• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

इतिहासविद दास भन्छन् ‘म मरेर गए पनि जनताले मलाई याद गर्नेछन्’

इतिहासविद दास भन्छन्  ‘म मरेर गए पनि जनताले मलाई याद गर्नेछन्’

श्यामसुन्दर यादव । इतिहास र संस्कृतिको विषयमा सशक्त रुपमा चलाउने श्रष्टा हुन् इतिहासविद् हरिकान्तलाल दास । क्याम्पस पढ्दादेखि नै खोज र अनुसन्धानमा संलग्न उनको कलम हालसम्म पनि रोकिएको छैन । उमेरले अब डाँडो काटिसकेको छ तर काम्ने हातले पनि निरन्तर इतिहास र संस्कृतिको विषयमा लेखनकार्य अहिले पनि जारी रहेको छ ।
मलेठ गाउँ विकास समितिको वडा नम्वर–६ स्थित गढीया गाउँमा १४ नोभेम्वर १९४१ मा भएको थियो । पिता स्व. जयनारायण लाल दास ‘बच्चाबाबु’ तथा अनसुया देवीको कोखबाट उनको जन्म भएको हो । पाँच दाजुभाइमध्ये माइलो हरिकान्त सानैदेखि अध्ययनशिल एवम् जेहेन्दार विद्यार्थीको रुपमा चिनिन्थे । उनले जिल्लामै रहेर माध्यमिक तहको शिक्षा उतीर्ण गरी भारतको पटना युनिभर्सिटीबाट बीए ओनर्स तथा त्रिभुवन विश्व विद्यालयबाट इतिहास विषयमा एमए उतीर्ण गरेका छन् ।
एमए अध्ययन सकाएर घर फर्केपछि उनले सदरमुकाम राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इतिहास विषय पढाउन थाले । त्यसताका नेपालमै कानूनको गुणस्तरीय पढाई हुने कलेजको रुपमा चर्चित उक्त कलेजमा कुशल शिक्षकको रुपमा चिनिन्थे । घरबाट नोट तयार गरी समयमै कक्षा कोठामा प्रवेश गर्ने र विद्यार्थीहरुलाई प्रेमपूर्वक पढाउने उनको शैलीबाट विद्यार्थीहरु खुबै प्रभावित हुन्थे । पढाउने शैलीले गर्दा नै तीन–तीन ओटा सेक्सन बनाएर विद्यार्थीहरुलाई इतिहास विषय पढाएको उनको अनुभव छ । निरन्ततर ३९ वर्षसम्म क्याम्पसमा अध्यापनको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै २००५ मा सेवाबाट अवकाश पाएका छन् ।
कलेजमा अध्यापनका क्रममा ई.सं १९७१ मा भारतको दरभङ्गाकी विद्या देवी दाससँग वैवाहिक बन्धनमा बाँधिए । उनका दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप रहेका छन् । हाल राजविराज नगरपालिका वडा नम्वर–५ मा बसोवास गर्दै आएका उनले अध्यापन बाहेकको समयमा ऐतिहासिक स्थलहरुको अध्ययन अनुसन्धान तथा लेखनमा बिताउने दिनचर्या नै बनिसकेको थियो ।
उनको पहिलो कृतिको रुपमा ‘सप्तरीको राजनीतिक इतिहास एवम् प्रमुख धार्मिक स्थलहरु’ २०५८ सालमा प्रकाशन भयो । उक्त पुस्तकमा जिल्लामा रहेका ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरुका साथै लोक जिवनसँग जोडिएका विषयवस्तुमाथि गहन अध्ययन अनुसन्धान समावेश गरिएको छ । हालको सिरहा जिल्ला तात्कालिन समयमा सप्तरीमै रहेका कारण उक्त पुस्तकमा ‘राजा सलहेश, मानिक दह, पकडिया गढसहितका ऐतिहासिक स्थलहरुको विषय उल्लेखित छन् । जिल्लाको राजनीतिक, धार्मिक एवम् सांस्कृतिक विषयमा मिहिन ढङ्गबाट अध्ययन अनुसन्धान गर्ने उनी जिल्लाकै पहिलो व्यक्ति हुन् ।
यस्तै साझा प्रकाशनबाट वहाँको २०६७ सालमा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन् । उक्त पुस्तकमा जिल्लामा रहेका ऐतिहासिक गढीहरु, पूर्ण कर्णाटकालीन तथा कर्णाटकालीन गढीहरु, राजा पुरादित्यको बनौली गढ तथा सेनकालीन गढीहरुसमेतका विषयमा विस्तृत चर्चा गरिएको छ ।
उनको अर्को कृति ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० सालमा प्रकाशित भएको थियो । यस अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा समेत वहाँको अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा समेत नेपाली र मैथिली भाषा प्रकाशन हुँदैआएको छ । यस्तै कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ ।
