• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भब्यताकासाथ मनाइयो विश्व दुध दिवस

बोधराज सुवेदी/राजविराज, १८ जेठ । सप्तरीको राजविराजमा एक भब्य समारोहकाबीच विहिवार सत्रौं विश्व दुध दिवस मनाइएको छ ।
जिल्ला पशुसेवा कार्यालय सप्तरीको आयोजनामा सो दिवस मनाइएको हो । ‘मध्यपान त्यागौं दुुग्धपान गरौं’ भन्ने नाराकासाथ सप्तरीका विभिन्न दुग्ध उत्पादक सहकारी संस्थाहरु, गाई तथा भैंसी पालन कृषक समुहहरु, दुध उत्पादक सहकारी संघ लगायत पशुपालक कृषकहरुको सहभागीतामा सो दिवस मनाइएको आयोजकले जनाएको छ।
हरेक वर्ष जुन महिनाको एक तारेखमा मनाइने विश्व दुध दिवस सप्तरीमा भने पहिलो चोटी मनाइएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. अशोक कुमार सिंहले बताए । राजविराज स्थित रेडक्रस भवनमा आयोजित सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले विशुद्ध दुग्ध उत्पादनलाई टेवा दिनकोलागि राज्यले विशेष ध्यान पुर्याउनु पर्ने आवश्यकता औंल्याए। राज्यको तर्फवाट प्रदान गरिने विशेष सुविधाहरु सहजै सम्बन्धित कृषकसम्म पुर्याउनकोलागि पशुसेवा कार्यालयले प्रभावकारी कदमहरु चाल्नु पर्नेमा उनले जोड दिए । राज्यको कृषि नीतिलाई प्रभावकारी रुपमा लागु गर्न सम्बन्धित सवै पक्षले पारदर्शी रुपले कृषकहरुसंग समन्वय गरेर काम गर्नु पर्ने उनको भनाई छ ।
कार्यक्रमका विशिष्ठ अतिथि स्थानिय विकास अधिकारी सुदेव पोखरेलले असिम पोषणको श्रोतको रुपमा रहेको दुधको महत्वलाई बुझेर यसको उत्पादन ब्यवसायलाई टेवा दिन सके रोजगारीकोलागि विदेश जानु पर्ने बाध्यता हटेर जाने बताए। जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. अशोक कुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष भुवन प्रसाद आचार्य, त्रियुगा सहकारी संस्था फत्तेपुरका अध्यक्ष शम्भु बहादुर खड्का, मनकामना सहकारी संस्था फत्तेपुरका अध्यक्ष अशोक चौधरी, कृषि वचत तथा ऋण सहकारी संस्था विरेन्द्रवजारका अध्यक्ष श्याम कुमार चौधरी,भैंसी पालक कृषक समुहका मिना कोइराला, त्रियुगा गाई पालन कृषक समुहका अध्यक्ष जय प्रकाश ढुङ्गाना, आदर्श वहुमुखी दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक कुशुम आचार्य,ब्यवस्थापक प्रभुनाथ कोइराला,पशुपालक कृषक भरत पौडेल लगायतले दुध दिवशको महत्व र आवश्यकतामाथी प्रकास पारे । उक्त कार्यक्रमको सञ्चालन जिल्ला पशुसेवा कार्यालयका नासु प्रमेश्वर यादवले गरे ।
यस अधि विश्व दुध दिवस सम्वन्धि विभिन्न नारा लेखिएको प्लेकार्ड तथा ब्यान बोकी नारा लगाउँदै राजविराज नगरको विभिन्न भागको परिक्रमा गरिएको थियो ।