Top_Header_Right_Add

निर्वाचन आयोगद्वारा सप्तरीका पत्रकारहरुलाई मतदाता शिक्षा

निर्वाचन आयोगद्वारा सप्तरीका पत्रकारहरुलाई मतदाता शिक्षा

राजविराज, १२ भदौ । दुई नम्वर प्रदेशमा तेस्रो चरणको निर्वाचन नजिकिदै जाँदा निर्वाचन आयोगद्वारा सप्तरीमा पत्रकारकालागि सोमवार मतदाता शिक्षा कार्यक्रमको आयोजना गरियो ।
पत्रकारहरुले सञ्चार माध्यम मार्फत आम समुदायमा सूचना प्रवाह गर्ने भएकोले आयोगले ‘निर्वाचन र सञ्चार प्रशिक्षण तथा अन्तरक्रिया’ कार्यक्रम मार्फत पत्रकारहरुलाई मतदाता शिक्षा दिइएको हो । कार्यक्रममा पत्रकार आचार संहिता, स्थानीय तह र निर्वाचन प्रणाली एवम् स्थानीय तह निर्वाचन सम्वन्धी कानूनी व्यवस्था, मतदान तथा मतगणना प्रक्रिया, लोकतान्त्रिक निर्वाचनमा सञ्चारमाध्यमको भूमिका, आचारसंहिता र आमसञ्चारसँग निर्वाचन आयोगको अपेक्षा, निर्वाचनमा समावेशी प्रतिनीधित्व र नमूना मतदान र निर्वाचन आचार संहिताको विषयमा प्रशिक्षण दिईएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका उप सचिव सुर्यप्रसाद अर्यालले पत्रकारहरुले आम जनसमुदायमा मतदाता शिक्षालाई व्यापक रुपमा प्रचार–प्रसारमा ल्याउनुपर्नेमा जोड दिए । निर्वाचन सफल बनाउनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकोले निष्पक्ष भएर चुनाव सफल बनाउनमा जुट्नुपर्ने आवश्कता औंल्याए । ‘चुनावमा विभिन्न राजनीतिक दल तथा उम्मेदवार प्रतिष्पर्धामा आएर चुनावमा हार जीत हुनु स्वाभाविक हो तर निर्वाचन सफल हुनु भनेको राष्ट्रको सफलता र पत्रकारको जीत हो’ आयोगका उप–सचिव अर्यालले भने ‘चुनावलाई निष्पक्ष एवम् धाँधलीरहित बनाउन आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ ।’
प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादवले पत्रकारहरुले चुनावको माहौल बनाउनमा महत्वपूर्ण भूमिका हुने भएकोले यसतर्फ पत्रकारहरु गम्भीर हुनुपर्नेमा जोड दिए । निर्वाचनलाई सघाउन पुर्याउने खालका सामग्रीहरु प्रकाशन प्रशारणमा विशेष स्थान दिनुपर्ने बताउँदै उनले भने ‘पत्रकारहरुले निर्वाचनलाई अग्रभागमा राखेर काम गर्नु जरुरी छ ।’ निर्वाचनलाई अवरोध वा निरुत्साहित पार्ने खालका सामग्रीहरु प्रकाशन प्रशारण नगर्न आग्रह गर्दै उनले पत्रकार आचार संहिता पालना गर्न समेत आह्वान गरे ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले तेस्रो चरणको निर्वाचनलाई सफल बनाउनमा मिडियाको महत्वपूर्ण भूमिका रहने भएकोले थप जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । आफुले पत्रकारहरुसँग सहकार्य एवम् समन्वय गरेर अगाडि बढ्ने प्रजिअ पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।
सोही कार्यक्रममा युएनडिपीका प्रोजेक्ट को–अर्डिनेटर उषा कोइरालाले निर्वाचनमा महिला, दलित र अल्पसंख्यक समुदायको सहभागिता सुनिश्चिताबारे सहजिकरण गरिन् । महिला, दलित एवम् अल्पसंख्यक समुदायको पक्षमा सञ्चारकर्मी सशक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिईन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश ठाकुर सप्तरी जिल्लाको निर्वाचन तयारी अवस्थाबारे जानकारी दिए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सप्तरी जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer