• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

मधेशका मसिहा स्व. गजेन्द्रनारायण सिंह र क्रान्ति भवनको दुर्दशा

मधेशका मसिहा स्व. गजेन्द्रनारायण सिंह र क्रान्ति भवनको दुर्दशा

–विष्णु कुमार मण्डल

–विष्णु कुमार मण्डल

जिउँदै गाँधी र नेल्सन मण्डेलाको संज्ञा पाएका मधेशका मसीहा गजेन्द्र नारायण सिंहको पार्थिव शरीर उनका कर्मस्थली राजविराज स्थित सप्तरी सेवा आश्रमभित्र एउटा समाधिमा समाधीस्थ भएपनि उनका किर्ति जीवित छन् । बाल्यकालमा राणा शासन र त्यस विरुद्धको जन आन्दोलनलाई नियालेका स्व. सिंहको मनः मस्तिष्कमा मधेशी जनताका शोषण, उत्पीडन र राजनीतिक भेदभाव भइरहेको कुरा उनमा निहित क्रान्तिकारिता र राजनीतिक जीवनलाई नियाल्दा स्वतः सिद्ध हुन जान्छ ।

सन्दर्भः गजेन्द्र पुण्य तिथि

यीनै मनोभावनालाई आत्मसात गर्दै युवावस्थाको प्रारम्भसँगै उनी नेपाली काँग्रेसको आन्दोलनमा सक्रिय हुन पुगेको कुरा उनी बारम्बार आफ्ना अनुयायीहरु माझ व्यक्त गर्ने गर्थे । तर, कालान्तरमा काँग्रेसभित्र पनि मधेशीप्रति भेदभावको दृष्टिकोण रहेको छ, भन्ने उनको निक्र्यौल हुन पुग्यो । जसको फलस्वरुप उनले केही समयको पर्खाइ पश्चात मधेश र मधेशीको कल्याणार्थ एउटा सबल राजनीतिक संगठन बनाएरै छाडे । जसको सांगठनिक भुगोल मेचीदेखि महाकालीसम्म फैलिन पुगे । त्यसैका फलस्वरुप त्यही भुगोलका जनताले उनका कर्मशीलता, निःस्वार्थता र सद्चरित्रलाई हृदयंगम गरी उनलाई गाँधी र मण्डेलाको संज्ञा दिएका थिए । र सोही संघर्षका कारण उनको पार्थिव शरीर अग्निभूत भए पनि उनका नाम अमर छन् र सदैव अमर रहने छन् ।

जुँगाको रेखी आएदेखि नै संघर्ष र राजनीतितर्फ मोडिएका गजेन्द्र नारायण सिंह नेपाली राष्ट्रिय काँग्रेसको स्थापना सँगै २००४ सालमा उक्त पार्टी संगठनका सदस्यता प्राप्त गरेका थिए । सो पार्टीको सक्रियतामा आयोजना हुने विभिन्न क्रान्तिमा एउटा सशक्त यूवा नेताका रुपमा परिचित हुनुहुन्थ्यो वहाँ । यिनै प्रतिबद्धता र सक्रियताका कारण पार्टीले वहाँलाई प्रमुख जिम्मेवारी दिने गरेका थिए । सो अवधिमा कैयौ पटक जेल जीवन बिताउनु परेको थियो वहाँलाई । 

यसै क्रममा राजा महेन्द्रको शासनकालमा उनी सहित विभिन्न शीर्षस्थ नेताहरुमाथि वारेन्ट जारी गरिएको थियो । यसरी यूवावस्थामै सन् १९६० देखि १९७७ सम्म भारतमा निर्वासित जीवन बिताउनु परेको थियो वहाँलाई । सो अवधिमा कहिले दरभंगा, कहिले पटना र कहिले दिल्ली आदि ठाउँमा बस्दा उनले कठोर अभावग्रस्त जीवनयापन गर्नु भएको थियो ।
सन् १९७७ तिर दरभंगामा उनीसित मेरो पहिलो सम्पर्क हुँदा उनी शाहगंज, बेता चौकको एउटा खपडैल घरमा बसोबास गर्नुहुन्थ्यो । एउटै कोठा, सानो खाट र टेबुल तथा जत्र तत्र पत्रिका र पुस्तक छरिएको, त्यस कोठाको दृश्य अहिले पनि मेरो मानस पटलमा विद्यमान छ । त्यसताका बेता चौकको एउटा पत्रिका पसल र लौण्ड्रीको बील चार महिनादेखि तिर्न नसकेको अवस्थाले उनको अभावग्रस्त जीवनलाई स्वतः प्रतिविम्बित गर्दछ । तापनि उनले आफ्ना मित्र र साहु महाजनको सहयोगमा जेनतेन आर्थिक अभावलाई टार्दै बडो संघर्षपूर्ण जीवन बिताउनु परेको थियो प्रवासकालमा ।
