• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रेस मञ्चको प्रथम केन्द्रीय महाधिवेशन मङ्गलवारदेखि वीरगञ्जमा शुरु

प्रेस मञ्चको प्रथम केन्द्रीय महाधिवेशन मङ्गलवारदेखि वीरगञ्जमा शुरु

वीरगञ्ज, २६ पुस । सद्भावना पार्टी निकट प्रेस मञ्च नेपालको प्रथम केन्द्रीय महाधिवेशन मङ्गलवारदेखि वीरगञ्जमा शुरु भएको छ ।
मञ्चका केन्द्रीय अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा शुरु उद्घाटन समारोहलाई कार्यक्रमका प्रमुख अतिथी एवं पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी महतोले हिमाल, पहाड र तराईमा बिभेदमा परेका जनताहरुको आवाजलाई उठाउन पत्रकारहरुलाई आग्रह गरे । महतोले मधेस र मधेसी जनताहरुको समस्या र हक अधिकार सुनिश्चित गराउन सम्पुर्ण पत्रकारहरु एकजुट भई कलम चलाउनुपर्नेमा जोड दिए ।
बिशेष गरी खस शाषकहरुको बिभेद र षडयन्त्रकारी शासन र अत्याचार विरुद्ध कलम चलाई उनीहरुको भण्डाफोर गर्न आग्रह गरे । देश विकासमा पत्रकारहरुको भूमिका महत्वपुर्ण भएकोले स्वतन्त्र, निर्भिक र ईमान्दारीपुर्वक कलम चलाउन महतोले पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथी पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण, अतिथीहरु बरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, महासचिव मनिष सुमन, सह–महासचिव सुरेन्द्र कुर्मी, अजय गुप्ता, अर्जुन उप्रेती , केन्द्रीय सदस्य योगेन्द्र यादव, भुपेन्द्र महतो, निजामुदिन समानी, उद्योगपति अशोक बैद्य, नागरिक अगुवा डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, हिन्दु परिषदका केन्द्रीय अध्यक्ष पंडित पुरुषोत्तम दुवे लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उद्घाटन सत्रमा मंचको केन्द्रिय कार्य समितीले पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई १०१ किलोको फुलमालाले भव्य स्वागत गरेको थियो । वीरगञ्ज स्थित गोपाल मण्डलीमा दुई दिनसम्म चल्ने महाधिवेशनमा मधेसका २२ जिल्लाका करिब पत्रकारहरुको उपस्थिती रहेको मञ्चका केन्द्रीय अध्यक्ष संतोष पटेलले जानकारी दिएका छन् ।
महाधिवेशनमा प्रेच मञ्च नेपालका संस्थापक अध्यक्ष बिरेन्द्र केएम, उपाध्यक्ष राजकुमार यादव, महासचिव निमेश कर्ण, सह–महासचिव आशिष गुप्ता, भोजपुरी गायक सुनिल पंडित र जितेन्द्र मुस्कानलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा मञ्चका केन्द्रीय महासचिव विश्वनाथ ठाकुरले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रमको सहजीकरण मञ्चका केन्द्रीय सदस्य राधा मण्डलले गरिन् ।