• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

राजविराजमा मनाईयो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

राजविराजमा मनाईयो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

राजविराज, १० फागुन । राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले राज्यले मैथिली भाषालाई विभेद तथा मधेशवादी दलहरुले उपेक्षा गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मैथिली साहित्य परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो टिप्पणी गरेका हुन् । मल्लकालीन समयको राजकाजको भाषा मैथिली भए पनि शाहवंशीय राज्य व्यवस्थाले नेपाली भाषाको नाममा लादिएको एक भाषा एक भेषको नीतिले मैथिली भाषालाई समाप्त पार्ने षडयन्त्र भएको वक्ताहरुले बताए ।
चर्चित साहित्यकार एवम् मैथिली भाषा अभियानी धीरेन्द्र प्रेमर्षिले नेपाली राज्यसत्ताले मैथिली भाषालाई विभेद गरेको तथा मधेशवादी दलहरुले समेत उपेक्षा गरेको बताए । मैथिली भाषाको सन्दर्भमा मधेशवादी दलहरु स्पष्ट नरहेको बताउँदै उनले भने ‘राज्य त रुखमा चढाउन लगाएर रुखै काट्ने कार्य गरिरहेको भने मधेशवादी दलहरुसमेत त्यसको संरक्षण हुनुपर्छ भन्ने कुरामा प्रष्ट छैन ।’
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डलले कुनै पनि व्यक्तिकालागि स्वासप्रश्वास जस्तै मातृभाषा भएको भन्दै यसको विकासकालागि आ–आफ्नो स्थानबाट सबैले सशक्त रुपले लाग्नुपर्नेमा जोड दिए । आगामी वैशाखदेखि शुरु हुन लागेको नयाँ शैक्षिक शत्रमा जिल्ला सम्पूर्ण विद्यालयहरुमा मातृभाषा मैथिली ऐच्छिक विषयको रुपमा लागु गराउने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘सरकारले यदी मैथिलीको पाठ्यपुस्तक छापेर दिन सक्दैन भने हामी आफैं पनि छपाएर कार्यान्वयन गर्न तयार छौं ।’
मैथिली साहित्य परिषदका् पूर्व अध्यक्ष प्राध्यापक अमरकान्त झाले नेपालको शिक्षा नीति विभेदकारी रहेको भन्दै शिक्षाको माध्यमको शुरुवात नै पहिलो अर्थात मातृभाषाबाटै हुनुपर्नेमा जोड दिए । राज्यले हातीको देखाउने दाँत जस्तै चरित्र प्रस्तुत गरिरहेको बताउँदै उनले भने ‘मैथिली भाषामाथि नेपालको शिक्षा नीतिले बेईमानी गरेको छ ।’
मैथिली महासंघ नेपालका अध्यक्ष विष्णुकमार मण्डलले राज्यले नेपालीलाई राष्ट्रिय भाषा र अन्यभाषालाई राष्ट्रभाषा भनी सम्वोधन गरेर मैथिलीमाथि ठूलो अन्याय भएको बताए । परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पं. महेश्वर झा, प्रा. अशोक कुमार झा, ई. प्रयाग यादव, ई. सुरत यादव, अधिवक्ता राजेन्द्र देव, अन्तर्राष्ट्रिय मैथिली परिषद नेपालकी अध्यक्ष करुणा झा, रामकुमार यादव, मैथिल महिला परिषदकी पूर्व अध्यक्ष सुमित्रा दास, गङ्गाराम ईशरलगायतले मैथिली भाषामा पठन पाठन हुनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बटुक ब्रम्हचारी, नरेन्द्र देव, ओमकान्त पण्डित शिवम्, मैथिल महिला परिषद्की कोषाध्यक्ष पिंकी झा, विद्या झा डैजीलगायतले कविता वाचन गरे । कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष सतिश दत्त तथा सञ्चालन सचिव श्यामसुन्दर यादवले गरे ।