करिब १७ वर्षको प्रवासकाल पश्चात वहाँ आफ्नो जन्मथलो सप्तरी आउनुभयो । जनमत संग्रहताका २०३५–३६ सालमा उनले राजविराज–४ मा १२ कट्ठा जग्गा खरिद गरी त्यसमा सप्तरी सेवा आश्रम निर्माण गर्नुभयो । सोही ठाउँमा उनले बहुदल पक्षधरहरुलाई संगठित गर्ने कार्य प्रारम्भ गर्नु भएको थियो । त्यस ताका नेपाली कांग्रेसका नेता वखान सिंह गुरुङ, रामजनम तिवारी, रामराजा प्रसाद सिंह, केदार प्रसाद सिंह, सत्य नारायण दास, गुणानन्द चौधरी, गंगाधर झा जस्ता नेता तथा कार्यकर्ता उनका साथ थिए । तर, दुर्भाग्यवस वा षडयन्त्रवस बहुदलिय व्यवस्थाको पराजय भयो, र नेपाली काँग्रेस समेत फुटको संघारमा पुग्यो ।
आफ्ना माउ संगठन काँग्रेसभित्र मधेशी जनता र कार्यकर्ताको अवहेलना र भेदभावको अवस्था श्रृजना भएको वहाँले महशुस गर्नुभयो । जुन विषय गजेन्द्रनारायण सिंहको मनः मस्तिष्कमा जरो गाडेको थियो । फलस्वरुप उनले २०३७ सालमा ने.कां. परित्याग गरी छुट्टै संगठन निर्माणको कार्यमा तल्लिन हुनुभयो ।
तत्पश्चात उनले आफूसँग रहेका पुराना नेता र नयाँ कार्यकर्तासहितको समूह बनाई नेपाल सद्भावना परिषद् रुपी गैर राजनीतिक भनिए पनि राजनीतिक संस्थाको स्थापना गर्नुभयो । परिषद्मा महोत्तरीका रामचन्द्र झा, सिरहाका केदार प्रसाद यादव, सुनसरीका श्यामलाल मिश्रा, सप्तरीका सत्यनारायण दास, गंगाधर झा, अनिस अन्सारी, शैलेश चौधरी लगायतका पुराना र नयाँ कार्यकर्ताहरु सम्मिलित थिए । यस परिषदका माध्यमले वहाँ मधेशी पहिचान, समावेशीता, भाषा–संस्कृति सहित अन्य सम सामयिक विषय र माँगहरुका सम्बन्धमा राज्य र सरकारको ध्यानाकर्षण गराई दवाव दिने आन्दोलनका स–साना कार्यक्रमहरु सञ्चालन गर्दैआउनु भएको थियो । यिनै परिषदरुपी अस्त्रलाई राजनीतिक अस्त्र बनाई वहाँ २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहनुभयो ।
समयको अन्तरालसँगै देशमा पञ्चायती शासन व्यवस्थाको अन्त भई प्रजातान्त्रिक व्यवस्थाको प्रादुर्भाव भयो । सोही क्रममा वहाँले सद्भावना परिषद्को नेता, कार्यकर्तासहित अन्य नयाँ व्यक्तित्वहरुको संगठनको माध्यमबाट २०४७ सालमा नेपाल सद्भावना पार्टी नामक राजनीतिक दलको संस्थापन गर्नुभयो । परिषद् रहँदा गरिएको गृहकार्य र छोटो समयमा गजेन्द्रनारायण सिंहको ख्याति, व्यक्तित्व र संघर्षकै बलमा नेपाल सद्भावना पार्टी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलियो । उक्त पार्टीमा थारु, सतार, राजवंशी, मुस्लिम, ब्राम्हण, राजपुत, कायस्थ, यादव, मण्डल, सुँडी, पासमान, चमार सहित मधेशका विभिन्न जात जाति तथा पहाडका आदिवासी र दलित समाहित रहेका थिए ।