राजविराजको महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसमा इतिहास तथा संस्कृति विभागको प्रमुख रहेर ११ वर्ष अघि सेवाबाट अवकास पाएका छन् । सादा जिवन उच्च विचारका पक्षधर दास आफु विभेदको शिकार भएको बताउँदै उनले भने ‘पोष्ट ग्रेजुएटको अनुभव नभएको कारण देखाई प्राध्यापक हुने अवसरबाट म बञ्चित भएँ ।’
स्वास्थ्य समस्यालाई छिचोल्दै उनले दैनिक पुस्तक तथा पत्रपत्रिकाहरु अध्ययन गर्ने गर्छन् । घरमै रहेको पुस्तकालयमा पुस्तकहरु पढेर इतिहासविद् दास समय विताउँछन् । पुस्तकलाई नै धन सम्पत्ति सम्झिने सरस्वतीपुत्र दासको घरमै करिब चार हजार पुस्तक सङ्ग्रहित छन् । सयौं वर्ष पुराना पुस्तकहरु वहाँले अध्ययन अनुसन्धानका क्रममा नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट सङ्कलन गरेका छन् ।
वहाँको विषयमा रोचक प्रसङ्ग के छ भने दाजुभाइ बीच अंशफाँट हुँदा उनले आफ्ना बुवाले सङ्ग्रह गरेको पुस्तक नै सम्पत्तिको रुपमा लिए । घरपरिवारको जिम्मेवारी र छोराछोरीको शिक्षादीक्षा समेत अध्यापन पेशाबाट पाएको तलबले जेनतेन धान्ने गर्दथे । उनले जिवनमा धनसम्पत्तीलाई कहिले पनि महत्व दिएनन् । मासिक तलब उठाएर आफ्नी पत्नी विद्याको हातमा थमाएर उनी निरन्तर अध्ययन अनुसन्धानमै लागिरहे ।
महात्मा गाँधीको ‘सादा जिवन उच्च विचार’ भावनालाई आत्मसात गर्दैआएका उनले हालसम्म कुनै पनि पार्टी वा विचार बोकेनन् । त्यहि भएर आफूमा क्षमता भए पनि प्राध्यापक हुनबाट वञ्चित भएको तथा आफूले गरेको कामको मूल्याङ्न नभएको उनको ठम्याइ छ । प्रा. डा. त्रिरत्न मानन्धर, प्रा.डा. लोकराज बराल, प्रा.डा. गङ्गा उप्रेती, प्रा. अमरकान्त झा, प्रा.डा. पीताम्बरलाल यादवलगायतबाट अध्ययन अनुसन्धानका क्रममा सहयोग पाएको तथा आफू प्रा. डा. खेमराज उपाध्यायबाट प्रभावित भएको उनी बताउँछन् ।
नेपालको मधेश भूभाग उपेक्षाको सिकार रहँदैआएको तथा हालसम्म पनि अवस्थामा परिवर्तन नआएको वहाँको गुनासो छ । तात्कालीन स्व. राजा वीरेन्द्र पूर्वाञ्चल भ्रमणका क्रममा सप्तरी आउँदा राजविराज स्थित अञ्चलाधीश निवासमा मधेशको इतिहासबारे जानकारी लिने गरेको स्मरण सुनाए । मधेशको ऐतिहासिक एवम् पुरातात्विक स्थलहरुका साथै सांस्कृतिक विशेषताबारे आफूले जानकारी दिँदै गर्दा बडो रुची पूर्वक तात्कालीन वहाँले सुन्ने गरेको इतिहासविद् दास बताउँछन् । ‘मैले बोल्दै गर्दा बीचमा छोट्याउन भनेपछि राजा वीरेन्द्रले ‘लेट हिम स्पीक’ भन्नुभएको कुरा म अहिले पनि सम्झिन्छु ।
मैथिली साहित्य परिषद्को अध्यक्ष समेत रहिसकेका आजिवन आफ्नो मातृभूमीकालागि अधिकांश समय विताएका छन् । मूलतः नेपाली र मैथिली भाषामा कलम चलाउँदै आएका उनले भने ‘मलाई पुरस्कार वा सम्मानको अब लालसा पनि छैन, म मरेर गए पनि मिथिला–मधेशका जनताले मलाई याद गर्नेछन् ।’
नेपालको मधेश–मिथिला भू–भागमा दर्जनौ ऐतिहासिक स्थल तथा पुरातात्त्विक महत्वका ठाउँहरु रहे पनि सरकारले संरक्षण सम्वद्र्धनमा चासो नदेखाएको उनको गुनासो छ । मधेशमा समेत क्षमतावान लेखकहरु, समृद्ध भाषा, साहित्य, इतिहास, संस्कृति एवम् ऐतिहासिक धरोहरहरु रहे पनि हालसम्म समुचित स्थान नपाएकोमा उनी चिन्ता व्यक्त गर्छन् । ‘विगतमा जे जस्तो भयो, सबैलाई थाहै छ तर वर्तमान अवस्थामा हिमाल र पहाड मात्रै नभई मधेश पनि लेखिनुपर्छ र देखिनुपर्छ’ उनले भने ‘मधेशको ऐतिहासिक, धार्मिक एवम् पर्यटन तथा संस्कृतिमाथि राज्यले चरम विभेद गरेको छ ।’ इतिहास र संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न युवावर्ग जागरुक हुनुपर्ने समेत उनको सुझाव छ ।