टीप्रति वफादार रहँदैआएको छ, पार्टीले जस्तोसुकै जिम्मेवारी दिए वहन गर्न तयार छु ।’ प्रदेश नम्वर २ विकास निर्माणको दृष्टिकोणले अझैं पछाडि रहेको भन्दै अधिकार, विकास र रोजगारीलाई प्राथमिकता दिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ । शहिद परिवारको व्यवस्थापन तथा बालबच्चाको शिक्षादिक्षाका लागि समुचित प्रबन्ध मिलाउने नेता साहको भनाई छ ।
राजनीतिक ल्याउने सप्तरी जिल्लाको अवस्था एकदमै दयनीय रहेको भन्दै बेथितीहरुलाई पन्छाउँदै विकास निर्माण लगायतका क्षेत्रमा परिवर्तन ल्याउनकै आफुलाई जनताले अत्यधिक मत दिएर जिताएको उनले बताए । सप्तरीवासीको माया, स्नेह र आशिर्वादकै कारण अगाडि बढिरहेको बताउँदै नेता साहले भने ‘सप्तरीवासीको सपनालाई साकार पार्न म प्रतिवद्ध रहनेछु ।’