राजविराज, ६ असार । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सर्पको टोकाईबाट सिकिस्त भएर उपचारकालागि आउने विरामीहरुको चाप बढेको छ ।
विगत केही सातायताको चरम गर्मीसँगै सर्पको टोकाइबाट सिकिस्त भई उपचारकालागि आउनेहरुको चाप बढेको हो । अस्पतालको आकस्मिक शाखाका अनुसार सामान्यतयाः वैशाखदेखि सर्प टोकाई सम्वन्धि समस्या लिएर भर्ना हुने गरिए पनि जेठ महिनायता यो समस्या ह्वात्तै बढेको छ । दैनिकजसो आकस्मिक कक्षमा पाँचदेखि १०–१२ जनासम्म स्नेक बाइटका केस आउने गरेको अस्पतालका सिनियर अहेव विजयकान्त झाले जानकारी दिएका छन् । अस्पतालमा हाल भगवतपुर–६ का १८ वर्षिय विवेक रजक, विराटनगर–५ का ३१ वर्षिय विष्णु दाहाल, मलेठ–९ का १५ वर्षिय शैनी प्रमाणी, तरही–९ का २४ वर्षिय कारोदेवी मण्डल, नेपाल प्रहरीका ३८ वर्षिय शिवजी श्रेष्ठ, कुशहा–१० का कञ्चन देवी साहसमेत गरी सात जना उपचारका क्रममा अस्पतालमा भर्ना रहेको उनले बताए ।
हालसम्मको तथ्याङ्क अनुसार अस्पतालमा सबभन्दा बढी गोमन र करेंतको टोकाईबाट सिकिस्त भएर उपचारकालागि आउने गरेका छन् । सर्पले टोके लगत्तै अस्पताल पुर्याईएका केही वाहेक प्रायः सकुशल घर फर्किने गरेको आकस्मिक कक्षमा कार्यरत अर्का सिनियर अहेव जयकृष्ण गुरमैताले जानकारी दिएका छन् । जेठदेखि यता अस्पतालमा भर्ना भएका स्नेक बाइट केशहरु प्रायः पोइजनस नै रहेको बताउँदै उनले भने ‘स्नेक बाइट केशहरुमा आफुहरुले गम्भीरतापूर्वक उपचारमा खटिदैआएका छौं, हामी पोइजनसहरुलाई समेत ज्यान जोगाउन सफल भईरहेका छौं ।’ विगत केही महिना यताको बढ्दो गर्मीका कारण सर्पहरु बाहिर निस्किने हुनाले सर्पको टोकाई बढ्नु स्वाभाविक भएको अस्पतालका डा. रञ्जित कुमार झाले बताए ।
गर्मी समयमा सर्वसाधारण बढी सजग रहनुकासाथै बच्चाहरुलाई निगरानीमा राख्नुका साथै सरसफाईमा समेत ध्यान दिनुपर्ने बताउँदै उनले भने ‘हामी मानव जिवन जोगाउन तत्पर छौं, सर्पले टोकेको थाहा पाईसकेपछि धार्मी झाँक्रीको पछि नलागी विष फैलिन नदिन बाँधेर तत्काल अस्पताल पुर्याउन आग्रह छ ।’ अस्पतालको अवस्थामा सुधार ल्याउन आफु तत्पर रहे पनि अति आवश्यक सुविधा समेत उपलब्ध नहुँदा समस्या भईरहेको डा. झाले बताए । अत्यधिक विषका कारण स्वास–प्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटर र आइसियुको आवश्यकता पर्ने गरेको उनले दुःखेसो सुनाए । विरामीको अवस्थालाई मध्यनजर गर्दै अति सम्वेदनशील अवस्थाका विरामीहरुलाई नचाहेर पनि रेफर गर्नुपर्ने बाध्यता रहेको उनले स्वीकार गरे ।