आजीवन सो पार्टीका राष्ट्रिय अध्यक्ष रहनु भएका सिंहमा रहेको सांगठनिक कौशलता, क्षमता र उनको सरल, सौम्य र नैतिकतायुक्त व्यक्तित्वकै कारण नेपाल सद्भावना पार्टीतर्फ जनआकर्षण बढेको थियो त्यतिबेला । नेपाल विद्यार्थी मञ्च, युवा मञ्च, महिला मञ्चसहित विभिन्न भातृ संगठन समेत अत्यन्त सक्रिय र सबल रहेका कारण स्व. सिंह बाँचुञ्जेलसम्म नेपाल सद्भावना पार्टी एउटा शक्तिशाली पार्टीका रुपमा गनिन्थ्यो ।
मधेश र मधेशीको पहिचान, समावेशीता, आरक्षण, आदि माँग सहित मधेशीलाई ‘सौ मे पचास’ नारा धन्काउने पहिलो नेता गजेन्द्र नारायण सिंह नै हुनुहुन्छ । यतिमात्र नभई शक्ति पृथकिकरणको सिद्धान्त अनुरुप देशमा संघीय शासन लागु हुनुपर्ने माग गर्दै सर्वप्रथम संघीयताका विषय उठान गर्ने प्रथम नेता पनि वहाँ नै हुनुहुन्छ । केन्द्रीकृत शासन प्रणालीमा जतिसुकै गर्दा पनि भेदभाव कायम रहने आंकलन गरी उनले संघीय राज्य प्रणालीले यस्ता भेदभाव स्वतः हट्नुका साथै विकासीय गतिविधिमा समेत ठूलो योगदान हुने विश्वास उहाँको रहेको थियो ।
संघीयता नै वास्तविक लोकतन्त्र हुने व्याख्या गर्दै वहाँले संघीयताकै माध्यमबाट आफ्ना गाउँ, ठाउँका विकास र नेतृत्व दुवैमा आम जनताले समान अधिकार पाउने कुरा बताउनु हुन्थ्यो । तसर्थ नेपालमा संघीयताका सोच सार्वजनिक गर्ने नेता गजेन्द्र नारायण सिंह नै हो, भन्नुमा अतिशयोक्ति नहोला ।
गजेन्द्र नारायण सिंह पाँच पटक क्याविनेट मन्त्री भए । आपूर्ति, उद्योग वाणिज्य, स्थानीय विकास आदिमहत्वपूर्ण मन्त्रालयहरुका कार्यभार कुशलताका साथ सम्हाल्नुभएका सिंहको कार्यकालमा विभेदमा परेका हज्जारौं मधेशीले जागिर पाए । सरकारी जागिरका अतिरित्तः संस्थान, बोर्ड, आयोग र विभिन्न समितिहरुमा मधेशीको उपस्थिति नरहेको अवस्थामा वहाँले सैकडौ मधेशीलाई उक्त निकायहरुमा समाहित गर्नुभयो । हुन त मधेशी युवा र विद्यार्थीहरुलाई डाक्टर, इन्जिनियर, कृषिविज्ञ आदिको अध्ययन अध्यापनको व्यवस्था मिलाई मधेशीकालागि रोजगारी श्रृजनामा उहाँको ठूलो योगदान रहेको सत्य नकार्न मिल्दैन ।
प्रवासकालमा रहँदा पनि उनले कैयौं युवाहरुलाई भारत सरकार र भारतीय दुतावास मार्फत डाक्टर, इन्जिनियर बनाउनु भएको थियो । मन्त्री भए पश्चात त अझ वहाँको दायरा बढ्नुका साथै सरकारी जागीरमा मधेशीलाई प्रतिस्थापित गराई मधेशको विकास र मधेशीका लागि रोजगारी श्रृजना गर्ने काममा ठूलो योगदान रहेको देखियो ।
यसरी आम मधेशीलाई रोजगार मुक्त बनाई अधिकार सम्पन्न गराउने कार्यमा अतिरिक्त मधेशमिा नेतृत्व विकास गर्ने महत्वपूर्ण योगदान उहाँले गर्नुभयो । त्यसताका मेचीदेखि महाकालीसम्मका सयकडो युवामा नेतृत्व क्षमताको विकास गराई वहाँले तिनीहरुलाई स्थानीय निकाय र संसदसम्म सहभागी गराउने अवसर प्रदान गर्नुभयो । वहाँकै सानिध्यमा रही सो अवधिमा नेतृत्व र ख्याति प्राप्त गर्नुभएका राजेन्द्र महतो, अनिल झा, हृदयेश त्रिपाठी, मृगेन्द्र सिंह यादव, अनिस अन्सारी, शैलेश चौधरी लगायतका नेता पछि स्वयं नेतृत्व गर्न सक्षम भएको विषय कसैसँग लुकेको छैन ।
