• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

सहीद परिवारको प्रश्न ‘नेताज्यू हामीले पेटभरि कहिले खान पाउने ?’

सहीद परिवारको प्रश्न ‘नेताज्यू हामीले पेटभरि कहिले खान पाउने ?’

श्यामसुन्दर यादव, राजविराज, १३ माघ । देशमा यतिबेला सहीद सप्ताह मनाइदैछ तर दोस्रो जनआन्दोलनका प्रमथ सहीद दशन यादवका परिवारजनको मन भने अहिले पनि कुँडिएकै छ ।
दुई धर्मपत्नीका चार छोरा छोडेर दशनले दोस्रो जनआन्दोलनका क्रममा २०६२ साल चैत्र २४ गते ५० वर्षको उमेरमा सहादत प्राप्त गरे । सदरमुकाम राजविराजमा आयोजना गरिएको मशाल जुलुश प्रदर्शनका क्रममा प्रहरीसित झडप हुँदा उनको मृत्यु भएको थियो । उनका जेठा छोरा अशोक भनिने विनोद कुमार यादव पनि २०५९ सालमा माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिए । एकै परिवारबाट बाबु र छोराले सहादत दिँदा पनि आफूहरुको त्यागको कदर नभएको दशनकी पत्नी ईनरवती देवी यादवले बताईन् ।
‘पहिला छोरो मारियो, केही वर्ष पछि वहाँ पनि वित्नु भो’ उनले भनिन् ‘किशोर अवस्थाका चार–चार छोरालाई शोकमा डुबेर पनि हुर्कायौं तर सरकारले हामीहरुको जिवनजिविकाकालागि सोचिदिएन ।’ आफ्नो पति र जवान छोराले देश र जनताकोलागि जिवन बलिदान दिएको, अहिले आएको परिवर्तनमा सहीदहरुकै सहादतको आधारले नेताहरु सत्तामा पुगेको भए पनि सहिद परिवारकै उपेक्षा हुँदा आफुहरुलाई दुःख लाग्ने गरेको अर्की धर्मपत्नी बचिया देवीले बताईन् ।
‘घरमा १३ जनाको परिवारलाई कसरी पाल्ने भन्ने समस्या छ’ उनले भनिन् ‘उमेर पुगेका चारचार ओटा छोरा बेरोजगार भई बस्नुपरेपछि केही उपाय नलाग्दा बीए पढेका चारभाइ छोराहरुमध्ये एउटाले पनि जागिर नपाएर दिपक र योगेन्द्र रोजगारीकालागि मलेसिया गएको तथा प्रमोद र सरोज घरमै निरर्थक बस्न बाध्य छन् ।’ शहीद परिवारको अवस्थाबारे कसैलाई चासो नभएको तथा नेताहरु आ–आफ्नै स्वार्थमा लागेको उनको गुनासो छ ।

आफ्नो बुवा र दाजुले दिएको सहादत पार्टी र व्यक्तिकालागि नभई देशकालागि भए पनि सहीदलाई समेत नेताहरुले पार्टीको चश्माले हेर्ने गरेको सरोजको गुनासो छ । ‘बुवा र दाइले दिएको सहादत त देशकालागि हो नि’ उनले भने ‘पार्टीमा जोडेर वहाँहरुको अवमूल्यन किन गरिएको हो ?’ नेताहरुले आफूहरुकालागि नसोचिदिए पनि देशमा देखा परेको राजनीतिक उल्झन समेत सुल्झाउन नसकेको देख्दा अझैं विरक्त लाग्ने गरेको ईनरवतीले बताईन् ।
उनले भनिन् ‘नेताहरुलाई देश र जनता भन्दा पनि आफ्नै चिन्ता रहेछ, निमुखा जनताको आवाज कसले सुन्ने ।’ ‘बनाएको संविधान पनि सहमतीका साथ कार्यान्वयन गर्न सकेनन् नेताहरुले’ उनले थपिन् ‘कर्मचारीको तलब बढ्यो, सांसदहरुले लडाई गरेरै आफ्नो भत्ता बढाए तर सहीद परिवारले पेटभरि खान पाएका छन् कि छैनन् कसले हेर्ने ?’ शुरुदेखि सहीद परिवारलाई दिईएको मासिक सात हजार रुपैयाँ अहिलेसम्म यथावत रहेका कारण बढ्दो महँगीमा नुनतेल खर्च पनि नपुग्ने गरेको उनको दुःखेसो छ । ‘सांसदहरुले त भत्ता बढाए’ उनले प्रश्न गरिन् ‘नेताज्यू हामीले पेटभरि कहिले खान पाउने ?’
दोस्रो जनआन्दोलनका सहीद दशन यादव नेकपा एमालेसँग आवद्ध थिए भने उनका छोरा तत्कालिन नेकपा माओवादीमा लागेका थिए ।