• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

सरस्वतीको पूजा गरी मनाईयो वसन्त पञ्चमी पर्व

सरस्वतीको पूजा गरी मनाईयो वसन्त पञ्चमी पर्व

राजविराज, ८ माघ । विद्याकी देवी सरस्वतीको पूजाआजा गरी सोमवार हर्षोल्लासका साथ वसन्त पञ्चमी पर्व मनाईएको छ ।
पर्वका अवसरमा सप्तरीसहित विभिन्न जिल्लाहरुमा मूर्ती स्थापना गरी सरस्वतीको पूजाआजा गरिएको हो । विभिन्न शिक्षण संस्था, पुस्तकालय, प्रेस तथा लेखापढी कार्य हुने प्रतिष्ठानमा विशेष भव्यतापूर्वक सरस्वती पूजा गरिन्छ । विद्यार्थीले पुस्तक र कलमको पूजा गरेर पनि सरस्वतीको अराधना गर्ने प्रचलन छ । यस अवसरमा विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको हाम्रा स्थानीय सम्वाददाताहरुले जानकारी दिएका छन् । औपचारिक रुपमा मङ्गलवार समेत सरस्वतीको पूजाआजा गरि विसर्जन गरिनेछ । माटाका मूर्तीलाई पोखरी, नदी, तलाउ आदिमा लगेर विसर्जन गरिन्छ ।
वसन्त पञ्चमीको दिनलाई सरस्वतीको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । पुराणहरू अनुसार श्रीकृष्णले सरस्वतीसित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ । भारत र नेपालका विभिन्न भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चल्दैआएको छ ।
वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोकजीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ । हातको अघिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
यसैगरी मिथिला क्षेत्रमा कृषि कर्म सफल होस् भन्ने कामनाका साथ किसानहरुले चौका बनाई धान राखेर हलो चलाउने परम्परा छ । यस विषयमा मैथिलीमा ‘हरक नशा सभक आशा’ भन्ने भनाई प्रचलित छ ।