नेता गजेन्द्रनारायण सिंहको अवसान पछि सद्भावना पार्टी विखण्डित भए पनि स्व. सिंहका ती अनुयायीहरु मधेशका नेतृत्वका रुपमा नेपालको राजनीतिक क्षितिजमा उदियमान रहेको देखिन्छ । यसप्रकार मधेशको विकासका साथै मधेशीको नेतृत्व क्षमताको विकासमा समेत स्व. सिंहले ठूलो गुण लगाउनुभएको छ । जस कारण अहिले पनि वहाँ अमर हुनुहुन्छ ।
स्व. सिंहको सात दशक लामो जीवनलाई नियालेर हेर्दा वहाँको जीवन संघर्षमै बितेको देखिन्छ । तर, वहाँ कतै विचलित भएको देखिएन । संघर्ष, पीडा, यातना र आर्थिक अभावसँग जुझिरहनु भयो । दरभंगा, पटना र दिल्ली प्रवासका कठिनतम् संकटमा पनि वहाँ हाँस्दै एक न एक दिन आफ्नो संघर्ष पुरा हुनेमा आशावादी मात्र हैन, पूर्ण विश्वस्त देखिनुहुन्थ्यो । म स्वयं सहभागी सन् १९८० मा भएको नेपाल विद्यार्थी परिषद, बिहार युनिटको दरभंगामा आयोजित महासभामा थिए । जहाँ वहाँ हजारको संख्यामा उपस्थित छात्र–छात्रालाई सम्बोधन गर्दै भन्नुभएको थियो –‘हर जोर जुल्म के टक्कर मे, संघर्ष हमारा नारा है’ प्रिय छात्रों एवं मधेशका कर्णधार ! मै अपना जीवन मधेश और मधेशीयों के कल्याणमे समर्पित करनेका प्रण लिया हुँ । आप अपने भविष्य के लिए इस संघर्ष रुपी महायज्ञ मे शामिल हो । डर और भय कदापि नही, पर प्राण रक्षा करते हुए सब युवाओं संगठित हो मधेश की धरतीको त्राण दिलाने हेतु अपने अपने जगह से संघर्ष मे कुद जाएँ । यी मलाई स्मरण रहेका केही शब्द मात्र हुन् । यतिकैमा सम्पूर्ण युवा शक्तिले वीर गजेन्द्र–जिन्दावाद नारा लगाउँदै ‘हम सब आपके साथ है, और रहेंगे’ भनेर नारा मिश्रित प्रतिउत्तर दिएका थिए ।
हुन त, गजेन्द्रनारायण सिंहसँग सहचर्यताका धेरै संस्मरणहरु मेरो मानस पटलमा अहिले पनि झल्झल्ती आइरहेको छ । जुन सम्पूर्ण समाहित गर्न कठिन छ । साथै लेखनी लामो हुन लागेकोले मैले देखेका एक दारुण दृश्य पाठक सहित उहाँका अनुयायीहरु समक्ष राख्न चाहन्छुः
सम्भवतः १९८२–८३ को घटना हो, यो । नेता सिंहलाई हथकडी र नेल दुवै लगाएर काठमाडौं हुँदै जलेश्वर जेल ल्याएको सूचना बिहार स्थित मधेशी छात्र संगठनलाई प्राप्त भएको थियो । यस सूचनाका साथै एउटा अत्यन्त मर्मस्पर्शी र दुःखद संदेश समेत । त्यो के भने वहाँकी ममतामयी माता स्वर्गवास हुँदा पनि सरकारले दागवती दिने अधिकार समेत हनन् गरेको रहेछ । मसहित करिब सय जना छात्र भिठामोड हुँदै जेल पुग्यौं । उहाँसँग भेट्ने अनुरोध गरे जेलरसँग । सहजै भेट्न नदिई हप्काए पनि । जिल्ला प्रशासनबाट आदेश ल्याउ भने । अन्तमा हामी सि.डी.ओ.कहाँ होमियौं । धेरै बहस पश्चात ५ मिनेटकालागि भेट्ने आदेश दियो । भेटन जाँदा हात खुट्टा दुबैमा कडीरुपी सरकारी गहनाले बेरिएका बीर गजेन्द्रको दाह्री देख्दा हामी अचम्भित भयौं, भाव विह्वल भयौं ।
