• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

आइतवारदेखि राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता

आइतवारदेखि राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता

राजविराज, ७ पुष । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सप्तरीको राजविराजमा भारोत्तोलन प्रतियोगिता आगामी पुस १० गतेदेखि सञ्चालन हुने भएको छ ।
विहिवार भारत्तोलन संघ सप्तरी तथा जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएका हुन् । भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादवले पुष १० गतेदेखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भई सकेको जानकारी दिएका छन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले गर्ने जनाईएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको भारत्तोलन खेल आयोजना अवसर पाउँदा संस्कृति, संस्कार र सभ्यताले चिनाउने गरी प्रतियोगिता भब्य पार्न यस क्षेत्रका सम्पुर्ण पक्षलाई सहयोग गर्न उनले आग्रह गरेका छन् । राष्ट्रिय प्रतियोगिता अन्तर्गत भारत्तोलन प्रतियोगिता स्थल, खेलाडि, ब्यवस्थापनका निर्णायक लगायतको खाना, होटल, लज, मेडिकल लगायत आवश्यक सवै प्रवन्ध मिलाई सकेको जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले जानकारी दिएका छन् ।
भारत्तोलन संघका केन्द्रीय सदस्य एवं प्रशिक्षक दिनेश भुजेलका अनुसार महिलातर्फ ७ तथा पुरुषतर्फ ८ तौल समुहमा प्रतिस्पर्धा हुने प्रतियोगितामा ५ विकास क्षेत्र र सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १ सय २३ खेलाडि र प्रशिक्षक निर्णायक ब्यवस्थापक गरी २ सय ४० जनाको सहभागिता रहनेछ । उक्त अवसरमा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र वर्मा, भारत्तोलन संघका सल्लाहकार गोपाल गुप्तालगायको उपस्थिति रहेको थियो ।