सोही क्रममा मैले उहाँका आँखामा आँसुले भरिएको दृश्य देखेँ । जुन आँसु उहाँसँगको लामो सहचर्यतामा कहिले देख्न पाईएन् । मातृत्व स्नेह र शारीरिक पीडाले मर्माहत हुनुहुन्थ्यो वहाँ । तर पनि युवा समूहले ‘वीर गजेन्द्र मत धवराना, तेरे साथ हम और हमारा सपना’ भने नारा लगाए । अत्यन्त भावुक र आक्रोशित दृश्य थियो त्यो । पछि प्रशासनले धर–पकड गरी हामीलाई रात भरि थुनामा राखियो ।
प्रजातन्त्रको सुनौलो बिहानीसँगै नेता गजेन्द्रका ती दुःख र कष्टहरु त हरण भए । तर, संघर्ष उनको जीवनको पर्यायवाची नै बनी रह्यो । अहिले ३÷४ महिनाका लागि भए पनि मन्त्री पदमा रहेका जनप्रतिनिधिहरुले कति नीजि सम्पति जोड्छन्, र तिनका जीवन शैलीमा कसरी परिवर्तन भइरहेको छ ? यावत विषयवस्तु प्रमाणसहित जनसमक्ष सार्वजनिक रहेकोले वर्णन गर्नु उचित ठान्दिन । तर वहाँ पाँच–पाँच पटक कयाविनेट मन्त्री हुनुभयो, त्यो पनि महत्वपूर्ण मन्त्रालयको । वहाँले ती सुखद दिनमा चिल्ला गाडी अवश्य चढ्नुभयो, अनुहारमा चमक पनि देखियो । तर ती स्वाभाविक रुपले मन्त्रीका रुपमा उब्जिएको चमक मात्र थियो । भित्रबाट वहाँ संघर्षरत नै हुनुहुन्थ्यो । वहाँभित्र संघर्ष खस अहंकारवादी शासक र मधेशी अधिकारका बाधक तत्वका विरुद्ध थियो । यसरी वहाँले यति लामो मन्त्रीत्वकालमा नीजि रुपमा के आर्जन गर्नुभयो ? भन्ने प्रश्नको जवाफ आम मधेशीले तब पाए, जब वहाँको देहावसान भयो । न त कुनै बैंकको खातामा पैसा र न त सुन, चाँदी र जवाहरात । न ठूला अट्टालिका । जीवनभरको कमाईका रुपमा वहाँले सप्तरी सेवा आश्रम र सोभित्र पहिले खर र पछि टीनको छानो भएको दुई कोठे घरसहित सानो पुस्तकालय र भान्साघर । जुन जीर्ण र अतिक्रमित अवस्थामा रहे पनि अद्यावधि विद्यमान छ । सँगै एउटा राष्ट्रिय व्यक्तित्वका रुपमा वहाँको पार्थिव शरीर अग्निभूत भएको ठाउँमा राज्यद्वारा निर्मित समाधिस्थल ।
सारांशमा युवावस्थादेखि बृद्धावस्थासम्म मधेशका मसीहा गजेन्द्रनारायण सिंहले ‘सप्तरी सेवा आश्रम’ रुपी सम्पति मात्र जोड्नु भयो । जुन वहाँको जीवनका सम्पूर्ण संघर्ष र वलिदानलाई कार्यान्वयन गर्ने थलोको रुपमा परिचय पायो । सौभाग्यवश वहाँको अन्तिम संस्कार पनि सोही परिसर भित्र हुन गयो । तर, वहाँले स्वस्फूर्त रुपमा चिताएको अन्मितम इच्छा पुरा हुन सकेन । सन्तान बिहिन नेता सिंहले सम्पूर्ण मधेशी युवालाई आफ्ना सन्तान मान्दैआउनु भयो । जुन कुरा वहाँले बेला–बेला आफ्ना मन्तव्यमा समेत भनिरहनुहुन्थ्यो । सन्तानको भविष्य र सम्पूर्ण मधेशको कल्याणार्थ जीवनको उत्तराद्र्धमा वहाँले ‘सप्तरी सेवा आश्रम’लाई गजेन्द्र नारायण सिंह जनकल्याण ट्रष्टका रुपमा परिणत गरी आफ्ना जीवन अमर बनाउने सोच बनाउनुभयो ।
जसअनुरुप वहाँले २०५८ साल कार्तिकमा सप्तरी सेवा आश्रमकार सम्पूर्ण जग्गा सोही ट्रष्टका नाममा दर्ता हुने गरी कानूनी प्रावधानकालागि सम्पूर्ण कागजात दुरुस्त गराउनुभयो । उहाँद्वारा हस्ताक्षरित निवेदनसहितका फाइल मालपोत कार्यालयमा दर्ता भयो । प्रक्रियाकै क्रममा उक्त फाइल केन्द्र र सम्बन्धित मन्त्रालयबाट अनुमोदनकालागि पठाइयो । उहाँ स्वयम् आफ्ना राजनीतिक कार्यका साथै उक्त फाइल कार्यान्वयनकालागि २०५८ पुसको अंतिम साता राजविराजबाट काठमाण्डौं पुग्नुभयो । तर, दुर्भाग्यवश माघ १० गते काठमाण्डौंमैं उहाँको देहावशान भयो । स्वर्गारोहण पश्चात विशेष हेलिकोप्टरबाट उनको पार्थिव शरीर राजविराज अवतरित हुँदा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न हज्जारौं विह्वल जनमानस, कार्यकर्ता र शुभचिन्तकसहित सहभागी रहेका शवयात्रा नगर परिक्रमा गरी मधेशका मसीहाद्वारा आफ्ना जीवनकालमा निर्मित ‘सप्तरी सेवा आश्रम’ भित्रै राज्यद्वारा गारद, सम्मान र सलामी पश्चात अन्त्येष्ठि गरियो । यसरी आफ्नै जीवनकालमा सम्पूर्ण मधेश हाँक्ने केन्द्र बन्न पुगेको सप्तरी सेवा आश्रमको माटोमा स्व. सिंहको शरीर विलिन हुन गयो । तर, दुर्भाग्यवश अहिले सप्तरी सेवा आश्रम र गजेन्द्र नारायण सिंह जन कल्याण ट्रष्ट समेत अतिक्रमणको चपेटामा परेको छ ।

क्रान्तिको सम्भावनामा नेता सिंहद्वारा निर्मित ऐतिहासिक ‘क्रान्ति भवन’ भत्काई एउटा नीजि विद्यालयलाई भाडा दिइएको छ, भने सरकारद्वारा निर्मित र सबैका साझा रहेका गजेन्द्र समाधिसम्म पुग्ने बाटो अवरुद्ध गरी नयाँ घर निर्माण हुन थालेको छ । त्यस्तै नेता सिंह बस्ने ऐतिहासिक घर र पुरातात्विक महत्वका उनका नीजि सामानहरु कता गयो ? कसले लग्यो ? थाहा छैन । अत्यन्त द्रुत गतिमा भइरहेको अतिक्रमणका कारण कुन बेला समाधि समेत भत्किने हो ? ठेगान छैन । तसर्थ मधेशका मसिहा सिंहको अमरत्व कायम गराई राख्न उहाँका जीवन भरिको कमाईका रुपमा रहेको सप्तरी सेवा आश्रम र सो मा गजेन्द्र नारायण सिंह जन कल्याण ट्रष्टको कार्य सञ्चालन गराउन सम्पूर्ण मधेशी र उनका शुभचिन्तकहरुको दायित्व बन्न पुगेको छ । यस पुनित कार्यमा आ–आफ्ना दायित्व निर्वाह गर्न स्थानीय प्रशासन, मधेशी दल, बुद्धिजिवी, पत्रकार तथा आम मधेशीसँग विनम्र अनुरोध छ ।
अन्तमा, छात्र जीवनदेखिनै मधेशका मसिहा गजेन्द्र नारायण सिंहको सहचर्यता र स्नेह प्राप्त भई वहाँको अवसानसम्म सदैव साथ रहँदा हासिल गरेका ज्ञान, अनुभव र अनुभूतिलाई जीवनभर प्रसार गर्ने प्रतिवद्धतासहित १५औं पुण्यतिथिका अवसरमा प्राप्त स्मरणीय नेता सिंहप्रति यही शब्दरुपी भावभिनी श्रद्धासुमन अर्पण गर्दै उहाँको अमरत्व सदैव कायम रहोस् भन्ने सदिच्छा व्यक्त गर्दछु । वीर गजेन्द्र अमर रहे । (लेखक मण्डल नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व सभापति एवम् अधिवक्ता हुनुहुन्छ ।)